नेताका पत्नी हेरेर पार्टीगत अन्तर बुझ्नुपर्ने देश !

नेताका पत्नी हेरेर पार्टीगत अन्तर बुझ्नुपर्ने देश !


■ देवप्रकाश त्रिपाठी

संसारका अधिकांश मानिस आफ्नो मातापिताको निधन भएपछि प्राणविहीन शरीरलाई अंकमाल गरेर रुवाबासी गर्छन्, आफ्नो जन्मदाता–अन्नदाता र संस्कारदाताको मृत्यु स्वीकार गर्न उनीहरूलाई मुस्किल पर्छ । अन्त्येष्टि नै भइसकेपछि पनि आफ्नैवरिपरि यतै कतै घुमिरहेजस्तो, बोलेजस्तो, बोलाएजस्तो अनुभूति भइरहन्छ सन्तानलाई । धेरै समय लाग्न सक्छ आफ्ना मातापिताले सधैँका लागि संसार छोडेको आत्मसात् गर्न । नेपाली काङ्ग्रेसका कार्यकर्ता र नेताहरूलाई पनि काङ्ग्रेसभित्रको काङ्ग्रेस मरिसकेको स्वीकार गर्न त्यति नै मुस्किल परेको छ जति आफ्नो प्रिय मानिसले प्राण त्याग गरिसकेपछि पनि उनको मृत्यु स्वीकार गर्न जोकसैलाई गाह्रो हुन्छ ।

नेपाली काङ्ग्रेस भनेको निर्वाचन आयोगमा दर्ता रहेको, निर्वाचनमा रूख चिह्न पाउने, कुनै औपचारिक कार्यक्रम गर्नुपर्दा बीपी, सुवर्ण, गणेशमान, कृष्णप्रसाद आदिको तस्बिर टाँग्ने, परस्पर भेट हुँदा ‘जय नेपाल’ भनेर सम्बोधन गर्ने समूह या व्यक्ति मात्र हो भन्ने ठानिँदैन । राणाशाहीविरुद्धको प्रजातान्त्रिक आन्दोलनलाई अघि बढाउन निश्चित विचार, दर्शन, सिद्धान्त, नीति, कार्यक्रम र गन्तव्यसहित स्थापना गरिएको राजनीतिक समूहको नाम काङ्ग्रेस हो, जसलाई विचारदर्शनले सुसज्जित गर्ने काम बीपी कोइरालाले गरेका थिए । बीपीका अनगिन्ती विषयमा अनेक विचार, धारणा, अभिव्यक्त छन्, राजनीतिमा उनले अवलम्बन गरेको विचार संवैधानिक राजतन्त्रसहितको प्रजातन्त्र थियो । धर्मप्रति उनी आफू निरपेक्ष थिए, तर हिन्दू अधिराज्यको नेपाली पहिचान मेट्नुपर्छ भनेर उनले सङ्घर्षको आह्वान कहिल्यै गरेनन् ।

आजको दिनमा बीपीको राजनीतिक विचार भनेको के हो भन्ने प्रश्नको जवाफ अत्यन्त सङ्क्षेपमा दिनुप¥यो भने यति मात्र भन्दा पुग्छ– ‘राष्ट्रियता र प्रजातन्त्रका निम्ति कम्युनिस्ट चुनौती हुन्, राजासँग बरु लडेर प्रजातन्त्र फिर्ता ल्याउन सकिन्छ, तर एकपटक कम्युनिस्टको हातमा सत्ता गइसकेपछि उनीहरूबाट प्रजातन्त्र फिर्ता ल्याउन मुस्किल हुन्छ । त्यसैले राष्ट्रियता र प्रजातन्त्र रक्षाका निम्ति कम्युनिस्टहरूसँग सहकार्य गर्न सकिँदैन, हुँदैन, मिल्दैन । कम्युनिस्टसँगको मिलाप देश, प्रजातन्त्र र काङ्ग्रेस स्वयम्का निम्ति पनि घातक हुन सक्छ ।’

