विवाह कोसँग ?

विवाह कोसँग ?


– बबिता बस्नेत

विवाह भन्नासाथ युवा–युवती या महिला र पुरुषको छवि अगाडि आउँछ । वर्षौँदेखि महिला–पुरुषबीच नै विवाह हुँदै आएको देखेका कारण यसप्रकारको छवि आँखाअघि आउनु अस्वाभाविक पनि होइन । हाम्रो पारिवारिक संरचनामा सन्तानका रूपमा छोरा या छोरी जन्मिन्छ भन्ने छ । छोरा या छोरीबाहेक अर्को लिङ्गी सन्तानको परिकल्पना हामीमध्ये धेरैले गरेका हुँदैनौँ । तर, समयक्रममा हेर्दाहेर्दै आँखैअघि सन्तान छोरा र छोरी मात्र हुन्छन् भन्ने रहेन र विवाह पनि महिला र पुरुषबीच मात्रै हुन्छ भनेर सोच्न मिल्ने भएन ।

हिजोआज विवाह महिला र पुरुषबीच होइन, मान्छे–मान्छेबीच हुन्छ भन्ने मान्यताले ठाउँ लिन थालेको छ । महिला र पुरुषबीच नभएर मानिस–मानिसबीच प्रेमसम्बन्ध हुन थालेपछि विवाहको अवधारणामा परिवर्तन आएको हो । प्रेम र विवाहलाई उस्तैउस्तै रूपमा हेर्ने गरिएकाले प्रेम हुनासाथ विवाहको परिकल्पना गर्ने गरिन्छ । तर, कतिपय अवस्थामा विवाह प्रेमको अन्त्य हुने सबैभन्दा उपयुक्त माध्यम पनि बन्ने गरेको छ । विवाहपछि धेरै प्रेम–सम्बन्धहरू सम्बन्धहीन बन्न पुगेका छन् । प्रेमको पूर्णतः अन्त्य भएर औपचारिक रूपमा नटुटे पनि कतिपय विवाहहरू आफ्ना लागि नभएर अरूलाई देखाउनका लागि जीवित छन् । सन्तानको भविष्य बिग्रिएला भनेर आफ्नो वर्तमान नबाँच्नेहरूको सङ्ख्या हाम्रो समाजमा दिन प्रतिदिन बढिरहेको छ ।

विवाहलाई सामान्यतया पति–पत्नीबीचको सम्झौता मानिन्छ । सम्झौता हो…यस्तै त हो…सबैको उस्तै देख्छु…को पो खुसी छन् र ? यत्तिका वर्ष बितिसक्यो…अर्को मान्छे राम्रो पर्छ भन्ने के ग्यारेन्टी छ र…जिन्दगीको पहाड एक्लै छिचोल्न सकिएला र ? …होइन बुढेसकालमा त साथी चाहिन्छ… यस्तैयस्तै सोचेर टुट्न लागेका वैवाहिक सम्बन्धलाई जोडेर बस्नेहरू हामी वरिपरि धेरै छन् । एक–अर्काको स्वतन्त्र अस्तित्वलाई स्वीकार गरेर अघि बढ्न सक्यो भने विवाह समाजको सबैभन्दा सुन्दर संस्था हो ।

महिला र पुरुष मात्रै बस्छन् झैँ मानिएको हाम्रो समाजमा अन्य लैङ्गिक पहिचान भएका मानिसहरू यति ठूलो सङ्ख्यामा होलान् भन्ने ठानिएको थिएन । यद्यपि परापूर्वकालदेखि नै समाजमा तेस्रोलिङ्गीहरूको अस्तित्व थियो । महाभारतमा अर्जुनका छोरा इराभान ट्रान्स जेन्डर थिए भनिएको छ । कुरुक्षेत्रको युद्धको १८औँ दिनमा उनको मृत्यु भएको थियो । मृत्युअघि उनले विवाहको चाहना राखेको उल्लेख छ । त्यतिबेलादेखिको यो रहर तेस्रोलिङ्गीहरूले अहिले पनि निर्धक्क रूपमा पूरा गर्न पाएका छैनन् । हामीकहाँ यो समुदायलाई सँगै बस्न छुट छ, तर विवाहदर्ताको अधिकार छैन । कति जोडीहरू विवाह नगरी लिभिङ टुगेदरमा बसेका छन्, कतिचाहिँ मन्दिरमा विवाह गरी सँगै बसेका छन् । तर, कानुनी रूपमा उनीहरूको विवाहलाई मान्यता दिइएको छैन । त्यसैले सँगै बस्न दिएपछि विवाहदर्ताको अधिकार पनि दिइयोस् भन्ने उनीहरूको माग छ । सम्पत्ति, सन्तान (सेरोगेसी या धर्मपुत्र÷पुत्री) लगायतका कुराहरू विवाहदर्तासँग जोडिएका हुन्छन् ।

