‘फिल्मसिटी’ बनाउन जयाप्रदासहितको समूह नेपालमा

‘फिल्मसिटी’ बनाउन जयाप्रदासहितको समूह नेपालमा


नेपालमा चलचित्र नगरी निर्माणका लागि प्रख्यात भारतीय अभिनेत्री जयाप्रदासहितको टोली यतिबेला नेपाल भ्रमणमा छ । उक्त टोलीले गोरखाको पालुङटार र धादिङको सल्यानटारको स्थलगत अध्ययन गरेको छ ।

भारतका एक्सेल ग्रुपका प्रमुख तथा जी इन्टरटेन्मेन्ट इन्टरप्राइजेज लिका अध्यक्ष सुवास चन्द्रा, भारतीय राजनीतिक व्यक्तित्व अमर सिंह तथा वरिष्ठ सिने कलाकार जयाप्रदासहितको टोलीले स्थलगत अध्ययनपछि काठमाडौं फर्केर प्रधानमन्त्री केपी शर्मा ओलीसँग भेट गरेको छ ।
शनिबारको सो भेटका अवसरमा प्रधानमन्त्री ओलीले अध्ययन टोलीलाई धन्यवाद दिएका छन् । नेपाली कलाकारसमेतको उपस्थितिमा भएको भेटमा प्रधानमन्त्री ओलीले भारतीय कलाकार प्रदाले नेपाल–भारत सम्बन्धका लागि सांस्कृतिक राजदूतको भूमिका निर्वाह गर्दै आएको बताए ।

जी इन्टरटेन्मेन्ट इन्टरप्राइजेज लिका अध्यक्ष चन्द्राले पालुङटारका नदीदेखि पहाडसम्मको सुन्दर परिवेशले आफूलाई आकर्षित गरेको जानकारी दिए भने भारतीय राजनीतिकर्मी तथा राज्यसभा सदस्य सिंहले प्रधानमन्त्री ओलीको समृद्ध नेपाल सुखी नेपाली नारा सफल पार्न आफूले सक्दो सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरे । सो अवसरमा नेपालका वरिष्ठ कलाकार नीर शाहले नेपाली चलचित्र उद्योगको समग्र अवस्थाबारे अवगत गराएका थिए ।

ज्ञातव्य छ, यसअघिका सरकारले चलचित्र नगरी निर्माणका लागि दोलखाको लाँकुरीडाँडामा अध्ययन गरेको थियो । अमेरिकाको हलिउड र भारतको बम्बई चलचित्र नगरीका रुपमा चिनिन्छन् ।

तस्बिर रासस