नेताले अङ्ग्रेजी जान्नैपर्छ ?

नेताले अङ्ग्रेजी जान्नैपर्छ ?


■ बबिता बस्नेत

श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री गोकर्ण विष्टले हालै अन्तर्राष्ट्रिय फोरममा अङ्ग्रेजीमा दिनुभएको मन्तव्य अहिले निकै चर्चामा छ । विगतमा ऊर्जामन्त्री हुँदा लोडसेडिङ कम गर्ने विभिन्न उपायहरू निकालेर सर्वसाधारणमा असल नेताको छाप छोड्नुभएका र अहिले वैदेशिक रोजगारीलाई व्यवस्थित र सुरक्षित बनाउन प्रयास गरिरहनुभएका मन्त्रीलाई सामाजिक सञ्जालमा यसरी उडाइएको छ मानौँ नेता या मन्त्री हुनका लागि सबैभन्दा ठूलो योग्यता अङ्ग्रेजी भाषामा दखल राख्नु हो । उहाँले गर्नुभएको भाषणलाई भाइरल बनाउनहरूले गरेको टिप्पणी हेर्दा उहाँका सारा गुणहरू, राम्रा कामहरू एउटै भाषणले निमिट्यान्न पारिदिएझैँ लाग्छ ।

सामान्यतयाः पदीय हैसियत राख्ने व्यक्तिहरूको मूल्याङ्कन उनीहरूको काम र नियतलाई लिएर गरिन्छ । राज्यको प्रतिनिधिका रूपमा अन्तर्राष्ट्रिय फोरममा देखाएको ‘पर्फर्मेन्स’ले अर्थ राख्छ । तर, एकपटक गल्ती भयो भन्दैमा उक्त गल्ती नै मूल्याङ्कनको सम्पूर्ण आधार बन्न सक्दैन, बन्नुहुँदैन । यसप्रकारका घटना त सम्बन्धित व्यक्तिका लागि पाठ सिक्ने कुरा मात्रै हुन् । यस्तो ‘लेसन लर्न’ जसले पुनः गल्ती दोहोरिन नपाओस् ।

अङ्ग्रेजी भाषामा राम्रो दख्खल नहुनेहरूका लागि अन्तर्राष्ट्रिय फोरमहरूमा बोल्नु ठूलै सकसको कुरा हुन्छ । संयुक्त राष्ट्रसङ्घलगायतका कतिपय फोरममा नेपालको प्रतिनिधित्व गर्दै गएका सम्बन्धित मन्त्रीहरूले अङ्ग्रेजी बोल्दा कुरा एकातिर अर्थ अर्कैतिर पुगेका अनेक उदाहरण छन, गोकर्ण विष्ट अङ्ग्रेजी भाषणमा गल्ती गर्ने पहिलो मन्त्री होइनन् । घटना त अन्य व्यावसायिक व्यक्तिहरूका पनि थुप्रै होलान्, तर सार्वजनिक व्यक्तित्व त्यसमा पनि मुलुककै आधिकारिक प्रतिनिधित्व गर्ने भएकाले प्रायः मन्त्रीहरूका बारेमा अनेक टीका–टिप्पणी हुने गर्छन् ।

विभिन्न पेसा र व्यवसायमा रहेका मानिसहरूबीच पनि कहिलेकाहीँ कुराकानी सुनिन्छ, ‘उसको/त्यसको अङ्ग्रेजी त खत्तम रै’छ नि…’ सम्बन्धित क्षेत्रमा एउटा मानिसको जिन्दगीभरिको लगानीलाई उसले अभिव्यक्त गर्न नसकेको अङ्ग्रेजी भाषासँग तुलना गरेर एकैछिनमा मेटाउन कोसिस गर्नेहरू प्रसस्तै भेटिन्छन् ।

अङ्ग्रेजी भाषाको पृष्ठभूमि नभएकाहरूका लागि अङ्ग्रेजी नजान्नु ठूलो कुरा होइन । जुनसुकै होस् भाषा भनेको एक–अर्कालाई बुझाउने माध्यम मात्रै हो । विश्वका धेरै मुलुकमा अङ्ग्रेजी नजान्नुलाई अप्ठ्यारोको विषय मानिँदैन । तर, हामीकहाँ चाहिँ ‘हेर मन्त्री भएर के गर्नु दुई शब्द अङ्ग्रेजी बोल्न आउँदैन’ भन्ने टिप्पणी गरिन्छ ।

