फुसको छाना हटाएर झापा गाउँपालिकाले टिन लगाइदिने

फुसको छाना हटाएर झापा गाउँपालिकाले टिन लगाइदिने


झापाको झापा गाउँपालिकाले आफ्नो गाउँपालिका क्षेत्रभित्रका फुसका छाना भएका घरमा जस्तापाता (टिन) लगाइदिने भएको छ ।

‘फुस हटाऔँ, टिन लगाऔँ’ भन्ने मूल नारासहित विपन्न वर्गका परिवारको घरमा भएको फुसको छाना हटाएर गाउँपालिकाले टिन लगाइदिने भएको हो ।

आर्थिक वर्ष ०७५-७६ को बजेटमै सो अभियानका लागि रु. २५ लाख गाउँपालिकाले छुट्याएको र रु. २५ लाख हेविटेड नेपाल र सहारा नेपालले लगानी गर्ने भएको गाउँपालिकाका अध्यक्ष जयनारायण साहले बताए ।

विशेषगरी सन्थाल, राजवंशी, गनगाई, मुस्लिम र मधेशी समुदायको बसोवास रहेको गाउँपालिकामा सात वटा वडा रहेकामा प्रत्येक वडाका २५० देखि ३०० घर अझै पनि फुसकै छाना रहेको अध्यक्ष साहको भनाइ थियो ।

अध्यक्ष साहले भने, ‘विपन्न समुदाय छन्, श्रम गरेको आम्दानीले उनीहरूलाई बिहान–बेलुकाको छाक टार्नै पुग्दैन । घर कमजोर हुँदा हावाहुण्डरी, पानी र सर्पको डर हुन्छ । त्यसबाट बचाउन गाउँपालिकाबाटै हेविटेड नेपाल र सहारा नेपालको सहयोगमा टिन लगाइदिन लागेका छौँ ।’

दशैँपछिदेखि नै निर्माणकार्य शुरु गर्न हाल सातवटै वडामा फुसको छानाको तथ्यांक संकलन भइरहेको अध्यक्ष साहले बताए ।

०६८ को जनगणनाअनुसार सो गाउँपालिकाको जनसंख्या ३४ हजार ६०१ छ । अध्यक्ष साहले करिब १५ प्रतिशत परिवारको घरमा अझै फुसकै छाना रहेको हुँदा यस आर्थिक वर्षभित्र ७५० घरमा टिन लगाइदिने र बाँकी ०७६/७७ मा पूरा गर्ने बताए ।