डा. केसीको अभियानमा वैद्यको समर्थन

डा. केसीको अभियानमा वैद्यको समर्थन


नेकपा (क्रान्तिकारी माओवादी) का अध्यक्ष मोहन वैद्यले आज शिक्षण अस्पताल पुगी डा गोविन्द केसीलाई भेटी उनको स्वास्थ्यबारे जानकारी लिएका छन् ।

अध्यक्ष वैद्यले डा केसीलाई भेटी उनको अभियानमा आफ्नो पार्टीको पूर्ण समर्थन र साथ रहेको बताएको डा केसीका सहयोगी विशद् दाहालले राससलाई जानकारी दिए ।

साँझ अस्पताल पुग्नु भएका उनले डा केसीलाई आफ्नो स्वास्थ्यको ख्याल राख्नपनि आग्रह गर्नुभएको दाहालले बताए ।

चिकित्सा शिक्षा क्षेत्रको माग राखेर डा केसी १५ औँ पटकको २२ दिनको आमरण अनसनमा छन् ।

असार १६ मा जुम्लामा अनसन शुरु गरेका डा केसीलाई सरकारले गत बिहीबार काठमाडौं ल्याएपनि उनले कुनै पनि स्वास्थ्य परीक्षण गराउन र औषधि लिन अस्वीकार गर्दै आए । साधारण स्लाइन मात्र लिने बताएपछि उनको स्वास्थ्य अवस्था गम्भीर बन्दै गएको र कुनैपनि समयमा अप्ठेरोमा पर्न सक्ने बताइएको छ ।