विभिन्न पेसा र व्यवसायमा रहेका मानिसहरूबीच पनि कहिलेकाहीँ कुराकानी सुनिन्छ, ‘उसको/त्यसको अङ्ग्रेजी त खत्तम रै’छ नि…’ सम्बन्धित क्षेत्रमा एउटा मानिसको जिन्दगीभरिको लगानीलाई उसले अभिव्यक्त गर्न नसकेको अङ्ग्रेजी भाषासँग तुलना गरेर एकैछिनमा मेटाउन कोसिस गर्नेहरू प्रसस्तै भेटिन्छन् । पहिलापहिला त एक–अर्काबीच बोलिन्थ्यो मात्रै अहिले त सामाजिक सञ्जालमार्फत सार्वजनिक रूपमै ‘हेर बेइज्जत’सम्म भन्ने गरिएको छ । राम्ररी अङ्ग्रेजी बुझ्ने कतिपय मानिसले पनि बोल्ने अभ्यास नभएका कारण बोल्न सकिरहेका हुँदैनन् ।

अङ्ग्रेजी हाम्रो मातृ भाषा होइन । अहिले मन्त्रिमण्डलमा पुगेका या अन्य विभिन्न ठाउँमा रहेका व्यावसायिक व्यक्तिहरूमध्येको ठूलो सङ्ख्या सरकारी स्कुलमा चार कक्षामा एबीसीडी सिकेको छ । राजधानीमा बसेर मिसिनरी या अन्य अङ्ग्रेजी स्कुल पढ्नेहरूका अगाडि दुर्गम स्थानका सरकारी स्कुलको पढाइ एकादेशको कथाझैँ हो । त्यस्तो पृष्ठभूमिबाट आएर जे–जे गर्ने कोसिस गरिरहेका छन्, त्यो ठूलो कुरा हो भन्ने लाग्छ । अङ्ग्रेजी नजान्नु ठूलो कुरा होइन, तर स्पष्ट नभईकन अङ्ग्रेजीमा बोल्नुचाहिँ गलत हो । हाम्रो मातृभाषा छ, मन्त्रीहरूले विश्वका कुनै पनि फोरममा नेपालीमा बोल्न सक्छन् । आफूले बोल्न लागेको कुरा अङ्ग्रेजीमा अनुवाद गरेर पहिला नै उपस्थित सबैको हातहातमा पुऱ्याउने व्यवस्था गरे भइहाल्यो ।

मलाई अङ्ग्रेजी आउँदैन भनेर खुम्चिएर बस्न भने जरुरी छैन । ठूला र शक्तिशाली मुलुकहरूले जे गरे पनि हुने, साना र शक्तिहीनहरूले भने सकी–नसकी गर्नैपर्ने जस्तो पनि देखिन्छ । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले यूएनमा हिन्दीमा सम्बोधन गर्दा आत्मसम्मान, हामीले बोल्दा भाषाको समस्या ।

संयुक्त राष्ट्रसङ्घीय फोरममा कतिपय भाषाका लागि समानान्तर अनुवाद गर्ने व्यवस्था भए पनि विश्वका धेरै मुलुकका भाषा अनुवाद गर्ने व्यवस्था छैन । संयुक्त राष्ट्रसङ्घ भवन बैंककमा चिनियाँ, रसियन, थाईलगायतका केही भाषाको मात्र समानान्तर अनुवाद हुन्छ भने संयुक्त राष्ट्रसङ्घ न्युयोर्कमा स्पेनिस, फ्रेन्च, जर्मनलगायतका भाषाहरूमा बोल्नेका लागि अनुवादको व्यवस्था छ । राष्ट्रसङ्घ भवनका बैठक हल र कार्यक्रमस्थलमा राखिएका कुर्सीका एकापट्टि कानमा राखेर सुन्ने ‘इयरफोन’को व्यवस्था हुन्छ । अनुवाद व्यवस्था भएका कुनै पनि भाषामा बोल्दा अङ्ग्रेजी तथा अनुवाद व्यवस्था भएका अन्य सबै भाषामा आउने हुँदा आफूले केमा सुन्ने हो सुन्न सकिन्छ । तर, नेपाली भाषालाई यो सुविधा छैन ।