नेपाली राजनीतिक सन्दर्भमा बीपीको विचार भनेकै संवैधानिक राजतन्त्रसहितको संसदीय प्रजातन्त्र, कम्युनिस्टहरूसँग दूरीको सम्बन्ध र समाजवादी आर्थिक कार्यक्रम हो । र, यो नै काङ्ग्रेस पार्टीको आत्मा र प्राण पनि हो । उल्लिखित तीनवटै तत्वगुणबिनाको काङ्ग्रेसलाई बीपी विचारबाट पुष्पित र पोषित भन्न मिल्छ कि मिल्दैन ? पार्टी भनेकै विचार, दर्शन, सिद्धान्त, कार्यक्रम र गन्तव्य हो भने यतिबेला काङ्ग्रेसको विचार दर्शन के हो भनेर राष्ट्रियता र प्रजातन्त्र पक्षधरहरूले खोजी गर्नुपर्ने हो कि होइन ? निश्चित विचार–दर्शनबिनाको कुनै पनि पार्टीलाई मृत ठहर गर्न मिल्छ भने काङ्ग्रेसलाई प्राण र चेतनारहित अन्त्येष्टि हुनुअघिको शरीर भन्न मिल्ने हो कि होइन ? यस्ता अनेक प्रश्न उठिसकेका छन्, तर हिजोको ‘ह्याङओभर’मा रहेकाहरू काङ्ग्रेसलाई त्यसरी नै ‘जीवित’ देख्दै छन् जसरी मृत पतिको शवमा छाँद हालेर रुँदै गरेकी प्रियतमाले आफ्नो प्राणप्याराको निधनलाई आत्मासात् गरेकी हुन्नन् ।

कम्युनिस्टको आफ्नै कम्युनिस्टीकरण भएको छैन, कम्युनिस्ट ती मात्र हुन् जो जसरी भए पनि सम्पूर्ण सत्ताको मालिक बन्न र बनेपछि हरहालतमा टिकिरहन चाहन्छन् । यति मात्र ‘वैचारिक अडान’ राखेपछि कम्युनिस्ट बन्न थप केही गरिरहनुपर्दैन, कम्युनिस्ट हुनलाई माक्र्सवाद, लेनिनवाद र माओ विचारधाराको सच्चा हिमायती बन्नुपर्ने, धनसम्पत्ति तथा निजी शारीरिक सुखभोगको चाहनाबाट मुक्त भई समाजसुखमा केन्द्रित हुनुपर्ने र साम्यवाद स्थापनालाई मात्र आफ्नो जीवनको मूल उद्देश्य ठान्नुपर्नेजस्ता वैचारिक बन्धनबाट कम्युनिस्ट स्वयम् मुक्त भइसकेको परिप्रेक्ष्यमा काङ्ग्रेसको कम्युनिस्टीकरण हुँदै गएको निष्कर्ष निकालिनु गलत हुन सक्छ । तथापि काङ्ग्रेसले आफ्नो वैचारिक, दार्शनिक, सैद्धान्तिक र व्यावहारिक वस्त्र उतारेर कम्युनिस्टको पछि लाग्दै जाँदा यतिबेला गोठ र गाईबिनाको बुढोसाँढेजस्तै सडकमा हिँडिरहने, तर कहीँ पनि नपुग्ने र अरूका आँखामा औचित्यहीन ठहर भइसक्दा पनि डुक्रन नछोड्ने अवस्थामा काङ्ग्रेस पुगेको महसुस गरिँदै छ ।

राज्य हरेकका लागि हो र प्रजातन्त्रमा सबैको बराबरी हकअधिकार हुन्छ भन्ने विचार दर्शनमा उभिएका कारण काङ्ग्रेसबाट ‘पार्टीको सिफारिस’ खोजी हुँदैनथ्यो । तर, कम्युनिस्टहरू राज्यलाई सबैको होइन निश्चित वर्गको मात्र ठान्दछन् । उनीहरूको विचारमा संसारमा दुई वर्ग छन्– पुँजीवादी र सर्वहारावादी अर्थात् धनी र गरिब अर्थात् शोषक र शासित । आफूलाई सर्वहारा, गरिब र शोषित पक्षको दाबी गर्ने कम्युनिस्टले राज्यसत्तालाई आफ्नो हातमा पारिसकेपछि अर्को कुनै पनि पक्षलाई अवसर उपलब्ध गराइनुहुन्न, बरु सबै प्रकारका अवसरहरूबाट तिनलाई वञ्चित गरिनुपर्छ भन्ने मान्यता राख्दछन् । त्यसैले राज्यबाट प्राप्त हुने अवसर वर्ग दुस्मन र तिनका पक्षधरहरूको पक्षमा उपलब्ध नहोस् भनेर कम्युनिस्टले पार्टीको सिफारिसलाई अनिवार्य गरेका थिए, गरिरहेका छन् ।

