रहेनन् लोकप्रिय रेडियोकर्मी दाहाल यज्ञनिधि

रहेनन् लोकप्रिय रेडियोकर्मी दाहाल यज्ञनिधि


साहित्यकार एवम् लोकप्रिय रेडियोकर्मी दाहाल यज्ञनिधिको देहावसान भएको छ । मिर्गौला प्रत्यारोपणपछि दुई दशकयता नियमित डायलोसिस गर्दै आएका दाहालको मस्तिष्काघातका कारण शुक्रबार साँझ ललितपुरको सुमेरु अस्पतालमा निधन भएको हो ।

खोटाङको धारापानीमा २०१० साल साउन ८ गते जन्मेका दाहाल २०३० सालमा साहित्य फाँटमा लागेका थिए । २०३४ सालमा रेडियो नेपालमा कार्यक्रम सञ्चालक बनेका स्वर्गीय यज्ञनिधिको २०५७ फागुन १० मा मिर्गौला प्रत्यारोपणका कारण साहित्यिक कार्यक्रमको यात्रामा अल्पविराम लागेको थियो ।

पञ्चायतकालदेखि रेडियो नेपालमा ‘साहित्य संसार’ कार्यक्रम सञ्चालक भएर, लोक जनजीवनका साहित्य, संस्कार, स्वर र शैलीलाई टिप्दै ‘जदौै स्रोता, जदौ, खुल्यो साहित्य संसारको दैलो’ भन्दै अत्यन्त मिठासपूर्ण आवाजमा प्रस्तुत हुने यज्ञनिधिलाई गाउँ गाउँका बूढापाकाले समेत सम्झन्थे ।

दरबारमार्गस्थित भानु माविमा लामो समय शिक्षण समेत गरेका दाहाल यज्ञनिधिको बोलीमा मिठास अनि भाषामा लयात्मकता र झर्रोपना झल्कन्थ्यो । नाम नभएको नगरका रुपमा अनामनगरको नाम पनि दाहालले राखेका थिए ।

नागार्जुन साहित्यिक प्रतिष्ठानका सल्लाहकार हुँदै लोकतान्त्रिक साहित्यकार सङ्घ र पछि लोकतान्त्रिक स्रष्टाहरुको संयुक्त मञ्चलाई अस्तित्वमा ल्याई सक्रिय गराउन उनले जनताको सत्ता र लोकजीवनको सधैँ वकालत गरे । दासता र रैतीबाट मानिसलाई नागरिक बनाउनुपर्छ भन्ने उनको अभियान थियो ।

यसत्रैबीच साहित्यकार एवं लोकप्रिय प्रसारक दाहाल यज्ञनिधिको निधनले सांस्कृतिक रुपान्तरणका क्षेत्रमा अपुरणीय क्षति पुगेको विभिन्न संस्थाले जनाएका छन् ।

क्रान्तिकारी र अग्रगामी सोच र व्यवहारका धनी दाहालले साहित्य र पत्रकारिता क्षेत्रमा लेखनका माध्यमबाट सामाजिक जागरण ल्याउनुका साथै चेतनासमेत बढाएकामा ती संस्थाले उनीप्रति श्रद्धाञ्जलि व्यक्त गर्दै शोक सन्तप्त परिवारमा समवेदना व्यक्त गरेका छन् ।

दिवंगत दाहालको पार्थिव शरीर अन्तिम श्रद्धाञ्जलिका लागि आज (शनिबार) बिहान मण्डिखाटारस्थित उनको निवास (सुधाको डिही)मा राखिने छ । भतिजाहरु विदेशबाट आएपछि उनको पार्थिव शरीर अस्पताललाई दान गर्ने वा अन्त्येष्टि गर्ने भन्नेबारे निर्णय हुने बताइएको छ ।