अर्जेन्टिनी सिनेटद्वारा गर्भपतनको विपक्षमा मतदान

अर्जेन्टिनी सिनेटद्वारा गर्भपतनको विपक्षमा मतदान


अर्जेन्टिनाको सिनेट (संसदको माथिल्लो सदन) ले गर्भपतनसम्बन्धी विधेयकको विपक्षमा मतदान गरेको छ । यो मतदानसँगै उक्त विधेयक सिनेटबाट ‘अस्वीकृत’ भएको छ ।

यो असफलतासँगै अर्जेन्टिनाका महिलाअधिकारवादी भने निराश भएको बताइएको छ । गत जुनमा महिलाले गर्भपतन गराउन पाउने विधेयक यहाँको संसदको तल्लो सभाले पारित गरेको थियो ।

उक्त विधेयक पारित हुँदा खुसी बनेका यहाँका महिला बिहीबारको सिनेटको मतदानपछि भने निराश हुन पुगेका विभिन्न अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूले जनाएका छन् ।

उता, इसाई समुदायका सर्वोच्च गुरु पोप फ्रान्सिस जन्मेको यस देशमा गर्भपतन गराउन पाउने भनी ल्याइएको यस कानुन पारित हुन नसकेपछि भने अधिकांशमा खुसियाली छाएको बताइएको छ ।

एकजना अधिकारीका अनुसार उक्त विधेयकको विपक्षमा ३८ जना सिनेटरले मतदान गरेका थिए भने यसको पक्षमा मतदान गर्ने सिनेटर ३१ जना थिए । मतदानको क्रममा ४ जना सिनेटर अनुपस्थित थिए ।

उक्त विधेयकमा महिलाले चाहेमा आफ्नै निर्णयबाट गर्भ रहेको बढीमा १४ हप्तासम्मको भू्रण पतन गराउन पाउने प्रावधान रहेको थियो । यहाँका नागरिकले भने यस प्रावधानको विरोध गरेका थिए ।

महिलालाई गर्भपतनको अधिकार दिनुपर्छ भन्ने महिला अधिकारकर्मीले भने सिनेटको यस निर्णयको विरोध गरेका छन् । उनीहरूले जुलुसहरूमार्फत विरोध प्रदर्शन गरेका छन् ।

यस कानुनका पक्षधर महिला हरियो पछ्यौरी ओढेर विभिन्न सडकमा विरोधमा निस्किएका थिए । उनीहरूले आँसु झारेका दृश्यहरू पनि टेलिभिजनमा देखाइएको थियो ।

केही प्रदर्शनकारीले भने सडकमै प्रहरीतर्फ ढुंगामुढा गरेका थिए । उनीहरू गर्भपतनको कानुनका पक्षधर थिए । उनीहरूले सिनेटले राम्रो काम नगरेको प्रतिक्रिया दिएका थिए ।