२०४६ को परिवर्तन काङ्ग्रेसको वैचारिक नेतृत्वमा सम्पन्न भएको थियो । नेताहरूले नातावाद, कृपावाद र भ्रष्टाचारको आहालमा डुबुल्की लगाउँदै गर्दा पनि त्यसबेला प्रजातन्त्रले दिन सक्ने लाभचाहिँ देश र जनतालाई प्राप्त भइरहेको थियो । जहिलेदेखि काङ्ग्रेसले मौलिकता मेटेर कम्युनिस्टको अनुकरण गर्न थाल्यो, त्यसपछि काङ्ग्रेस एउटा बेग्लै र विशिष्ट राजनीतिक समूह भएको महसुस गर्न क्रमशः छोडिएको हो । २०५१ सालमा नेकपा एमालेको एकमना सरकार गठन हुनुअघिसम्म जनताको कुनै पनि काम गर्नका निम्ति पार्टीको सिफारिस खोजिँदैनथ्यो ।

राज्य हरेकका लागि हो र प्रजातन्त्रमा सबैको बराबरी हकअधिकार हुन्छ भन्ने विचार दर्शनमा उभिएका कारण काङ्ग्रेसबाट ‘पार्टीको सिफारिस’ खोजी हुँदैनथ्यो । तर, कम्युनिस्टहरू राज्यलाई सबैको होइन निश्चित वर्गको मात्र ठान्दछन् । उनीहरूको विचारमा संसारमा दुई वर्ग छन्– पुँजीवादी र सर्वहारावादी अर्थात् धनी र गरिब अर्थात् शोषक र शासित । आफूलाई सर्वहारा, गरिब र शोषित पक्षको दाबी गर्ने कम्युनिस्टले राज्यसत्तालाई आफ्नो हातमा पारिसकेपछि अर्को कुनै पनि पक्षलाई अवसर उपलब्ध गराइनुहुन्न, बरु सबै प्रकारका अवसरहरूबाट तिनलाई वञ्चित गरिनुपर्छ भन्ने मान्यता राख्दछन् । त्यसैले राज्यबाट प्राप्त हुने अवसर वर्ग दुस्मन र तिनका पक्षधरहरूको पक्षमा उपलब्ध नहोस् भनेर कम्युनिस्टले पार्टीको सिफारिसलाई अनिवार्य गरेका थिए, गरिरहेका छन् ।

२०५१ मा एकपटक कम्युनिस्ट सरकारको रूप र काम हेरेर पुनः सत्तामा फर्किंदा काङ्ग्रेस पहिलेको अवस्थामा रहेन । सत्ताका लागि जोसुकैसँग जस्तोसुकै सम्झौता गर्ने पार्टी भएर काङ्ग्रेस देखाप¥यो र, कम्युनिस्टको देखासिकी गर्दै कसैको कुनै काम परेमा पार्टीको सिफारिस खोज्न थाल्यो । २०४६ को परिवर्तनपछि काङ्ग्रेसले कम्युनिस्टबाट अनुकरण गरेको यही ‘सिफारिस’ नीति थियो, जुन दार्शनिक दृष्टिले प्रजातन्त्रवादीका लागि लज्जास्पद मानिन्छ ।

२०६३ को परिवर्तनसम्म आइपुग्दा काङ्ग्रेसले कम्युनिस्टका यति धेरै कुराहरूको अनुकरण ग¥यो कि ‘लाखे’ पनि मूर्छित हुने स्थिति बन्यो । काङ्ग्रेसले कम्युनिष्टबाट सिकेको अर्को ‘ज्ञान’ हो– संसद्मा अवरोध । कम्युनिस्ट दर्शनमा संसद् र संसदीय प्रजातन्त्रको कुनै औचित्य र अस्तित्व रहन्न, कम्युनिस्ट पार्टी नै राज्यको प्रमुख र सर्वाधिक शक्तिशाली निकायको रूपमा रहन्छ । कम्युनिस्ट पार्टीले शासन गर्नेबाहेक अरू सबै प्रकारका राजनीतिक प्रणाली र अवधारणा तिनका दृष्टिमा नाजायज हुन्, त्यसैले ‘कम्युनिस्ट पद्धति’बाहेक सबै प्रणालीको बद्ख्वाइँ गर्ने काम उनीहरूबाट भइरहेको हुन्छ ।

