गोजुकाई करातेका सात खेलाडीलाई तेस्रो डान

गोजुकाई करातेका सात खेलाडीलाई तेस्रो डान


नेपाल गोजुकाई कराते डो संघसँग आबद्ध सात खेलाडी तथा प्रशिक्षक तेस्रो डान (सान डान) बाट दीक्षित भएका छन् । यस्तै, ७ जना दोस्रो डान (नि डान) र १७ जना पहिलो डान (सो डान) बाट दीक्षित भएका छन् ।

प्रमुख अतिथि राष्ट्रिय खेलकुद परिषद्का सदस्यसचिव केशवकुमार विष्टले बेल्ट ग्रेड परीक्षामा सफलता हात पार्ने खेलाडी तथा प्रशिक्षकलाई गोजुकाईको जापान हेडक्वार्टरबाट प्राप्त प्रमाणपत्र प्रदान गरेका थिए । तेस्रो डान प्राप्त गर्ने खेलाडी तथा प्रशिक्षकहरूमा अच्युत उप्रेती, प्रेम थापा, दिनेश परियार, विमलप्रसाद थपलिया, चन्द्र खत्री, शान्ति लामा र जयप्रकाश राई रहेका छन् ।

यस्तै, दोस्रो डान (नि डान) बेल्ट टेस्ट हात पार्न सफल सात परीक्षार्थी तिलक गुरुङ, जितबहादुर पुलामी, सिर्जना दाहाल, पेम्बा शेर्पा, कैलाश राई, बालकुमारी थामी र सञ्जय तामाङ तथा बेल्ट परीक्षाबाट प्रथम डान (सो डान) हात पार्ने १७ परीक्षार्थी मनोज बुढाथोकी, थुप्तेन जिमी लामा, संगीता तामाङ, प्रतीक्षा थापामगर, वृन्दा राई, सुवास तामाङ, विवेक थापा, भावना शाही, निशान्त रिजाल, अनिष श्रेष्ठ, बाबुलाल श्रेष्ठ, सुप्रिया कुँवर, रजिता केसी, प्रविन राना पियाली, अर्मन शाह, विशाल श्रेष्ठ र अर्नभ श्रेष्ठ रहेका छन् ।

बेल्ट टेस्ट परीक्षामा सफलता हात पार्ने सबैलाई प्रमुख अतिथि राखेपका सदस्यसचिव विष्टले प्रमाणपत्र तथा नेपाल ओलम्पिक कमिटीका उपाध्यक्ष पुरेन्द्रविक्रम लाखेले बेल्ट प्रदान गरेका थिए । कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख अतिथि विष्टले जित र हारलाई आत्मसात् गर्ने क्षमता खेलकुद मात्र रहेको भन्दै ठूलाभन्दा ठूला विकसित राष्ट्रलाई पराजित गर्दै राष्ट्रको झन्डा विश्वसामु फहराउन सक्ने खेलकुद क्षेत्र मात्र रहेको बताए । उनले अबका दिनमा खेलकुद क्षेत्रमा लागेका व्यक्तिहरूको भविष्य उज्ज्वल हुने बताए ।

उपाध्यक्ष लाखेले ग्रेडिङ परीक्षा उत्तीर्ण खेलाडी तथा प्रशिक्षकलाई कराते खेलको विकास र विस्तारमा लाग्न सुझाब दिए । राष्ट्रिय खेलको रूपमा करातेलाई राख्न आफूले पहल गरे तापनि सफल हुन नसकेको उनले बताए । बेल्ट ग्रेट परीक्षा नेपाल गोजुकाई कराते डो संघका महासचिव एवम् प्रमुख प्रशिक्षक इन्द्रकुमार खड्गीले सञ्चालन गरेका थिए ।