सेवा, त्याग र समर्पण मानव जीवनका अमुल्य सम्पत्ति प्रश्रित

सेवा, त्याग र समर्पण मानव जीवनका अमुल्य सम्पत्ति प्रश्रित


– चन्द्रकान्त खनाल, रुपन्देही

वरिष्ठ साहित्यकार मोदनाथ प्रश्रितले मानवीय सेवा नै सबैभन्दा ठुलो समाजसेवा भएको वताएका छन् । कर्मयोगी, धर्मपाल, वरिष्ठ समाजसेवी स्व. गणेशमान सैंजुको प्रथम स्मृति जयन्तीका अवसरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै पुर्वमन्त्री प्रश्रितले मानवले मानवलाई सम्मान गर्ने परिपाटीको अन्त्य भएकोमा चिन्ता ब्यक्त गरे ।

स्व. गणेशमान संैंजुको निःस्वार्थ समाजसेवाको स्मरण गर्दै उनले शिक्षा, स्थास्थ्यलगायतका क्षेत्रमा अविछिन्न सेवा गर्नुका साथै नारीलाई सम्मान गर्ने, लागु पदार्थविरोधी अभियान सञ्चालन गर्ने, गरिव जेहेन्दार विद्यार्थीलाई छात्रवृत्ति प्रदान गर्ने जस्ता उपकारी कार्य गरेर अरुलाई समेत प्रेरित गरेका उल्लेख गरे । मानवीय सेवा, त्याग र समर्पण मानव जीवनका अमुल्य सम्पत्ति भएको चर्चा गर्दै प्रश्रितले आफूभन्दा कम भाग्यमानीको सेवा गर्नु नै सच्चा समाज सेवा भएको तर्क गरे ।

कार्यक्रममा प्रमुख अतिथिको आसनबाट बोल्दै मुक्तिनाथ धामका प्रमुख तत्वदर्शी सन्त शिरोमणी लोकानन्द स्वामी महाराजले समाज सेवा नै मानव जीवनको मुल धर्म भएको चर्चा गर्दै धर्म, संस्कार र अनुशासनले जीवनलाई सार्थक बनाउने चर्चा गरे । आध्यात्मिक, धार्मिक एवं साँस्कृतिक चिन्तनले मानव जीवनमा अभुतपुर्व प्रेरणा मिल्ने र जीवन सफल हुने कुरा उल्लेख गर्दै उनले सुसंस्कृत समाज निर्माण आजको आवश्यक्ता रहेको पनि बताए ।

सो अवसरमा समाजका विभिन्न क्षेत्रमा विशिष्ट योगदान पुर्याएका तीनजना महानुभावलाई सम्मान गरिएको थियो । यसरी सम्मानित हुनेमा पूर्वशिक्षामन्त्री एवं वरिष्ठ साहित्यकार मोदनाथ प्रश्रित, वरिष्ठ पत्रकार बालकृष्ण चापागाई र वरिष्ठ समाजसेवी शेरबहादुर गुरुङलाई दोसल्ला, कदरपत्र र नगद पुरस्कारसहित सम्मान गरिएको थियो ।

कर्मयोगी स्व. सैंजुको स्मृति जयन्तीमा बुटवल फुलबारीस्थित सिद्धबाबा दुर्गा भवानी शिवकुमारी वृद्धाश्रममा पुर्णकदको शालिक अनावरण गरिएको छ भने विश्व हिन्दु महासंघ रुपन्देहीको प्राङ्गणमा अर्धकदको शालिक स्थापना गरी अनावरण गरियो ।

यसका साथै आजै आयोजित समारोहमा स्व. सैंजुको जिवनीमा आधारीत विभिन्न लेख तथा विभिन्न सामाग्रीहरूको स्मृति ग्रन्थ विमोचन गरिएको थियो भने स्व. सैंजुको नामांकित चाँदीको सिक्का प्रकाशन गर्नुका साथै हुलाक टिकटमा टाँचा लगाउने कार्य पनि सम्पन्न गरिएको छ ।

कर्मयोगी, समाजसेवी गणेशमान सैंजु स्मृति प्रतिष्ठानका अध्यक्ष एवं विश्व हिन्दु महासंघ रुपन्देहीका अध्यक्ष महेश्वरप्रसाद श्रेष्ठ, नेपाल फिलाटेलिक सोसायटीका अध्यक्ष शंकर श्रेष्ठ, उद्योग बाणिज्य संघका अध्यक्ष खेम हमाल, बुद्ध सामुदायिक टेलिभिजनका अध्यक्ष पृथबहादुर फौजदार, साहित्यकार काजी रोशन, बुनपाका पुर्वउपप्रमुख विमलबहादुर शाक्य, सिद्धार्थनगर उवासंघका पूर्वअध्यक्ष ओमकार गौचन, सम्मानित ब्यक्तित्व वरिष्ठ पत्रकार बालकृष्ण चापागाई, वरिष्ठ अधिवक्ता बेनबहादुर पौडेल क्षेत्री, पं. कृष्णप्रसाद कोइराला, सञ्चारकर्मी खेमराज रेग्मी, अम्बिका पौडेल लगायतका वक्ताहरुले स्व. गणेशमान सैंजुले सामाजिक क्षेत्रमा पुर्याएको योगदानको चर्चा गरेका थिए ।