भकुण्डो, भानु, पृथ्वी र गोल !

भकुण्डो, भानु, पृथ्वी र गोल !


■ डिल्लीराम अम्माइ ‘अनाथ अङ्कल’

आफ्नै खेल मैदानमा खेल्नको लागि
स्रष्टाले तुनेको भकुण्डोभित्र
शब्द तत्व र हिमाली हावा
फुस्फुसाइरहेको देखेनौ कि ?
भानु शक्तिको अवतरणसँगै
पृथ्वीको मौलिक साहसले
टिमिक्क मिलेको देखेनौ कि ?

ए कोचर दाजु !
साहसिक गोलले हाम्रो खुशी चुम्दा
एक अम्खरा पानीले गला भिजाउँदै
खण्डहरको अखण्ड जोडाइ भएको
मेरै लुजिन्की रंगशालाभित्र
हाम्रो पृथ्वी गर्जंदै
लुका मोर्डिचको गोल ! गोल !!
हाम्रा भानुले गाएको स्वर
अहिलेसम्म सुनिएकै छ त !

मेरो छातीभित्र लुकेको
कप्तान लुका र मेरा भानु
उस्तै गरी सुसाइरहेछन्,
रगत, पसिना र एकताबीच
कप्तान पृथ्वी गर्जिएकै छन् त !

पाँच पटकको ब्यलोण्डियर बिजेता
रोनाल्डोको सन्नाटाबीच
मारियो इभानको सपना तुनेर
भानु भाखा गुञ्जिएकै छ त !

अन्तिम सोह्रको ट्राइवेकर
ह्यारिकेंनको पसिना विजय
टिर्पियरको गति
मंजुकिजको आवाज
पृथ्वीको एक हुङ्कारले
भानु भजनसँगै विजयभोज गर्दै
आकाश ब्युँझेका ति गोधुली साँझहरू
कसरी बिर्सन सक्छन् होला ?

गायत्री माला हातमा लिएर
मञ्जु मन्त्र र भक्ति भजन
मधुर स्वरमा
आमाले छोरीलाई सम्झाउँदै
बिदाई गरेका आशिष श्लोकहरू
क्षणभरमै कसरी अलापिन्छन होला ?

उपहासको शब्दलता
मेरा फुटबलका गोलकिपर
एन्तोनी र एम्बाप्पे
तीन–तीन गोलको मेरो इतिहास
आहा !!!
सम्झनेमात्र प्रयत्न गर
बिर्सने तिमीलाई रहर हुने छैन
मेरा शब्द र भीर–पाखा बटुलेका
सामर्थ्यको बारुदी सुरुङभित्र
इतिहास छिमलेका
साहसले
भूमिपुत्रहरूको मन्त्रणा मात्र गर
आर्सेन र लीउडमिलालाई
हाम्रा गोलहरूले
क्षतविक्षत हुन दिने छैन,
रोनाल्डो र मेस्सीको हारले
मेरो देशको हार हुनेछैन ।

अपराजित स्यामुअलको गोल
साहसले टाकुरा छुँदै
पुनःपुनः गोलपोष्ट चुमिरहोस्
सपनाको झरी
यी आँखा भरी
एम्बाप्पे आशामा
डडीयस र म्यानुअल म्याक्रो बनेर
कोलिण्डाको नाचसँगै
भानु आत्मा ब्यँुझिरहोस् !

कजान हुत्तिनुमा
जर्मनीको के दोष ?
अर्जेन्टिना र ब्राजिल
क्यारियरको हिलोभित्र
फक्रिएको कमल
सजगताको परिहास
अचेत र मदहोस

सब बकबास ! कल्पना !!
भोको आशालाई दोष नदेउ
सम्भावनालाई फर्केर नथुक
किनकि अब
कोलिनको केवल दुई प्रहारमा
निरास मेस्सीहरू ब्युँझिनुपर्छ,
साहसका टुक्राटुक्रिहरूलाई
भानु कान्तिले जोड्दै
आफ्नै धरामा
मोती खोज्न हिँड्नु पर्छ,
सुशासन र समृद्धिको अन्तिम गोलले
भोका खेलाडीहरू बौरिनु पर्छ ।

कजानको निरास बसाई
लुजिन्कीको निर्णयले
विजयको गीत गाइरहने छ ।
खेलको कुरा न हो !
हार–जित हुन्छ, हुन्छ
तर मनभित्र खेल हारिँदैन
मैदानमा हारिन्छ
आशा मर्दैन
पुनः खेलिन्छ
मनोदशा गिर्न दिनु हुँदैन
आशालाई मर्न दिनु हुँदैन
भनिन्छ,
भावनाको समायोजन हुँदैन भने
बाँझा समस्या किन जन्माउनु ?
भ्रमणले रतिराग मिल्दैन भने
त्यहाँ,
छुट्टीका दिन किन मनाउनु ?

सत्य बचन,
सपनाले आकाश चुमे पनि
गोलहरू अझै बाँकी छन्,
विभत्स रगतले भरिएको
जीर्ण निराशाले थलिएको
मनभित्रको आहत
राहत र तृप्तिको लागि
मुर्छित आशाभित्रको
रुँदै गरेको मेरो वर्तमान
निर्णयलाई पर्खंदै
भविष्यलाई निहारीरहेछ ।

भानु र पृथ्वीजस्ता महारथी
धर्तीमा सिंहझैँ गर्जंदै
लयबद्ध इतितहासमा
‘नगर न ढिला’ आशयमा
भविष्यलाई बोलाइरहेछन् ।

सुन्यौ ?
कसैलाई कजान नफापेर केभो त ?
सपना बतासिँदैमा
एम्बाप्पेको चोट
ब्राजिलको अँधेरी रात
जर्मनीको कोलाहल
तिखारिएको चेतना
निराश हुँदैन पटक–पटक
ब्युँझिने छन् मेरा खेलाडी
उज्यालिनेछ मेरो पुस्ता
सिँगारिने छ मेरो भाषा
उज्यालिनेछ मेरो देश
सम्पन्नता, समानता र स्वतन्त्रता
तीन गोलले पोष्ट चुम्नेछ
अनि रङ्गिने छ
मेरो साहित्यको इन्द्रेणी ।

पुनः भन्छु मित्र
थाइल्याण्डको गुफामा निसास्सिएका बालकहरू झैँ
हज्जारौँ वर्ष जेलमा बिताएका
हाम्रा शब्दरुपी बालखेलाडीहरू
र उनीहरूको
प्राणरुपी साहित्य सौन्दर्यलाई
भानुले गरेको उपकार
गोताखोरले झैँ लगाएको गुण
मोतीको अभिलेख
बस् ! भन्नु केही छैन अब
एकपटक गम
इतिहासको मजाक नगर
केवल सम्झिदेउ
अन्तर्मनको विश्वकपमा
आनन्दी आनन्दको विजय जुलुसमा
मनैमन नारा लगाउने छौ ।
अमर भानु कथा
जीवनभरि गाउने छौ ।