जताततै ‘कालीमार्सी चामल’कै चर्चा

160 Shares

हिजोआज जताततै ‘काली मार्सी चामल’ को चर्चा चुलिएको छ । राजनीतिदेखि स्वास्थ्य क्षेत्रसम्म यसकै चर्चा परिचर्चा छ । आफैंमा लामो इतिहास बोकेको फाइदाजनक यो अन्नबाली एकाएक हिट हुन पुगेको छ । कारण तत्कालीन एमाले अध्यक्ष केपी शर्मा ओली र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले मेडिकल कलेज सञ्चालक दुर्गा प्रसाईंको घरमा खाना खाएको प्रसंग हो ।

जुम्लाको निकै पोषिलो र अत्याधिक काव्रोहाइड्रेट प्राप्त गर्न सकिने यो चामलको इतिहास झण्डै सात सय वर्ष पुरानो मानिन्छ । चौधौं शताब्दी आसपास जुम्लाका इष्टदेवता चन्दननाथ बाबाले भारतको जम्मू कश्मिरबाट मार्सी धान भित्र्याएको इतिहास पनि पाइन्छ । पछिल्लो समय राजनीतिक बृत्तमा कालीमार्सीको चामलको चर्चा चुलिएपछि कस्तो हुँदो रहेछ त भनेर मार्सी चामलको भात चाख्न खोज्नेहरुको जमात पनि यहाँ बढिरहेको छ । चामलको माग बढेकाले जुम्लादेखि कालीमार्सी धान ल्याएर काठमाडौंमा व्यावसाय गर्नेलाई भ्याइनभ्याइ छ । विगत लामो समयदेखि काठमाडौंमै बसेर काली मार्सी चामलको व्यापार गर्दै आएकी जुम्लाकी गंगादेवी राउतलाई यतिबेला उपभोक्ताहरुको माग धान्नै गाह्रो परेको छ । ‘हामीले सानो परिमाणमा मात्रै जुम्ली चामलको ब्यापार गर्दै आएका थियौं ।’ गंगादेवीले भनिन्, ‘पछिल्ला केही दिनयता चामलको माग ह्वात्तै बढेको छ । तर उपभोक्ताको माग अनुसार हामीसँग चामल पनि छैन् ।’

यसकारण मार्सी चामलले कमायो प्रख्याती

यतिबेला सदनदेखि सडकसम्म मार्सी चामलकै चर्चा छ । २०७४ फागुन ६ गते झपास्थित प्रस्तावित वी एन्ड सी मेडिकल कलेजका सञ्चालक दुर्गा प्रसाईले भक्तपुरस्थित निवासमा ओली र दाहाललाई खाना खुवाएका थिए । दुई नेताको ‘डाइनिङ टेवुल’ मा चरेसको थालमा देखिएको त्यही मार्सी चामलको भातले पार्टी एकीकरणको कस्सिएको गाँठो फुकाउनसमेत सहयोग पु¥यायो । तर, खानाको अन्तर्य विपक्षी नेपाली कांग्रेसको जिकीरअनुसार त्यतिबेला खुल्यो, जव अध्यादेशका केही प्रावधान खुकुलो बनाएर सरकारले राष्ट्रिय चिकित्सा विधेयक सदनमा पेश गऱ्यो । जसलाई विपक्षीले ‘मार्सीको भातमा अडिएको समाजवाद’ भनेर संसदमै ब्यङ्ग्यसमेत ग¥यो ।

कस्तो ठाउँमा फल्छ त काली मार्सी ?

संसारमा रातो रङको चामल दस प्रजातिभन्दा बढी छन । जुम्लाको मार्सी चामल तिनैमध्ये एक हो । ‘मार्सी धान उत्पादनका लागि तापक्रम माइनस चार डिग्री सेल्सियससम्म हुनुपर्छ ।’ किसानहरु भन्छन्, ‘त्यही भएर यो समुद्री सतहबाट करिब ३ हजार मिटरसम्मको उचाइमा फल्छ ।’ यो धान नेपाल, भुटान, भारत, पाकिस्तानलगायत देशका हिमाली क्षेत्रमा फल्ने गर्दछ ।

