लग्जेम्बर्ग बैठकको समीक्षा नहुँदै किन विवादित बनाइयो ?

लग्जेम्बर्ग बैठकको समीक्षा नहुँदै किन विवादित बनाइयो ?


डिल्ली अम्माई, लग्जेम्बर्ग

एनआरएनए युरोपको लग्जेम्बर्ग बैठक नियतबस विवादित बनाइयो वा संस्थाको सुधारको मनसायले, यो त विद्रोहको शंखघोष गर्नेलाई नै थाहा होला । तर, जे जसरी भएपनि यो बैठक अन्य बैठक जस्तो मानव चलखेल वा ओसारपसारको आरोप लागेर विवादित नहुनु एक महत्वपूर्ण पक्ष हो । अवैधनिक तवरले मानव ओसारपसारलाई विधिवत अन्त्य गर्न नेपाल सरकारलगायत सम्बन्धित नियन्त्रक निकायहरुसंग मिलेर काम गर्ने लिखित प्रतिबद्धता समेत जाहेर गर्यो सो बैठकले । यो ज्यादै सकारात्मक कुरा हो।

नेपालको आर्थिक पूर्वाधार निर्माणसंग सम्बन्धित र आफ्ना माताहतका संचालित परियोजनाबारे लग्जेम्बर्ग बैठक समयसीमा सहित बोल्यो जुन अति सकारात्मक छ ।

तर, लग्जेम्बर्ग बैठक पनि धेरै कुराहरुमा चुक्यो । त्यो मिडियाले १४ जना एनआरएन अगुवा, स्वयमसेवक र समर्थकहरुको दृश्य र श्रब्य रेकर्डलाई आधार बनाएर गरिएको समीक्षा थियो। तर केही अभियन्ताहरुको जायज असन्तुष्टिलाई समीक्षा बैठकसम्म कुर्न नदिई आक्रामण शैलीमा एउटा वक्तब्य आयो । त्यो वक्तब्यबारे हाम्रो भन्नु केही पनि छैन किनकि आफ्ना असन्तुष्टि मनमा दबाएर कोही पनि बस्न सक्दैन। तर त्यसको विधि भनेको प्रारम्भिक चरणमा आन्तरिक हुनुपर्ने हो। भन्नाले समीक्षा बैठकसम्म कुरेर लिखित वा मौखिक रुपमा आफ्ना असन्तुष्टि वा सुझाव केन्द्रलाई बोधार्थ दिँदै क्षेत्रीय समितिलाई बुझाउनु जायज हुन्थ्यो। विद्रोहीको नामावलीमा केही त केन्द्रकै जिम्मेवारहरु हुनुहुन्छ् । उहाँहरु स्वयमको सांगठनिक अनुशासनको एक अनुबन्धन छ। वैधानिक प्रक्रिया छ। आफु मातहतका संगठन वा तल्ला समितिहरुलाई अनुशासनको दायित्वबोध गराउने, पद्धति र सांगठनिक संस्कारको नजिर बनिदिएर जिम्मेवार अनुसासित क्याडर बनाउँदै नेतृत्व प्रदान गर्ने अहम जिम्मेवारी छ।

हामीसंग सम्मेलनमा प्रतिक्रिया दिंदा सरलतापुर्वक प्रस्तुत हुनुभयो । पछि कहाँबाट निर्देशन आयो वा निश्चित राजनीतिक आग्रहसहितको छलफल के भयो ? ‘आफु नेतृत्वमा छु, मेरो नेतृत्वदायी जिम्मेवारी पनि छ, म बसेको संगठन अराजक ताण्डब नृत्य देखाउने कलाकारहरुको संगठन हैन। डायस्पोराको विशाल र मातृभूमिको लागि प्रवासमा रगत र पसिना बगाएका लाखौँ नेपालीहरुको आशा र भरोसाहरु यसमा समाहित छन्। यसको आत्मा मर्न दिनु हुँदैन। असन्तुष्टिहरुको विधिवत समाधानको लागि अझै गर्न धेरै छ।’ यी कुरा सबै बिर्सिदिनुलाई पक्कै स्वाभाविक पक्ष भनेर मान्न सकिँदैन । हो, त्यो उहाँहरुले समिक्षा बैठक बसालेर अझ केन्द्रलाई औपचारिक जानकारी गराएपछि, आफू बसेको पदबाट राजिनामा दिएर बिद्रोह गर्न सक्नुहुन्थ्यो। तर सबै एकाएक र आकस्मिक रुपमा भयो जसले सबै एनआरएनहरु अचम्मित भएका छन्। बिनासित्तै लग्जेम्बर्गका अध्यक्ष नारायण गुरुङलाई विवादित बनाएर रुँदै बक्तब्य निकाल्न बाध्य बनाइयो। र त्यो क्रम अझ त्यहीँ रोकिन्छ भन्ने पनि छैन।

‘हामीले उहाँहरुलाई अब किन केका लागि नेतृत्वमा पठाउने ? केवल अराजकता र अनुशासनविहीनाताका लागि ?’ अहिलेको उहाँहरुको शैलीले डायस्पोरामा यस्ता नमिठा प्रश्न सञ्चार गराएको छ।

मित्रहरुकाबीच, अझ एउटै संगठनका सहकर्मीहरुबीचको सम्बन्ध देखाउनका लागि मात्र हुँदैन, त्यो निभाउनका लागि हुन्छ, त्यहाँ विश्वास, धैर्यता र आशा समेत हुन्छ । तर अहिले दुःखद भन्नुपर्छ, मिडियाकर्मीको समीक्षा भन्दा उग्र रुपमा जनसम्पर्क समिति सम्बद्ध एनआरएनएका अभियन्ताहरुले आयोजकहरुको समीक्षा बैठक समेत नकुरी असन्तुष्टि छताछुल्ल बनाउनुभयो। कतै त्यो, हिजो केन्द्रिय चुनाव हारेको पक्षबाट पुरानो कुण्ठासमेत मिलाएर उभ्याइएको विद्रोहको आकृति त हैन ? वा कतै त्यो संयोजक बामपन्थी समर्थक भएकोले ‘किन विवादित नबनाउने मरिजावास यो पनि’ भन्ने आशयले रचिएको ‘शनी पुजा’ त हैन ? धेरैले यो प्रश्न उठाएका छन्। जसको उत्तर क्रमशः समयले दिंदै जानेछ। अहिले चाहिँ प्रतीक्षा गर्नुको विकल्प रहेन ।