कांग्रेसद्वारा प्रदेश सभा बैठक अवरुद्ध

कांग्रेसद्वारा प्रदेश सभा बैठक अवरुद्ध


प्रदेश १ को प्रदेश सभाको आजको बैठक प्रतिपक्षी नेपाली कांग्रेसका प्रदेश सभा सदस्यको विरोधका कारण स्थगित भएको छ ।

सभामुख प्रदीपकुमार भण्डारीद्वारा सभा सञ्चालन गर्ने आह्वान हुनासाथ कांग्रेसका प्रदेश सभा सदस्यहरूले उभिएर विरोध जनाएका कारण बैठक अवरुद्ध हुन पुगेको थियो ।

सभामुख भण्डारीद्वारा आफ्नो कुरा सदनसमक्ष राख्न समय दिँदा कांग्रेसका प्रदेश सभा सदस्य लोकप्रसाद संग्रौलाले डा. गोविन्द केसीद्वारा उठाइएका माग सरकारद्वारा सम्बोधन नहुन्जेलसम्म सदन चल्न नदिने बताए ।

सत्तापक्षका प्रदेश सभा सदस्य बुद्धिबहादुर राजभण्डारीले प्रतिपक्षको सहयोगबाट विगतमा सौहार्दपूर्ण वातावरणमा प्रदेश सभा सञ्चालन भएको स्मरण गर्दै प्रदेशको समृद्धिका लागि सभा सञ्चालन गर्न प्रतिपक्ष सदस्यहरूलाई सहयोग गर्न आह्वान गरे । प्रदेश सभाको अर्को बैठक यही साउन १० गते अपराह्न १ बजे बस्नेछ ।