संसद् र संसदीय बैठकलाई निर्मम ढङ्गले बारम्बार अवरुद्ध तुल्याएर कम्युनिस्टहरूले आफ्नो माग पूरा गराउन मात्र खोजेका हुँदैनन्, संसद् देशको समस्या समाधानको उपयुक्त थलो होइन र, संसदीय प्रणाली देशका निम्ति उपयोगी हुन सक्दैन भन्ने प्रमाणित गराउन संसद्मा अवरोध पैदा गर्ने, वितण्डा मच्चाउने काम उनीहरूबाट विगतमा हुने गरेको हो । संसद्लाई निकम्मा प्रमाणित गर्न सक्दा कम्युनिस्टलाई अतिरिक्त राजनीतिक लाभ हासिल हुन सक्थ्यो, त्यसैले उनीहरूबाट संसद्मा अवाञ्छित र अग्राह्य व्यवहार हुने गरेको थियो । काङ्ग्रेसले पनि संसद्मा अवरोध पैदा गर्ने कम्युनिस्ट शैलीको अनुकरण गर्दै आएको छ । जनसमस्याको नीतिगत समाधान खोज्ने र कानुन निर्माण गर्नेजस्तो सम्मानित एवम् अधिक महत्वपूर्ण कार्यमा केन्द्रित रहने या रहनुपर्ने संसद्को मानमर्दन गर्ने या त्यसप्रतिको आस्था र भरोसा घटाउने प्रकारको व्यवहार गर्न कम्युनिस्टझैँ काङ्ग्रेससमेत तयार हुनुले काङ्ग्रेस पार्टीका नेताहरूको वैचारिक स्खलनको सङ्केत गर्दछ ।

देशको सार्वभौमसत्ता, राष्ट्रिय एकता र अखण्डतालाई नै दूरगामी असर पर्नेबाहेकको कुनै पनि मुद्दालाई लिएर संसद् अवरोध गर्नु भनेको अन्ततः संसद् र संसदीय व्यवस्थाकै बद्नामी गर्नु हो । कम्युनिस्टबाट यसरी काङ्ग्रेसले संसदीय प्रणालीको बद्ख्वाइँ गर्न पनि सिकेको छ । सङ्घीयता, धर्मनिरपेक्षता र गणतन्त्रलगायतका कम्युनिस्ट एजेण्डा धारण गरेको काङ्ग्रेसले दैनिक व्यवहारसमेत कम्युनिस्टकै अनुकरण गरेपछि काङ्ग्रेस र कम्युनिस्टबीचको अन्तर बुझ्न साधारण जनतालाई मुस्किल पर्न थालेको छ ।

सङ्घीयता, धर्मनिरपेक्षता र गणतन्त्रलगायतका कम्युनिस्ट एजेण्डा धारण गरेको काङ्ग्रेसले दैनिक व्यवहारसमेत कम्युनिस्टकै अनुकरण गरेपछि काङ्ग्रेस र कम्युनिस्टबीचको अन्तर बुझ्न साधारण जनतालाई मुस्किल पर्न थालेको छ ।

अमेरिका र ब्रिटेनजस्ता समृद्ध प्रजातान्त्रिक मुलुकका राजनीतिक दलहरूसमेत भिन्न वैचारिक धरातलमा उभिएका देखिन्छन् । अमेरिकाको रिपब्लिकन र डेमोक्रेटिक पार्टीका बीचमा कैयन वैचारिक अन्तर छन्, जब कि उनीहरूबीच व्यवहारतः खासै भिन्नता रहेको देखिँदैन । रिपब्लिकन र डेमोकेट्सबीच केवल उद्गमको अन्तर मात्र छैन, रिपब्लिकन गरिब र धनीलाई एउटै अनुपातमा कर निर्धारण गरिनुपर्छ भन्छ र पारिश्रमिक बढाउने कुरामा समेत अनुदार मानिन्छ ।