यस्तो छ कालीमार्सीको इतिहास

झण्डै एक हजार वर्षअघि जुम्लामा चन्दननाथ मन्दिरको स्थापना भएदेखि जुम्लीले कालीमार्सी धानको खेती सुरु गर्न थालेका हुन् । १०९८ सालदेखि चन्दननाथ बाबाले जुम्ला तातोपानी गाविसको लाछु ज्युलोमा रहेको सानो फोक्टामा मार्सिधानको परीक्षण गरेको भनाई छ । धानको यही परिक्षणपछि १११२ सालदेखि भने जिल्लाभर कालीमार्सी धान खेती गर्न सुरु गरियो । जुम्लामा तत्कालीन कल्याल राज्यको व्यवस्थापनमा मार्सी धानको अनुसन्धान थालिएको स्थानीय बुढापाकाको भनाइ छ । जुम्लामा २०४४ सालदेखि धानमा विभिन्न प्रकारका रोग लाग्न सुरु भएपछि एक मुरी खेतमा एक क्विन्टल धान उत्पादन हुने गथ्र्यो । तर पछिल्लो समयमा एक मुरी खेतमा १५ केजी धान उत्पादन हुन पनि मुस्किल परिरहेको स्थानीय बताउँछन् । कालीमार्सीमा रोग देखा पर्न थालेबाटै कृषि अनुसन्धान केन्द्रले कालीमार्सीको अनुसन्धान गरिरहेको छ । यहाँ उत्पादित कालीमार्सी स्वादिलो र पोषिलो हुने हुनाले १९०४ मा जंगबहादुर प्रधानमन्त्री हुँदा हुलाकबाट प्रतिदिन एक माना चामल पठाउने गरेको सस्कृतिविद्हरुको भनाई छ । कालीमार्सी चामल पठाउने क्रम २००७ साल मोहनशम्शेरको पालासम्म जारी रहेको थियो ।

प्रतिकेजी २ सय ५० रुपैयाँमा बिक्रि

मार्सी चामलको मूल्य जुम्लामा प्रतिकिलो १२०-१३० रुपैयाँसम्म पर्छ । काठमाडौंमा भने २ सय ५० रुपैयाँसम्म विक्रि भइरहेको छ । कालीमार्सी प्रजातीको चामल लोपोन्मुख मध्येको एक हो । तर लोपोन्मुख यो चामलको भात ओली र दाहालले खाएको सार्वजनिक भएपछि एकाएक चर्चामा आएको कालीमार्सी । एकाएक कालीमार्सीको चर्चा बढेपछि महंगो मूल्यमा भएपनि चामल ल्याइदिन उपभोक्ताहरुको माग छ ।

यस्ता छन् कालीमार्सीका बिशेषता

संसारकै सबैभन्दा अग्लो स्थानमा उत्पादन हुने कालीमार्सी धानको चामलको भातले जस्तो सुकै भोकलाई मार्न सक्छ । यो चामलको भात सेवन गर्दा चाँडै चाँडै लाग्ने भोकको समस्या तत्कालै अन्त्य हुन्छ । यो जातको धान खोज्न जुम्ला नै जानुपर्ने समस्या पनि अब समाधान भएको छ । नेपाल खाद्य संस्थानले जुम्लाबाट स्वादिलो कालिमार्सी धान खरिद गरी राजधानीमा बिक्री बितरण गर्ने व्यवस्था मिलाएको छ । यो चामलको भात प्रयोग गर्दा चाँडै भोक नलाग्ने भएकाले स्थानीय तहमै यसको खपत अत्यधिक छ । खाद्य संस्थानले चालू आर्थिक वर्षमा अन्य जातको धानसहित कालिमार्सी धान खरिद गरी चामल बनाएर उपभोक्तालाई बिक्री गरेको हो ।

जुम्लाको कहाँ कहाँ फल्छ त कालीमार्सी ?

जुम्लाको गुठीचौर र बुँग्रामाडीचौर बाहेक प्रायः सबै गाउँहरुमा यो धानको उत्पादन किसानस्तरबाट हुँदै आएको छ । कुल धानखेत हुने क्षेत्रफल दुई हजार नौ सय ५० हेक्टरमध्ये तीन सय हेक्टरमा कालिमार्सी धानको उत्पादन हुन्छ । जुम्लाको सबैभन्दा उच्च स्थान छुम्चौंर र हाकुमा पनि यो जातको धानको उत्पादन किसानले गर्दै आएका छन् । चिसो मौसम र पानी अत्यधिक चाहिन्छ यो धानलाई ।

160 Shares

प्रतिक्रिया