राजदूत डा. सुवेदी ‘डिप्लोम्याटीक अफ दि डिकेड’बाट सम्मानित

राजदूत डा. सुवेदी ‘डिप्लोम्याटीक अफ दि डिकेड’बाट सम्मानित


लण्डन । बेलायतबाट सञ्चालनमा आइरहेको अनलाइन न्यूज पोर्टल नेपाल ब्रिटेन डटकमको ११ औं वार्षिकोत्सव गत आइतबार लण्डनमा एक भव्य समारोहबीच मनाइएको छ ।

उक्त अवसरमा बेलायतका लागि नेपाली राजदूत डा. दुर्गाबहादुर सुवेदीका साथै बेलायतको नेपाली समुदायबाट वर्षका दश चर्चित व्यक्तित्वलाई सम्मान गरियो । लन्डनको ह्यारो फुटबल क्लबमा आयोजित कार्यक्रम प्रमुख अतिथि सांसद डा. सूर्य पाठक र बेलायतका लागि नेपाली राजदूत डा. दुर्गा बहादुर सुवेदीले संयुक्त रुपमा उद्धघाटन गरेका थिए ।

सम्मानित हुने शीर्ष १० व्यक्तित्वमध्ये पहिलो नम्वरमा लिभरपुल जोन मोर युनिभर्सिटीेका एसोसिएट डिन डा. पदम सिम्खडा, दोस्रो नम्बरमा बेलायती सेनाको छैटौँ वरियताको लेफ्टिनेन्ट कर्णेल टोल खाम्चा, तेस्रो नम्बरमा गेसो अध्यक्ष कृष्णकुमार राई, चौथो नम्बरमा तमु धि यूके ज्ञाम गुरुङ, पाँचौं नम्बरमा बुद्ध फाउण्डेसन यूके अध्यक्ष दिपक श्रेष्ठ, छैटौं नम्बरमा सहारा यूके अध्यक्ष मीनबहादुर गुरुङ , सातौं नम्बरमा एनबिसी यूके पूर्वअध्यक्ष कमलराज खनाल, आठौं नम्बरमा शान्ति नेपाली समाज बेलायतका अध्यक्ष कृष्ण ढकाल, नवौं नम्बरमा ग्रेटर रश्मोर नेपाली कम्युनिटी अध्यक्ष जीव बेल्बासे र दशौं स्थानमा नायिका जसिता गुरुङ छन् ।

त्यसैगरी बेलायतका लागि नेपाली राजदूत डा. दुर्गाबहादुर सुवेदीलाई ‘डिप्लोम्याट अफ द डिकेड’को रुपमा सम्मान गरियो ।

कार्यक्रमका संयोजक रामशरण सिंखडाले समुदायमा उदाहरणीय कार्य गर्ने व्यक्तित्वहरुको हौसलाको लागि सम्मान गरिएको बताए । सम्मानलाई प्रतीकका रुपमा लिन आग्रह गर्दै उनले समाजमा योगदान गरेका तर लाइमलाइटमा नआएकाहरुलाई भविष्यमा पहिचान गर्न प्रयास गरिने बताए ।

कार्यक्रममा एनआरएन यूके अध्यक्ष योगकुमार फगामी, पुर्व अध्यक्ष सुर्य गुरुङ, बुद्धिजिबी शिवजी श्रेष्ठ, पत्रकार महासंघ यूकेका वरिष्ठ उपाध्यक्ष ध्रुबराज अर्याल लगायतले शुभकामना मन्तव्य दिएका थिए ।

कार्यक्रमका सभापति तथा नेपाल ब्रिटेन डटकम सम्पादक चिरन शर्माले कार्यक्रमका सहभागी तथा सहयोगी सबैलाई धन्यवाद ज्ञापन गरे ।

नायिका छुल्ठिम गुरुङ, गायिका शर्मिला बर्देवा, प्रसुना कँडेल लगायतले कार्यक्रममा विशेष प्रस्तुति गरेका थिए भने बेलायतस्थित विभिन्न नेपाली संघ संस्थाका प्रतिनिधिहरुको उल्लेख्य सहभागिता थियो ।