तीन वर्षअघि तत्कालीन महिला, बालबालिका तथा समाजकल्याणमन्त्री नीलम केसी (सीता खड्का) ले संयुक्त राष्ट्रसङ्घ बैंकक र न्युयोर्कमा नेपालीमै आफ्नो भनाइ राख्दा उहाँको सम्मानमा कतै पनि आँच आएको थिएन । बरु बंगलादेशलगायत कतिपय मुलुकका मन्त्रीहरूले उहाँको भाषण पछि ‘म पनि आफ्नै भाषामा बोल्नुपर्ने रै’छ’ भनेको यो पङ्क्तिकारले सुनेकी थिएँ । केही वर्षअघि संयुक्त राष्ट्रसङ्घको मुख्यालय न्युयोर्कमा एक पूर्वस्वास्थ्यराज्यमन्त्रीले ‘रिप्रोडक्टिभ हेल्थ’ (प्रजनन स्वास्थ्य) लाई ‘रिपब्लिक हेल्थ’ (गणतान्त्रिक स्वास्थ्य) भनी उच्चारण गरेकी थिइन् । उनले त्यतिबेला गरेको भाषणको भिडियो अहिले पनि युटुबमा पाइन्छ ।

अध्ययन गर्ने बेलामा माओवादी आन्दोलनमा होमिएकी उनले अङ्ग्रेजी नजान्नुमा उनको दोष थिएन, नजान्दानजान्दै जबर्जस्ती बोल्न खोज्नुचाहिँ गल्ती भयो । विगतमा कतिपय मन्त्रीहरूलाई नेपाली भाषामा अङ्ग्रेजी शब्दहरू लेखेर बोल्न दिएका अनुभवहरू पनि विभिन्न कालखण्डका अधिकारीहरूसँग छन् । तर, तिनले नेपालीमै बोले फरक नपर्ने सल्लाह सुझाब भने मन्त्रीहरूलाई दिएको पाइँदैन ।

लामो समय भूमिगत भएर राजनीतिक गतिविधिमा संलग्न हुनुभएका कतिपय मन्त्रीलाई अङ्ग्रेजी भाषामा ‘कन्फिडेन्ट’ नहुनु सामान्य कुरा हो । के जान्ने के नजान्ने, के सिक्ने के नसिक्ने भन्ने कुरा मानिसलाई अवसरले निर्धारण गर्छ । को कस्तो पृष्ठभूमिमा हुर्कियो त्यसले तय गर्छ । सके र जानेदेखि अन्तर्राष्ट्रिय भाषामा कुराहरू अभिव्यक्त गर्नु राम्रो हो, तर सकी–नसकी सकसपूर्ण तरिकाले आफ्नो कुरा राख्नुभन्दा यसप्रकारका फोरमहरूमा अरूका लागि अङ्ग्रेजीमा अनुवाद गरेर आफूले आफ्नै भाषामा बोल्दा आत्मसम्मानपूर्ण देखिन्छ, देखिँदोरहेछ ।

मन्त्री विष्टको गल्ती अङ्ग्रेजी नजान्नुमा छैन, नेपाली नबोल्नुमा छ । एउटा भाषणमा भाषा नमिल्दैमा संसारै सकिएझैँ गरी उहाँका सारा गुणहरू छोप्ने प्रयास गर्दा उहाँको अपमान मात्र भएको छैन, हाम्रो प्रवृत्ति पनि उजागर भइरहेको छ ।

भाषा भन्ने कुरा माध्यम मात्रै हो । विश्वका धेरै मुलुकका नागरिकले अङ्ग्रेजी नबोल्ने मात्र होइन बुझ्नसम्म बुझ्दैनन्, चलेकै छ । यसको अर्थ अङ्ग्रेजीमा दख्खल राख्नैपर्दैन या राख्नैहुँदैन भन्ने पटक्कै होइन, अन्तर्राष्ट्रिय जगत्मा आफ्नो उपस्थिति दर्शाउन भाषा आवश्यक छ । तर, मलाई अङ्ग्रेजी आउँदैन भनेर खुम्चिएर बस्न भने जरुरी छैन । ठूला र शक्तिशाली मुलुकहरूले जे गरे पनि हुने, साना र शक्तिहीनहरूले भने सकी–नसकी गर्नैपर्ने जस्तो पनि देखिन्छ । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले यूएनमा हिन्दीमा सम्बोधन गर्दा आत्मसम्मान, हामीले बोल्दा भाषाको समस्या ।

आफूलाई फरर अङ्ग्रेजी आउनेहरूले पनि दोभाषे राखेर आफ्नै मातृ भाषामा कुरा गरेको पनि सुनिएको, देखिएको छ । मन्त्री विष्टको गल्ती अङ्ग्रेजी नजान्नुमा छैन, नेपाली नबोल्नुमा छ । एउटा भाषणमा भाषा नमिल्दैमा संसारै सकिएझैँ गरी उहाँका सारा गुणहरू छोप्ने प्रयास गर्दा उहाँको अपमान मात्र भएको छैन, हाम्रो प्रवृत्ति पनि उजागर भइरहेको छ ।