स्वप्नदंशका ब्ल्याक एन्ड ह्वाइट अनुहारहरू

स्वप्नदंशका ब्ल्याक एन्ड ह्वाइट अनुहारहरू


-दीपकमणी ‘दाजुभाइ’
उनको कविता भनेको हाम्रो कविता हो । उनी हाम्रो सुखदु:खमाथि कविता लेख्छन् । जे छ त्यही लेख्छन् । जस्तौ छौँ हामी त्यस्तै लेख्छन् । उनलाई कवितामा बन्नु छैन । जस्तो छ मानिसको जीवन, जस्तो छ मानिसको सपना र जस्तो छ मानिसको दु:ख- यी सबैलाई तस्बिरजस्तो हुबहु उनले कवितामा उतार्ने गरेका छन् ।
उनको कविताको विषय नै मानिस हो । मानिसका रहर र सपनाहरू उसको चासोको विषय हो । मानिसभन्दा पर पुग्नु पनि कहाँ र ? मानिसमा उनले जीवनको सौर्न्दर्य भेटेका छन् । दु:ख र खुसी भनेको त आउने र जाने क्रम न हो । तर, दु:खकष्टमा पनि जीवनका लागि मानिसले गर्ने सङ्घर्षमा भेटिने सौर्न्दर्य अरू कहाँ ? मानिसका आन्तरिक र बाह्य दुवै सुखदु:खमा उनी कलम चलाउँछन् ।
सर्न्दर्भ हो, कवि दिनेश अधिकारी र उनको पछिल्लो कवितासङ्ग्रह सीमान्त सपनाको । सीमान्त सपना मानवीय सपनाहरूको सङ्ग्रह हो । अपुरा र अधुरा सपनाहरूले दिएको दु:ख, सपना देख्दाको खुसी र सपना बिक्री गर्दाको पीडा सङ्ग्रहमा छताछुल्ल छन् । दिनेशले यसअघिका आफ्ना कविताहरूमा झैं सीमान्त सपनामा पनि मानिसको पक्षमा खुलेर वकालत गरेका छन् । उनी मानिसभन्दा परको समाज या लेखन दुवैको कल्पना गर्दैनन् । उनलाई के थाहा छ भने मानिसभन्दा पर पुग्नुपर्ने ठाउँ पनि छैन । मानिसबाट सुरु भएको हाम्रो यात्रा मानिसमा नै पुरेर टुङ्गिन्छ ।
देश र माटोले बाँडेको सपना, घर र परिवारमा देखेको सपना, प्रेममा सजाएको सपना र यी सब सपनालाई भारीझैं बोकेर हिँड्न बाध्य हामीहरूकै अनुहारहरूको सङ्ग्रह हो सीमान्त सपना । यसभित्र रहेका प्रत्येक कविताले सपनाको नपुरिने घाउलाई उजागर गरेको छ । त्यस्तो घाउ जुन हामी सबैले बोकेर हिँडिरहेका छौँ । सुकिला र सक्षम देखिनेदेखि लिएर झुत्रा र फोहोरी देखिने सबैभित्र विद्यमान त्यही सपनादंशलाई कवि दिनेश अधिकारीले आफ्नो पछिल्लो कविता सङ्ग्रहमा लिएर आएका छन् ।
पटक-पटक उचालेको झण्डा र तिनै झण्डाहरूमा प्रत्येकपटक पोको पारेर फालेका मृत सपनाका अनुहारहरूलाई कवि अधिकारीले कवितामा सम्मानसाथ स्थान दिएका छन् । पटकपटकको राजनीतिक परिवर्तन, व्यवस्था र संस्था परिवर्तनले पनि उचाल्न नसकेको नेपाली जीवनस्तरलाई दिनेशको कवितामा देख्न सकिन्छ ।
आमनेपालीको सिङ्गो तस्बिर पनि हो सीमान्त सपना । बार-बार फेरिने सहरको अनुहार र सधैं उस्तै रहने गाउँको दु:ख कविताका आधार हुन् । कविता हामीभन्दा पर छैन । मानिसभन्दा पर छैन । रंग नभरेको हाम्रो समयको तस्बिर हो सीमान्त सपना । सानोभन्दा सानो सपना पनि पूरा नभएपछि अनुहारभरि जीवनको घाउ बोकेर सदरमुकाम आएको एउटा आमनेपालीले नागरिकताका लागि खिचेको ब्ल्याक एन्ड ह्वाइट तस्बिर हो सीमान्त सपना ।
