असार १५ सम्म रुपन्देहीमा धान रोपाइँ २० प्रतिशत मात्रै

असार १५ सम्म रुपन्देहीमा धान रोपाइँ २० प्रतिशत मात्रै


पुनहरि बेल्बासे, भैरहवा

मनसुन सुरु नहुँदा यस वर्ष असार १५ सम्म रुपन्देहीमा जम्मा २० प्रतिशत मात्रै धान रोपाइँ भएको छ । मानो रोपी मुरी फलाउने असार पन्ध्रमा सिँचाइको पर्याप्त सुविधा नभएको र आकासेपानीको भरमा पर्दा रोपाइँ हुन नसकेको हो ।

रुपन्देही धानखेतिको लागि पकेट क्षेत्र मानिएता पनि जिल्लामा बढ्दो शहरीकरण र जग्गा प्लटिङ, किसानमा व्यवसायिकता नहुनु, परम्परागत शैलीमा खेती गरिनु, प्राङ्गारिक मलको सट्टा रासायनिक मलको अधिक प्रयोग गरिनु, माटोको चेकजाँच नगरिनु जस्ता कारणले रुपन्देहीमा उत्पादनमा वृद्धि गर्न नसकिएको जिल्ला कृषि विकास कार्यालय रुपन्देहीका वरिष्ठ कृषि विकास अधिकृत भोजराज सापकोटाले बताए ।

जिल्लामा ७० हजार ५ सय हेक्टर क्षेत्रमा धान उत्पादन हुँदै आइरहे पनि बढ्दो शहरीकरणका कारण गत वर्षदेखि उत्पादन क्षेत्र घटेर ६९ हजार ६ सय हेक्टरमा मात्र खेती हुन थालेको छ । जसमा ६० प्रतिशत क्षत्रेमा सिंचाई सुविधा पुगेको छ भने अन्य क्षेत्रमा आकाशे भरमा खेती गर्न किसान बाध्य छन् । ६० प्रतिशत क्षेत्रमा सिंचाई भए तापनि बाहै्र महिना सिंचाई सुविधा पुग्ने क्षेत्र जम्मा १२.५ प्रतिशत मात्रै रहेको छ । रुपन्देहीमा जिल्लालाई आवश्यक पर्ने खाद्यान्न उत्पादन भए पनि सहरकेन्द्रित बसाई बढ्दै जाँदा खाद्यान्न उत्पादनमा कमी आउँदै गरेको छ ।

किसानलाई समयमै माटोको उर्वरा शक्तिबारे जानकारी गराउने, उन्नत बीउ र सिंचाई सुविधा र जग्गा प्लटिङ्कलाई रोक्ने हो भने जिल्लामा आवश्यक पर्ने खाद्यान्न तथा तरकारी उत्पादन गर्न सकिने सम्भावना रहेको क्षेत्र हो । जिल्लामा धानको उत्पादन वृद्धि गर्न यान्त्रिकरणको प्रयोग समेत गरिएको छ । मर्चवार, लुम्बिनी, मझगावा, धकधही, बोधबार, मानपकडी, मानमटेरिया, हर्नैया, देवदह, रुद्रपुर क्षेत्र धान उत्पादनका लागि पकेट क्षेत्र मानिन्छन् ।

धान उत्पादन समयका आधारमा अगौटे, मध्यमा र पछौटे गरि ३ भागमा विभाजन गरिएको छ । रुपन्देहीमा अगौटे धान २५ प्रतिशत, मध्यम धान ३५ प्रतिशत र पछौटे धान ४० प्रतिशत गरि ३ किसिमको धान लगाउने गरिन्छ ।

रुपन्देहीको देवदह, फर्साटिकर, मानपकडी, सालझन्डी, सैनामैना, बोगडी, लुम्बिनी आदर्श, मधुवनी, साडी, करौता, सुर्यपूरा, गुठी प्रसौनीलगायतका क्षेत्रमा रोपाईं शुरु भएको छ । यहाँ उन्नत र हाइब्रिड जातका धान रोपिएको छ । कृषि कार्यालयका अनुसार उन्नत धानतर्फ सुख्खा ३, सावा मन्सुली, सावित्री, मकवानपुर १, सुनौली सुगन्ध, कालानमक जस्ता प्रजातीका धान रोपिएको छ । यस्तै हाइब्रिड जातमा गोरखनाथ ५०९, लोकनाथ ५०५, एराइज ६४६४, पृथ्वी, सुरज, चाँदनी, भर्ती लगायतका धानको बिउ किसानले रोपेका छन् ।

परम्परागत तरिकाले पहिलेदेखि रोप्दै आएका धानको तुलनामा कृषि कार्यालयले सिफारिस गरेको नयाँ र उन्नत जातका धानहरु यसवर्ष बढि मात्रामा रोपिएकोले उत्पादन राम्रै हुने अनुमान कार्यालयको छ । जिल्लाको हावापानी तथा माटो सुहाउँदो हाइब्रिेड जातका धानको पनि दक्षिणी भेगमा उत्पादन गरिएपछि रुपन्देहीको उत्पादन बढ्दै गएको छ ।

जिल्ला कृषि विकास कार्यालय नरहने

स्थानीय सरकार सञ्चालन ऐन, २०७४ को दफा १०४ अनुसार नेपाल सरकारका विषयगत मन्त्रालयले संविधान र सो ऐन बमोजिम गाउँपालिका तथा नगरपालिकालाई प्राप्त अधिकारलाई आधार मानी उक्त ऐन प्रारम्भ भएको मिति (२०७४ असोज २९) ले ६ महिनाभित्र आफूमातहतका निकायहरुको संगठनात्मक संरचना पुनरावलोकन गरी सम्बन्धित निकायको नाममा रहेको सम्पत्ति, दायित्व तथा बजेट सम्बन्धित गाउँपालिका वा नगरपालिकामा स्थानान्तरण हुने व्यवस्था उल्लेख गरेको छ ।