भानु जयन्तीको अवसरमा बेल्जियममा कवितावाचन

भानु जयन्तीको अवसरमा बेल्जियममा कवितावाचन


डिल्लीराम अम्माई बेल्जियम

अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज बेल्जियम च्याप्टरले नेपाली भाषा स्कुल आन्त्वेर्पेनको समेत सहभागितामा कविता वाचन गरेर २०५औँ भानु जयन्ती मनाएको छ ।

अनेसास बेल्जियमका अध्यक्ष राजकुमार पुडासैनीको सभापतित्वमा सम्पन्न कार्यक्रम च्याप्टरका महासचिव सौरभ कारान्जितले सञ्चालन गरेका थिए। कार्यक्रमको प्रमुख अतिथिमा बेनेलक्सका उपनियोग प्रमुख सुधिर भट्टराईको उपस्थित रह्यो भने विशिष्ट अतिथिहरुमा एनआरएनए युरोप संयोजक र गैरआवासीय संघ बेल्जियमका अध्यक्ष लोक दाहालको उपस्थिति थियो । त्यस्तै सोही च्याप्टरका भूपू अध्यक्षद्वय विमल गिरी र दीपेन्द्र केसी समेत सम्मानित अतिथिका रुपमा उपस्थित थिए ।

नेपाली दुतावासका प्रतिनिधि सुधिर भट्टराई र अनेसास बेल्जियमका अध्यक्ष राजकुमार पुडासैनीबाट पानसमा बत्ती बालेर आदिकवि भानुभक्तलाई श्रद्धासुमन ब्यक्त गरि कार्यक्रमको उद्घाटन गरिएको थियो । साहित्यप्रेमी शुभचिन्तक र आगन्तुक पाहुनहरुलाई बेल्जियम च्याप्टरका वरिष्ठ उपाध्यक्ष परमानन्द सापकोटाले स्वागत गरेका थिए ।

आदिकवि भानुभक्त आचार्यको संक्षिप्त परिचय सोही च्याप्टरका कोषाध्यक्ष तथा नेपाल पत्रकार महासंघ युरोप शाखाका वरिष्ठ उपाध्यक्ष डिल्ली अम्माईले दिएका थिए । विशिष्ट पाहुनाहरु लगायत प्रमुख अतिथिहरु क्रमश शिव बरुवाल, लोक दाहाल, शिक्षिका सोफिया महर्जन कार्की लगायतले प्रवासमा रहेर नेपाली भाषा साहित्यलाई उर्वर गराउनमा अनेसासको ठुलो योगदान रहेको भन्दै शुभकामाना व्यक्त गरे ।

कार्यक्रममा बालकविहरु रोहित निरौला, आन्या ढकाल, आश्रय दाहाल र बिब्षा श्रेष्ठले बालकविता वाचन गरेर श्रोताको मन जितेका थिए भने कवि तथा गजलकार विमल गिरी, मोहन खत्री, गोपाल दाहाल, मुना निरौला, जमुना गैह्रे,यामु निरौला,दिपेन्द्र केशी, बर्मेली मुलकी नेपाली कबि टिका निरौला मैनाली, सौरभ कारान्जित, राजकुमार पुडासैनी र डिल्ली अम्माईलगायतले पनि आफ्ना कविताहरु सुनाए ।

त्यस्तै प्रवासी नेपाली मंच बेल्जियमका महासचिव समेत रहेका साहित्यप्रेमी चन्द्र शर्माले भानुभक्तका जीनमा आधारित रोचक प्रसङ्गहरु सुनाउँदै नेपाली भाषालाई लिपिबद्ध गर्ने कार्यको शुभारम्भको श्रेय भानुमा जाने बताएका थिए।

करिब तीन घण्टासम्म चलेको कार्यक्रमको अन्त्यमा कार्यक्रमका सभापति राजकुमार पुडासैनीले अनेसासले विगतका वर्षमा सम्पन्न गरेको र आगामी दिनमा गर्न सकिने कार्यहरुको समीक्षात्मक टिपोट प्रस्तुत गर्दै सबै सहभागीहरुलाई धन्यबाद दिए ।