कति हजारको मान्छे तिमी ?

कति हजारको मान्छे तिमी ?


– मदनकृष्ण सिलवाल

कोही–कसैले भन्ने गर्छन्–
तिम्रो मोल अनमोल छ
तर, मैले थाहा पाएअनुसार
मेरो मोल विहान–बेलुका एक डबका झोल छ ।

कतै जान्छु गुण्डागर्दी र विचौलिया बन्छु
यही त साथी, तिमी र ममा फरक यही छ ।

सरकारी भेष छ, स्वदेशी देश छ–
कमाउ धन्दाको ठूलो बेग छ ।
र त, साथी तिमी र ममा यही फरक छ ।

काम गर्छु, परिश्रम गर्छु
जाँगर चलाई नयाँ ‘टिरिक’ रच्छु
विल्ला छ काँधमा, सिपाही छन्–
नेता–गोताको ठूलै लहरो छ हातमा ।

सक्छौ के गर्छाै र तिमीहरूले हेरौँ
म आयल निगमको खड्का र राजश्व विभागको शर्मा कहाँ हुँ र ?’
म पूर्व आइजिपी साहेबहरू झैँ कहाँ हुँ र जेलभित्र सलोट टोकिने कस्टडीमा !

नुन काण्डमा मुछिएकाहरूलाई छुट हुने–
सुनकाण्डको चाहिँ लामै लहरो हुने
बडो गजबको कुरा गर्छौ भाइ तिमी–
एउटालाई हाई हुने अर्कोचाहिँ समातिने ?
कस्तो चलन हो तिम्रातिर–
भन नढाँचीकन भन–
कति हजारको मान्छे तिमी ?

तिमीले टाइ र सुट लगाएर झूट बोलिरहेछौँ
मेले भट्टीमा डबका लगाएरै भटभटाइरहेछु
तिमी प्राडो र पजेरोका कुरा गरिरहन्छौँ
मैले एक प्याज रक्सी र भट्टीको कुरा गर्दा
तिमी किन बेस्सरी झर्कियौ हँ ?

अब छोड्देऊ कुरा गर्न नुनको नि
अब छोड्देऊ कुरा गर्न सुनको नि
सबै नुन र सुन आयतीत वस्तु नै हुन्
हाम्रै गतिला हरामहरूकै अब गुनका कुराहरू–
सक्छौ भने लेख्ने कोसिस गर ।

सक्छौ भने मुलबाटो नै बन्द गर
दोबाटोमा बसेर सुन र नुनको बहसमा–
किमार्थ पैदल यात्रीहरूलाई दुःख दिने
तिम्लाई अधिकार छैन अब ।

बिर्सिदेऊ जुनी–जुनीसम्मको लागि अब
सक्छौ भने अब नेपाल र नेपाली माटोमाथि वार्गेनिङ–
गर्नेहरूको डडाल्नु गाल्ने र बाल्ने साहस गर
अभिनयचाहिँ धेरैपटक भइसकेको छ–
भन नढाँचीकन भन–
कति हजारको मान्छे तिमी ?