नेप्सेका महाप्रवन्धक साउदले भने, ‘कानुनी उपचारमा जान्छु’

नेप्सेका महाप्रवन्धक साउदले भने, ‘कानुनी उपचारमा जान्छु’


आठ महिना अघि मात्रै प्रतिस्पर्धाबाट आएका नेपाल स्टक एक्सचेन्ज (नेप्से)का महाप्रवन्धक चन्द्रसिंह साउदलाई केपी ओलीको. सरकारले हटाएको छ ।

आइतबार साउदलाई हटाएको गरेको पत्र अर्थमन्त्रालयले पठाएको हो । सात महिना अघि शेरबहादुर देउवाका पालामा नियुक्त भएका सबै राजनीतिक नियुक्ती ओली सरकारले खारेज गर्ने निर्णयसँगै साउदले हटाएको पत्र पाएका हुन् ।

अर्थले साउदलाई हटाएर तत्कालका लागि अर्थमन्त्रालयबाट उपसचिव रमेश अर्याललाई नेप्से पठाएको बुझिएको छ । अर्याल अर्थमन्त्रालय अन्तर्गतको नीति विश्लेषण महाशाखामा कार्यरत कर्मचारी हुन् ।

उता, साउदले पत्र पाएपछि पनि कुनै प्रतिकृया नदिई काम गरिरहेका छन् । उनले पत्र पाएपछि कानुनी उपचारमा जाने सोच बनाएका छन् । साउदलाई प्रतिस्पर्धामार्फत महाप्रवन्धकमा नियुक्त गरिएको थियो । अर्थमन्त्रालयले चन्द्रसिंह साउद, प्रमोदराज शर्मा र मनोजकुमार ज्ञवाली छनौंट गरेर तात्कालिन देउवा सरकारको मन्त्रीपरिषद्मा सिफारिश गरेको थियो ।

नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को सचिवालयको गत बुधवार बसेको बैठकले कांग्रेसलाई काउन्टर दिने निर्णय गरेसँगै मध्यरातमा क्याविनेट बसेर देउवाले गरेका सबै राजनीतिक नियुक्ति खारेज गरेको थियो ।