साउनमा रंगीबिरंगी चुरा पोतेको व्यापार मालामाल

साउनमा रंगीबिरंगी चुरा पोतेको व्यापार मालामाल


हिन्दु महिलाहरुका लागि साउन विशेष महिना हो । त्यसो त धार्मिक, सांस्कृतिक तथा प्राकृतिक हिसाबले पनि साउनको फरक अनि बिशेष महत्व छ । पौराणिक मान्यताअनुसार यो महिनामा भगवान शिवको विशेष पूजार्चना गरिने भएकाले साउनलाई शिवजीको महिना पनि भन्ने गरिन्छ ।

त्यसमा पनि साउनको सोमबारको महत्व बढी छ । यो वर्षको साउनमा चारवटा सोमबार परेको छ । माता पार्वतीले साउन महिनाभर व्रत बसेर भगवान शिवलाई पतिको रुपमा प्राप्त गरेको विश्वास छ । त्यसैले यो महिना विवाहित तथा अविवाहित महिलाले विभिन्न मनोकांक्षा राखेर व्रत बस्ने गर्छन् ।

आर्थिक हिसाबले पनि साउनको बिशेष महत्व छ । साउनकै लागि भनेर व्यापारीहरुले नयाँ सामान झिकाएका हुन्छन् । विशेषगरी रंगीबिरंगी चुरा, पोते तथा श्रृंगारका अन्य सामानको बिक्री साउनमा उल्लेख्य हुन्छ । ठूला सपिङ मलदेखि फुटपाथसम्मै किनमेलका लागि महिलाहरुको भिडभाड देखिन्छ । सामान किनमेलसँगै मेहन्दी लगाउन पनि उत्तिकै व्यस्त देखिन्छन् विवाहित महिला तथा अविवाहित युवती ।

रंगीचंगी चुरापोते र कपडासँगै साउन महिनामा हातभरी मेहन्दी लगाउने चलन पनि छ । हत्केलामा जति बढी गाढा मेहन्दीको रंग राख्यो, उति नै बढी श्रीमानको माया पाइन्छ भन्ने धार्मिक विश्वास छ । तर सबै महिलाहरुले यही विश्वासमा मेहन्दी लगाएका होइनन् । यो एउटा फेसनका रुपमा विस्तार हुदैछ ।

साउन महिना हरियाली प्रकृतिको महिना भनेर चिनिने गरिन्छ । हिन्दु धर्म शास्त्रमा त साउन महिना महिलाहरुको शक्तीको महिना भनेर ब्याख्या गरीएको छ । साउन महिनाको हरियो रंगलाई उर्बर शक्तिका रुपम मानिने गरेको छ । साउन महिनामा भएको प्रकृति परिवर्तनले हामी मानिसहरुको हर्मोन नै परिवर्तन गरिदिने गर्दछ जसको प्रभाब आफ्नो शरीर अथवा मनमा परेको हुन्छ ।

साउनमा हरियो, पहेंलो र रातो चुरापोते एवं कपडा लगाउनुको पनि आफ्नै अर्थ छ । हरियोलाई प्रेम र वातावरणको, रातोलाई सौभाग्यको एवं पहेंलोलाई पवित्रताको प्रतीकको रुपमा लिइन्छ । ‘यसकारण पनि साउन महिनामा हरियो, पहेंलो रातो सम्मिश्रण गरी लगाउने चलन स्थापित हुंदै गएको छ ।

ठूला सपिङ मलमा त साउनमा ठूलै व्यापार हुने भइहाल्यो । फुटपाथमा पनि उत्तिकै भिड देखिन्छ । साउन महिना लागेसँगै व्यापारीलाई पनि भ्याइनभ्याइ छ । चुरे, पोते बेच्ने र मेहन्दी लगाइदिएर सामान्य व्यापार गर्दै आएकाहरु पनि मालामाल कमाउँछन यतिबेला ।

साउनमा हरियो–पहेंलो चुरा र पोते किन लगाइन्छ भन्ने कुरा कतिपयलाई भने थाहा छैन । तर, नलगाउने महिला भने कमै होलान् । जसले जुन उद्देश्यले लगाएपनि साउनमा हरियो तथा पहेंलो चुरा, पोते तथा कपडा लगाउने चलन आम बन्दै गएको छ । यसले आर्थिक क्रियाकलाप पनि बढाएको छ र बुझेर नबुझेर महिलाहरुले सांस्कृतिक पक्षलाई पनि निरन्तरता दिइरहेका छन् ।