भक्तपुर डुबानमा, बाढीका कारण तीनको मृत्यु, अर्बौंको क्षति, अधिकांश बस्ती डुबानमा

भक्तपुर डुबानमा, बाढीका कारण तीनको मृत्यु, अर्बौंको क्षति, अधिकांश बस्ती डुबानमा


गएरातिदेखि परेको अविरल वर्षाको पानीले उचित निकास नपाउँदा भक्तपुरका अधिकांश बस्ती डुबानमा परेका छन् । भक्तपुरका चारवटै नगरपालिकाका जलमग्न भएपछि स्थानीय वासिन्दा डुबानको मारमा परेका हुन् ।

अविरल वर्षासँगै भक्तपुरको चाँगुनारायण नगरपालिका ७ मझुवा टोलमा गएको पहिरोले घर पुर्दा एकै परिवारका तीनजनाको मृत्यु भएको छ । राति सुतिरहेको बेला खसेको पहिरोले च्यापिएर हजुरबुबा, हजुरआमा र नातिनीको मृत्यु भएको हो ।

भक्तपुरका प्रमुख जिल्ला अधिकारी नारायणप्रसाद भट्टका अनुसार मृत्यु हुनेमा ६९ वर्षीय हीरा लामा, उनकी श्रीमती ६२ वर्षीया पानमाया लामा र उनीहरूकी तीन वर्षीया नातिनी सम्पदा लामा रहेका छन् । उनीहरू भूकम्पपीडित हुन् । उनीहरू बस्दै आएको अस्थायी टहरो भत्किएर च्यापिएका थिए ।

हनुमन्ते खोलाको बाढीका कारण भक्तपुरका राधेराधे, जगाती, मध्यपुर ठिमी, सल्लाघारी, सिर्जनानगर, हनुमानघाटलगायतका क्षेत्र जलमग्न छन् ।

दुवाकोट, राधेराधे–निकोसेरा सडक, लिवाली, चाँगुनारायण इँटाभट्टाको तल्लो बेल्ट, ब्रह्मायणी, नगरकोट जाने नयाँबाटोलगायतका क्षेत्र पनि जलमग्न भएका कारण ती क्षेत्रमा चल्ने सवारीसाधन बिहानैदेखि अवरुद्ध भएका छन् ।

सिद्धि अस्पताल क्षेत्र पनि डुबानमा परेको छ । त्यहाँको एउटा पुल बाढीले बगाएको छ । बाढीले बस्ती डुबेपछि यातायात ठप्प हुनुका साथै घर र पसलमा बाढी पसेपछि खाद्यान्न लत्ताकपडा भिजेका छन् । बाढीका कारण बजार, शिक्षण संस्था पनि खुलेका छैनन् ।

बाढीमा फसेकाहरूको उद्धारकार्य जारी छ । उनीहरूलाई नेपाली सेनाको टोलीले क्रेन र डुंगाको सहायताले बिहानैदेखि उद्धार गरिरहेका भए पनि सबैतिर उनीहरूको सेना, प्रहरी र स्थानीय जनप्रतिनिधिको उपस्थिति छैन ।

बाढी र डुबानबाट के–कति क्षति भयो, यसको यकिन विवरण प्राप्त भइनसके पनि क्षतिको मूल्याङ्कन अर्बौँमा रहेको अनुमान छ । आफूले पालेका गाई, कुखुरा, बंगुर र घरका मालसामान बाढीले बगाउँदा स्थानीय स्तब्ध छन् । भक्तपुरको हनुमन्ते खोलाको बहाव फर्काएर जग्गा प्लटिङ गरेका कारण बाढीले निबास नपाउँदा ठिमीको नयाँबस्ती डुबानमा परेको हो ।

प्रधानमन्त्री केपी शर्मा ओलीको घर रहेको सूर्यविनायक २ मा पनि हनुमन्ते किनारका दुवैतिरका बस्ती डुबानमा परेका छन् । कौशलटारबाट बालकोट जाने बाटो अहिले अवरुद्ध छ । प्रत्येक वर्ष खोलाको किनारामा च्याप्दै बस्ती निर्माण हुने क्रम बढ्दा र प्रत्येक वर्षको वर्षाका बेला भक्तपुरवासीले यस्तै विपत्तिको सामना गर्दा पनि सम्बन्धित निकायले ध्यान नदिँदा स्थानीय आक्रोशित छन् ।