डेमोक्रेटिक पार्टी धनीलाई कर बढाउने र विपन्नलाई केही छुट दिने मान्यता राख्दछ । रिपब्लिकन पार्टी बन्दुक नियन्त्रणको पक्षमा छैन र हरेक नागरिकलाई आत्मसुरक्षाको अधिकार भएको धारणा उक्त पार्टीको छ । तर, डेमोक्रेट्सहरू बन्दुक नियन्त्रणको पक्षमा रहेको छ । रिपब्लिकनहरू मतदाता परिचयपत्रमा व्यक्तिको तस्बिर राखिनुपर्छ र त्यसो नगर्दा नक्कली मतदाताहरू आउन सक्छन् भन्ने धारणा राख्दछन् । डेमोक्रेट्सहरू मतदाता परिचयपत्रमा व्यक्तिको तस्बिर राख्न आवश्यक नभएको ठान्दछन् । उनीहरू मतदान गर्नु हरेक व्यक्तिको अधिकार भएको धारणा राख्दछन् । त्यसैगरी रिपब्लिकनहरू भ्रुण हत्या (गर्भपतन) को विरुद्धमा छन् र यो अधार्मिक कार्य भएकोले सरकारले नियन्त्रण गर्नुपर्छ भन्ने अडान राख्दछन् । तर, डेमोक्रेट्सहरू गर्भपतन महिलाको विशेष अधिकार भएको दाबी गर्दछन् र उनीहरू सचेतना अभिवृद्धिको पक्षमा छन् । रिपब्लिकन पार्टी समलैङ्गिक विवाहको विरुद्धमा छ र उनीहरूलाई धर्मपुत्र या पुत्री राख्ने अधिकारसमेत हुनुहुँदैन भन्ने धारणा राख्दछ । डेमोक्रेट्सहरू समलिङ्गीहरूलाई पनि अन्य नागरिकसरह विवाह रच्ने र धर्म सन्तान राख्ने अधिकार हुनुपर्छ भन्छन् । रिपब्लिकन पार्टी देशको सीमा नियन्त्रण र कठोर आप्रवासी नीतिको पक्षमा छ, तर डेमोक्रेटिक पार्टी आप्रवास सम्बन्धमा उदार नीति अवलम्बन गर्दछ र कोही पनि व्यक्ति अमेरिका आउन र बसोवास गर्न सक्छन् भन्ने सोच राख्दछ । रिपब्लिकनहरू निश्चित अपराधमा व्यक्तिलाई मृत्युदण्ड दिनुलाई उचित ठान्दछन्, तर डेमोक्रेट्सहरू मृत्युदण्डको सट्टा आजीवन काराबासको सजाय हुने व्यवस्था गरिनुपर्छ भन्दछन् ।

त्यस्तै, रिपब्लिकन पार्टी सरकारले स्वास्थ्य सेवालगायत सामाजिक सुरक्षाको दायित्व कम लिनुपर्छ भन्ने मान्यता राख्दछ भने डेमोक्रेटिक पार्टी हेल्थ केयरको पूरै जिम्मेवारी सरकारले लिनुपर्छ भन्ने धारणा राख्दछ । रिपब्लिकनहरूले व्यक्तिगत अधिकारको वकालत बढी गर्ने गर्दछन् । तर, डेमोक्रेट्सहरू सामूहिकताको पक्षमा देखिएका छन् । समग्रमा रिपब्लिकन पार्टी दक्षिणपन्थी भएको ठानिन्छ भने डेमोक्रेट्सलाई वाम रुझानको उदारवादी पार्टीका रूपमा लिइन्छ । यस्तै प्रकारको अन्तर ब्रिटेनको कन्सर्भेटिभ र लेवर पार्टीको बीचमा पनि देखिन्छ । तर, नेपालमा भने काङ्ग्रेस र कम्युनिस्टबीचका विशिष्ट अन्तर मेटिँदा कुन पार्टी के कारणले अर्कोभन्दा भिन्न छ भनी छुट्याउनै मुस्किल पर्ने स्थिति पैदा भएको छ ।

अब नेताका अनुहार र तिनका पत्नीका नामको आधारमा मात्र काङ्ग्रेस–कम्युनिस्टको भिन्नता छुट्टिने स्थिति बनेको छ । काङ्ग्रेस भनेको आरजु राणानामक महिला श्रीमती भएको व्यक्ति सभापति रहेको पार्टी हो र, सीता, राधिका, गायत्री आदि नामका महिलाहरू श्रीमती रहेका नेताहरूको पार्टीचाहिँ कम्युनिस्ट हो भनेर छुट्याउनुपर्ने स्थिति जुन बनेको छ यसमा काङ्ग्रेसको नेतृत्वको मुख्य योगदान रहेको छ । पार्टीहरूबीचको भिन्नता बुझ्न नाम, झन्डा चुनाव चिह्न र नेताका पत्नीको नाम मात्र हेर्नुपर्ने तर दर्शन, विचार, सिद्धान्त, नीति, कार्यक्रम केही पनि हेर्दा नभेटिने दुर्लभ अवस्था नेपालमा यतिबेला पैदा भएको छ ।

[email protected]