हिजोआज विवाह महिला र पुरुषबीच होइन, मान्छे–मान्छेबीच हुन्छ भन्ने मान्यताले ठाउँ लिन थालेको छ । महिला र पुरुषबीच नभएर मानिस–मानिसबीच प्रेमसम्बन्ध हुन थालेपछि विवाहको अवधारणामा परिवर्तन आएको हो ।

मुलुकी देवानी (संहिता) ऐन २०७४ पारिवारिक कानुनको विवाहसम्बन्धी व्यवस्थामा ‘कुनै पुरुष र महिलाले कुनै उत्सव, समारोह, औपचारिक वा अन्य कुनै कार्यबाट एक–अर्कालाई पति–पत्नीको रूपमा स्वीकार गरेमा विवाह भएको मानिनेछ’ भनिएको छ । साथै सोही व्यवस्थाको दफा ६८ मा विवाह अनतिक्रम्य सामाजिक बन्धन हुने उल्लेख गर्दै भनिएको छ, ‘विवाह पुरुष र महिलाबीच दाम्पत्य तथा पारिवारिक जीवन प्रारम्भ गर्नका लागि कायम भएको एक स्थायी, अनतिक्रम्य तथा स्वतन्त्र सहमतिमा आधारित एक पवित्र सामाजिक तथा कानुनी बन्धन हुनेछ ।’ नेपाली बृहत् शब्दकोशका अनुसार, अनतिक्रम्यको अर्थ अतिक्रमण वा उल्लङ्घन गर्न नहुने वा नसकिने भन्ने हुन्छ ।

हाम्रो कानुनले विवाहको सन्दर्भमा महिला–पुरुष नै भनेको छ, समलिङ्गी विवाहको परिकल्पना गरेको छैन । तर, समाज र कानुनले थाहा नपाएझैँ गर्दागर्दै पनि समलिङ्गीहरूको सङ्ख्या भने बढ्दै गएको छ । हामीकहाँ एलजीबीटीआई (लेसबियन, गे, बायोसेक्सुअल, ट्रान्सजेन्डर, इन्ट्रासेक्सुअल, जसलाई समग्रमा तेस्रोलिङ्गी भन्ने गरिएको छ) को सङ्ख्या कति छ भन्ने निश्चित तथ्याङ्क छैन । विभिन्न सङ्घसंस्थामा आबद्ध एलजीबीटीआईको सङ्ख्या जति भए पनि त्योभन्दा निकै बढी सङ्ख्या पहिचान खुलाउन नचाहनेहरूको छ भन्न सकिन्छ । महिला–पुरुषभन्दा माथि उठेर समान विवाह ऐन (इकवेल म्यारिज एक्ट) विभिन्न मुलुकमा लागू भएको देखिन्छ । सन् २००१ मा नेदरल्यान्डले पहिलोपल्ट यसप्रकारको कानुन निर्माण गरी कार्यान्वयनमा ल्याएको थियो । त्यसपछि बेल्जियम, स्पेन, क्यानडा, साउथ अफ्रिका, नर्वे, स्वीडेन, पोर्चुगल, आइसल्यान्ड, अर्जेन्टिना, डेनमार्क, ब्राजिल, फ्रान्स, न्युजिल्यान्ड, अमेरिका, माल्टा, फिनल्यान्ड, जर्मनी, अस्ट्रेलियालगायतका मुलुकमा समान विवाह कानुन छ ।

