नेपाली सवारीसाधन भारत प्रवेशमा सहज

नेपाली सवारीसाधन भारत प्रवेशमा सहज


नेपाल–भारतबीच व्यक्तिगत सवारीसाधन आवतजावतमा रहेको असमानता हट्ने भएको छ । अब नेपालीका व्यक्तिगत सवारीसाधन पनि विनारोकतोक भारत आवतजावत गर्न पाउने भएको हो । यसअघि नेपालीका निजी सवारीसाधन भारत प्रवेश गर्न भारतीय दूतावासबाट अनुमति लिनुपर्ने र तोकिएको बैंक ग्यारेन्टी बुझाउनुपर्ने व्यवस्था थियो । तर, भारतीय सवारीसाधन भने नेपाली भन्सार बिन्दुमा निश्चित शुल्क बुझाएर नेपाल प्रवेश गर्दै आएका थिए ।

दुई देशका अधिकारीबीच नयाँदिल्लीमा शुक्रबार भएको संयुक्त कार्यदलको बैठकले उक्त असमानता हटाउने निर्णय गरेको हो । ‘नयाँ व्यवस्थाअनुसार नेपालीका व्यक्तिगत सवारीसाधन पनि भारतीय भन्सार बिन्दुमा तोकिएको शुल्क बुझाएर भारत प्रवेश गर्न सक्नेछन्’ नेपाली टोलीको नेतृत्वकर्ता भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयका सहसचिव केशवकुमार शर्माले भने ।

सम्झौताको चार वर्षपछि आंशिक कार्यान्वयन

सन् २०१४ मा भएको नेपाल भारत ‘मोटर भेहिकल’ सम्झौता अनुसार दुई देशबीच विना रोकतोक सवारी साधन आवतजावत गर्ने पाउने व्यवस्था गरिएको छ । दुई देशबीच सम्झौता भएको करिब चार वर्षपछि सम्झौताको विषय आंशिक कार्यान्वयनमा आउन लागेको हो ।

त्यस्तै, भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको पछिल्लो नेपाल भ्रमणको बेला दुई देशका प्रधानमन्त्रीले शुरु गरेको जनकपुर–अयोध्या बस सेवा रुटलाई पनि बैठकले आधिकारिकता दिएको छ । उक्त रुटमा नेपालबाट कसले, कति सवारी सञ्चालन गर्ने भन्ने विषय भने टुंगिन बाँकी छ । अहिले हप्तामा दुईपटक जनकपुरदेखि अयोध्या र अयोध्यादेखि जनकपुरसम्म बस सञ्चालन भइरहेका छन् ।

भन्सार बिन्दुबारे अझै टुंगो लागेन

बैठकमा असमान व्यवहार हटाउन भारतीय पक्ष सहमत भए पनि कुन–कुन भन्सार बिन्दुबाट नेपाली सवारीसाधन आवतजावत गर्न पाउने भन्ने विषय अझै टुंगो लागेको छैन । सहसचिव शर्माका अनुसार सन् २०१९ को फेबु्रअरीसम्म नेपालले आयोजना गर्ने संयुक्त कार्यटोलीको बैठकले भन्सार बिन्दुहरू निश्चित गर्नेछ । नेपाल पक्षले सन् २०१८ भित्रै भन्सार बिन्दु निश्चित गर्ने प्रस्ताव गरे पनि भारतीय पक्षले फ्रेबुअरीसम्मको अनुमानित समय प्रस्ताव गरेको हो ।

त्यस्तै, मालवाहक सवारीसाधनलाई दुई भन्सार कार्यालयबाटै आवतजावतको व्यवस्था मिलाउने गरी सञ्चालन गर्ने विषयमा अनौपचारिक छलफल भएको छ । अहिले मालवाहक सवारीसाधनलाई पटके रुट लिएर निश्चित शुल्क बुझाउने र हप्ता दिनभित्र फर्किने गरी रुट अनुमति दिने गरिएको छ ।

(‘नयाँ पत्रिका’बाट)