अमेरिकी अन्तरिक्ष अनुसन्धान संस्था (नासा) ले सूर्यको सतहको अध्ययनका लागि आइतबार एक अर्ब ५० करोड अमेरिकी डलरको महत्वाकांक्षी एवं ऐतिहासिक अभियान सफल बनाउन अन्तरिक्ष रकेट प्रक्षेपण गरेको छ । यो अभियानले सौर्य आँधीको रहस्य पत्ता लगाउने अपेक्षा वैज्ञानिकहरूले गरेका छन् ।
‘तीन, दुई, एक, ब्लास्टअफ’ फ्लोरिडास्थित केप कानाभरालबाट डेल्टा–४ रकेट प्रक्षेपणका क्रममा विवरण सार्वजनिक गर्नासाथ हालसम्मकै तीव्र गतिको रकेट स्थानीय समयअनुसार बिहान ३ः३१ बजे अँध्यारो आकाशतर्फ उडेको थियो । यस अनुसन्धान मिसनको नाम ‘पार्कर सोलार प्रोब’ राखिएको छ ।
यो मानवरहित अन्तरिक्ष यान इतिहासमै पहिलोपटक मानवनिर्मित वस्तु सौर्य प्रणालीको सबैभन्दा नजिक पुग्नेछ । सात वर्षको यस मिसनअन्तर्गत पार्कर सोलार प्रोब सौर्य वायुमण्डल (कोरोना) मा प्रवेश गर्ने गरी डिजाइन गरिएको छ ।
यसलाई अतिशत–शक्तिशाली ताप प्रतिरोधकले सुरक्षित गरिएको छ । नासाका वैज्ञानिकहरूका अनुसार यो अन्तरिक्ष यान सूर्यको सतहबाट ३८ लाख माइलभित्रको क्षेत्रमा प्रवेश गर्नेछ जसलाई कोरोना भनिएको छ । यो क्षेत्र सूर्यको सतहभन्दा तीन सय गुणा बढी तातो हुने ठानिएको छ ।
प्रतिक्रिया