कानुन भन्ने कुरा समस्याअनुसार बनाउने, परिमार्जन गर्ने हो । पहिला आवश्यक नठानिएका धेरै कानुन बनाउनुपर्ने अवस्थामा हामी छौँ । तेस्रोलिङ्गीलाई हेर्ने दृष्टिकोणका कारण कतिपयले घर छोडेर बस्नुपर्ने अवस्था छ । परिवारमा बस्न पाउने र परिवार बनाउन पाउने कुरा आधारभूत मानवअधिकारभित्र पर्छ । दम्पतीकै रूपमा बस्ने तेस्रोलिङ्गीहरूको सङ्ख्या पनि बढ्दै गएको छ । हामीले जुन रूपमा बुझिरहेका छौँ, समाज त्यस्तो छैन । हाम्रा शहरहरूमा केटा र केटीलाई भन्दा केटीकेटी या केटाकेटालाई डेरा पाउन सहज छ । केटा र केटीले हाम्रो विवाह भाको छैन, तर सँगै बस्छौँ भन्दा डेरा पाउन मुस्किल भए पनि समान लिङ्गीलाई लिभिङ टुगेदरमा गाह्रो छैन । ट्रान्सजेन्डर फरक भएकाले अप्ठ्यारो हुने गरेको सम्बन्धितहरूको अनुभव छ ।

कतिपय अवस्थामा विवाह प्रेमको अन्त्य हुने सबैभन्दा उपयुक्त माध्यम पनि बन्ने गरेको छ । विवाहपछि धेरै प्रेम–सम्बन्धहरू सम्बन्धहीन बन्न पुगेका छन् । प्रेमको पूर्णतः अन्त्य भएर औपचारिक रूपमा नटुटे पनि कतिपय विवाहहरू आफ्ना लागि नभएर अरूलाई देखाउनका लागि जीवित छन् ।

कानुनी मात्र होइन, तेस्रोलिङ्गी समुदायको सवालमा मनोवैज्ञानिक र मनोसामाजिक समस्या पनि धेरै छन् । यस्तो समस्याबाट उनीहरू स्वयम्भन्दा बढी बाबुआमा प्रभावित छन । आफ्नो सन्तान समलिङ्गी भन्ने थाहा पाएपछि ऊ किन यस्तो भयो÷भई या मानिस किन एलजीबीटीआई बन्छ, खासमा यो के हो भनेर बुझ्नतिर लाग्नुभन्दा प्रायः अविभावकहरू विवाह गरिदिनपट्टि लाग्छन् । जुन समस्याको समाधान पटक्कै होइन । बाबुआमाले यसरी गरिदिएका विवाह प्रायः सम्बन्धविच्छेदमा टुङ्गिएका छन् । सम्बन्धविच्छेदसम्म पुग्नका लागि हिंसाका विभिन्न चरण पार गर्नुपरेका अनेक उदाहरण छन् । यस्ता व्यक्तिहरू सबै वर्गमा छन्, उच्च, मध्यम, निम्न, शिक्षित, अशिक्षित । निम्न र मध्यम वर्गीयहरू आफ्नो यौनिक पहिचानबारे खुलेर सङ्घसंस्थामा आबद्ध भई आफ्नो अधिकारको कुरा गर्ने गरेका छन् भने उच्चवर्गीयहरू चुपचाप आफ्नो जिन्दगी बाँच्ने गरेका छन् । यो समुदायभित्र पनि हिंसाका डरलाग्दा रूपहरू छन् ।

जुन कुरामा बढी बन्देज हुन्छ मानिसलाई त्यही काम गर्ने चाहना हुन्छ । विवाह गरेर सँगै बस्न नपाएका कारण यो समुदायलाई विवाह नै सबैभन्दा ठूलो कुरा हो भन्ने परेको छ । त्यसैले पनि होला शायद अन्य विषयमा भन्दा बढी विवाह र यौनबारे उनीहरूले कुरा गर्ने गरेका छन् । जसका कारण आमसमुदायमा यिनीहरू जहिले पनि यस्तै कुरा गर्छन्, मानौँ यो संसारमा अरू कुनै समस्या नै छैन भन्ने पनि परेको छ । यस्तो आरोपबाट मुक्त हुन तेस्रोलिङ्गी समुदायले शारीरिक कुरामा मात्र सीमित नरही समाजका विविध पक्षमा जोडिन सक्नुपर्छ । मनोवैज्ञानिक असरबाट गुज्रिएर जीवनलाई जबर्जस्ती धकेल्नुभन्दा अब बाबुआमाले पनि आफ्ना सन्तानको विवाह जोसँग पनि हुन सक्छ भनेर मानसिक रूपले तयार रहन आवश्यक देखिन्छ । साथै राज्यले पनि विवाह या लिभिङ टुगेदर महिला र पुरुषमा मात्रै हुन्छ भन्ने सोचबाट मुक्त भएर सोहीअनुरूपको व्यवस्था गर्नुपर्छ ।