पाइलटको तलतलले झन्डै गएन यात्रुको ज्यान

पाइलटको तलतलले झन्डै गएन यात्रुको ज्यान


हावाको चाप तलमाथि हुँदा विमानको उडान–उचाइ प्रभावित हुनुलाई सामान्य मानिन्छ । तर, ३५ हजार फिटमा उडिरहेको प्लेन एउटा सिग्रेटकै कारण एकैचोटि १० हजार फिट तल झर्छ भने त्यसलाई सामान्य घटना मान्न सकिँदैन । यस्तै असामान्य घटना भएको छ चीनको सरकारी एयरलाइन्स ‘चाइना एयर’को एक उडानमा ।

बेइजिङबाट हङकङतर्फ उडिरहेको विमानका को–पाइलटलाई स्मोकिङको सकसक लागेछ । उनले इलेक्ट्रोनिक सिगरेट तानेर धुम्रपानको तिर्सना मेटाउन थाले । भित्र धुवाँ नजाओस् भन्ने उद्देश्यले उनले एयर कन्डिसनर बन्द गरेका थिए । तर ई–सिगरेटबाट निस्किएको धुवाँले एकैक्षणमा तमासा निम्त्यायो । १५३ जना यात्रु बोकेर उडिरहेको विमान एकाएक दश हजार फिट तल झर्न पुग्यो । विमानभित्र यात्रीबीच हावाकावा मच्चियो । पाइलटको धुम्रपानको तलतलले ठूलो दुर्घटना हुने परिस्थिति निम्तिएकोमा यात्रुहरू आक्रोशित बने । अम्मली पाइलटमाथि जाँच र कारबाहीको प्रक्रिया चलिरहेको पिपुल्स डेलीले जनाएको छ ।