शुल्क बढाउँदै टेलिकम

शुल्क बढाउँदै टेलिकम


नेपाल टेलिकमले आफूले उपलब्ध गराउँदै आएको विभिन्न सेवामध्ये केही सेवाको महसुलमा परिवर्तन गरेको एक विज्ञप्ति जारी गर्दै जनाएको छ । परिवर्तित महसुल साउन १ गतेदेखि लागू हुने टेलिकमकी प्रवक्ता प्रतिभा वैद्यद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।

टेलिकमले साउन १ गतेदेखि नै लागू हुने गरी मनसुन अफरको रूपमा विभिन्न प्याकेज पनि उपलब्ध गराउने भएको छ ।

नेपाल सरकारलाई नेपाल टेलिकमले आगामी साउन १ गतेदेखि नै लागू हुने गरी भ्वाइस सेवामा टेलिकम सेवा शुल्क (टीएससी) ११ प्रतिशतबाट बढाएर १३ प्रतिशत र डाटा सेवामा १३ प्रतिशत सेवा शुल्क तिर्नुपर्ने भएको छ । पहिले डाटा सेवा प्रयोग गर्दा टेलिकम सेवा शुल्क तिर्नुपर्र्दैनथ्यो । अब भ्वाइस र डाटा दुवैमा १३ प्रतिशत टेलिकम सेवा शुल्क तिर्नुपर्ने विज्ञप्तिमा उल्लेख छ ।

वैद्यद्वारा जारी विज्ञप्तिमा कम्पनीले पहिलेदेखि नै उपलब्ध गराएका विकेन्ड प्याक, नाइट टाइम अनलिमिटेड डाटा प्याक, जीएसएम थ्रीजी र फोरजी १ जीबी पर डे प्याक, सीयूजी प्याकेज, भिडियो एन्ड टीभी स्ट्रिमिङ आवरली प्याक, एडीएसएलका विभिन्न प्याकेज र इन्डिया अफरअन्तर्गत डेली प्याक र विक्ली प्याक पहिलेकै दरमा उपलब्ध हुने उल्लेख छ ।

‘अल टाइम भ्वाइस प्याक, नाइट टाइम भ्वाइस प्याक, एसएमएस प्याकेज, मिस्ड कल एलर्ट र एफटीटीएच लगायतका विभिन्न प्याकेजको मूल्य समायोजन गरिएको छ । कम्पनीले उपलब्ध गराएका विभिन्न प्याकेजमा २५ देखि ५० प्रतिशत सम्म बोनस उपलब्ध गराइएको छ,’ विज्ञप्तिमा उल्लेख छ । मनसुन अफरअन्तर्गतका प्याकेज प्राप्त गर्न ग्राहकले *1415# डायल गर्नुपर्नेछ ।