देश एउटै हो भन्नुहुन्छ
झन्डा एउटै हो भन्नुहुन्छ
कानुन एउटै हो भन्नुहुन्छ
सरकार एउटै हो भन्नुहुन्छ
तर हामी
किन आकाश-पातालजस्तै फरक छौँ ? (नीलो बह पेज नं. ३)
दिनेशका कवितामा लप्पनछप्पन छैन । अनावश्यक फुदाहरू पनि छैन । जीवनका गहिराइहरूलाई सरल भाषा र शैलीमा आममानिसले बुझ्नेगरी लेख्न सक्नु नै उनको विशेषता हो । कवितालाई दुरुह बनाउनु जीवनलाई अझ जटिल बनाउनु नै हो । जति सरल हुन सक्यौँ जीवन या जति सहज रूपमा जीवनलाई लिएर हिँड्न सक्यो त्यति नै जीवन सुन्दर हुँदै जान्छ । यो कुरालाई दिनेशले आफ्ना कविता कर्मका क्रममा भुलेका छैनन् ।
दिनेशको कविताको अर्को सुन्दर पक्ष भनेको क्षेत्रीय, जातीय र भाषिक सहिष्णुणता नै हो । उनी सिङ्गो र सद्भावपूर्ण मुलुक चाहन्छन् । उनलाई टुक्रा-टुक्रा देशमाथि विश्वास पनि छैन । हिमाल, पहाड र तराईको एकता उनको खुसीको कुरा हो । उनले आफ्ना अधिकांश कवितामा समग्रताको वकालत गरेका छन् । समानताको पक्षमा बोलेका छन् । सबैलाई समान र स्वाभाविक अवसरहरूको वितरणको जिकिर गरेका छन् । उनी कसैलाई काखा र कसैलाई पाखाको पक्षमा छैनन् । सबैलाई आ-आफ्नो अधिकार र दायित्वप्रति समर्पित हुन उनका कविताले सिकाएको पनि छ ।
उनका कविताका बारेमा यी शब्दहरू लेखिरहँदा हामीलाई रमाइलो किन पनि लागेको छ भने नेपाली कविताका क्षेत्रमा हामी उनकै कविता पढेर आइपुगेका हौँ । उनका कविता आज पनि हाम्रा लागि प्रेरणाका स्रोत हुन् । उनका कविता पढेर हामीजस्ता दर्जनौँ कवि नेपाली कवितामा आ-आफ्नो अनुहारसहित स्थापित पनि छन् ।
कवि दिनेश अधिकारी नेपाली कविताको क्षेत्रमा सम्मानित नाम हो । उनले नेपाली कवितालाई आममानिससम्म पुर्याउन धेरै पापड पनि पेलेका छन् । कतिसम्म भने निरन्तर गीत र कवितामा समर्पित यी कविले नेपाली गीतलाई स्तरीय बनाउने क्रममा पनि निकै मिहिनेत गरे । नेपाली गीतमा र्सार्थक र काव्यिक गीतहरूको रचना गरेर दिनेशले गीतसङ्गीतलाई पनि माथि उठाउने काम गरेका छन् ।
साझा प्रकाशनले बजारमा ल्याएको दिनेशको पछिल्लो कवितासङ्ग्रह सीमान्त सपनाको प्रथम संस्करणको तीन महिना पनि नबित्दै दोस्रो संस्करण आउँदै छ । नेपाली साहित्यको क्षेत्रमा कविता बिक्दैन भनिरहेकाहरूलाई सीमान्त सपनाको दोस्रो संस्करण गतिलो जवाफ पनि हो । त्यसो त राम्रा कविता लेख्यो भने पढ्ने र किन्ने मान्छेहरू पनि त्यत्तिकै छन् भन्ने कुरा पनि यसबाट थाहा हुन्छ ।