करको दायरा घटाउन पशुपतिको माग

करको दायरा घटाउन पशुपतिको माग


राष्ट्रिय प्रजातन्त्र पार्टी (प्रजातान्त्रिक) का अध्यक्ष पशुपतिशमशेर राणाले चालू आवमा सरकारले घरजग्गालगायतका सम्पत्ति तथा इन्टरनेट शीर्षकमा वृद्धि गरेको करको दायरा घटाउन माग गरेका छन् ।

राजधानीमा भएको एक साक्षत्कारमा उनले पेट्रोलियम पदार्थ सर्वसाधारणलाई बिक्री गर्दा सरकारले प्रतिलिटर २५ पैसा अतिरिक्त शुल्क असुल गर्ने निर्णय वैज्ञानिक र सामाजिक न्यायको पक्षमा नरहेको बताए ।
पैतृक सम्पत्तिमा समेत ५ प्रतिशत लाभकर तिर्नुपर्ने र जग्गा किनबेच गर्दा दुवै पक्षले थैलीको १२.५ प्रतिशत राजीनामा पारित दस्तुर कर तिर्नुपर्ने बाध्यात्मक व्यवस्था छ । यसले साना किसान, व्यवसायीलगायत विपन्न जनतालाई ठूलो मर्का परेको अध्यक्ष राणाको भनाइ थियो ।

बजारमा आकासिँदै गएको महँगी तथा खाद्यपदार्थको भाउ बढेकामा पनि राणाले चिन्ता व्यक्त गर्दै सरकारले कालोबजारीयालाई नियन्त्रण गर्न नसकेकाले जनतालाई समस्या भएको बताए ।

चिकित्सा शिक्षा क्षेत्रको सुधारका लागि अनशनरत केसीसँग तत्काल वार्ता गरेर समस्या समाधान गर्न, कर वृद्धिका कदम तत्काल फिर्ता लिएर जनतालाई महँगीको मारबाट बचाउन र राहतका कार्यक्रम ल्याउन पनि उनले सरकारलाई आग्रह गरेका छन् ।