दक्षिण एसियाली सेपाकताक्रोमा नेपाल दोस्रो

दक्षिण एसियाली सेपाकताक्रोमा नेपाल दोस्रो


नेपालले तेस्रो दक्षिण एसियाली सेपाकताक्रो च्याम्पियनसिपमा ३ रजत र १ कांस्य गरी ४ पदक जितेर दोस्रो स्थान हासिल गरेको छ । नेपाल सेपाकताक्रो संघद्वारा आयोजित प्रतियोगिताको पुरुष तथा महिला रेगु तथा महिला डबल्स स्पर्धामा नेपाल रजत हात पारेको हो । पुरुष क्वाडमा नेपालले कांस्यमा चित्त बुझाएको थियो ।

लगनखेलस्थित सैनिक शारीरिक तालिम तथा खेलकुद केन्द्रमा भएको पुरुष क्वाडमा नेपालले श्रीलंकालाई २१–१० र २१–१७ ले पराजित गरेको थियो । नेपाल भारतसँग ५–२१ र २०–२२ तथा बंगलादेशसँग १८–२१, २१–१७ र १४–२१ ले पराजित भएको थियो । भारत पहिलो र बंगलादेश दोस्रो भए । श्रीलंकाले नेपालसँगै तेस्रो स्थानमा चित्त बुझायो । नेपालबाट रूपेश सुनार, सुजन डंगोल, रोशन तामाङ, रविन भट्टराईलगायतले प्रतिस्पर्धा गरेका थिए ।

महिला डबल्समा नेपालले श्रीलंकालाई २१–१३ र २१–९ तथा बंगलादेशलाई २१–१२ र २१–११ ले पराजित गरेको थियो । भारतविरुद्धको खेलमा भने नेपाल २२–२४ र १९–२१ ले चुकेपछि रजतमा सीमित भएको हो । यो स्पर्धामा सोममाया थापा मगर, सुमित्रा डंगोल र चन्द्रा चौधरीले नेपालको प्रतिनिधित्व गरेका थिए ।

प्रतियोगितामा पुरुष क्वाड, पुरुष तथा महिला रेगु र महिला डबल्स गरी ४ स्पर्धामा प्रतिस्पर्धा भएको थियो । त्यसमा भारत सबै स्पर्धामा स्वर्ण हात पार्दै समग्रमा पहिलो भयो । बंगलादेशले १ रजत र ३ कांस्य प्राप्त ग¥यो भने श्रीलंका ४ कांस्यमा सीमित भएको थियो ।

विजेतालाई सांसद एवं नेपाल ओलम्पिक कमिटीका अध्यक्ष जीवनराम श्रेष्ठ, सेपाकताक्रो संघका वरिष्ठ उपाध्यक्षसमेत रहेका राष्ट्रिय खेलकुद परिषद्का सदस्यसचिव केशवकुमार विष्ट, सेपाकताक्रो संघका अध्यक्ष नेत्रबहादुर गुरुङलगायतले पुरस्कार वितरण गरेका थिए ।

गत शुक्रबारदेखि सुरु भएको राउन्ड रोविन लिग प्रतियोगितामा नेपाल, भारत, बंगलादेश र श्रीलंका गरी ४ राष्ट्र सहभागी थिए । पहिलो संस्करण पनि नेपालमै भएको थियो । दोस्रो संस्करण श्रीलंकाले आयोजना गरेको थियो ।