प्राविधिक त्रुटिका कारण एसइई परीक्षाफल परिवर्तन हुन सक्ने

प्राविधिक त्रुटिका कारण एसइई परीक्षाफल परिवर्तन हुन सक्ने


परीक्षा नियन्त्रण कार्यालयले हिजो सार्वजनिक गरेको माध्यमिक शिक्षा परीक्षा कक्षा १० को परीक्षाफलमा विद्यार्थीको प्राक्टिकल प्राप्तांक नै नजोडी सार्वजनिक गरिएको खुलासा भएपछि राज्यको एक महत्वपूर्ण र संवेदनशील निकायको कमजोरी एवम् लापर्वाही छताछुल्ल हुन पुगेको छ । परीक्षाफल सार्वजनिक भएपछि विद्यार्थीले आधिकारिक वेभसाइट र नेपाल टेलिकमको १६१६ डायल नम्बरबाट विद्यार्थीले पाएको ग्रेड पोइन्ट एभरेज (स्तरीकृत अंक) भन्दा ग्रेड पोइन्ट एभरेज भटाभट बढ्न थालेपछि उक्त प्राविधिक त्रुटि पत्ता लागेको हो ।

यसरी त्रुटीको खुलासा भए पनि सम्बन्धित कार्यालयले कूल विद्यार्थीको नतिजा के कति बढोत्तरी भयो भन्ने नयाँ तथ्यांक सार्वजनिक गरेको छैन । प्राविधिक कमजोरीबारे पनिका कार्यालयका अधिकारी र कर्मचारीले पछिल्लोमा जुन अंक देखिन्छ, त्यही आधिकारिक र सक्कली हो भन्न थालेका र यसबारे बुझ्न खोज्दा परीक्षा नियन्त्रक अम्बिकाप्रसाद रेग्मीसँग सम्पर्क हुन नसकेको राससले जनाएको छ।

पछिल्लो ग्रेड सिटअनुसार सबै ग्रेडमा विद्यार्थीको स्तर सामान्य वृद्धि भएको बुझिएको छ । नयाँ स्थितिमा सार्वजनिक गरिएको तथ्यांक नै हेरफेर हुने देखिएको छ । ए ग्रेड आउनेको ए प्लस, बी प्लस आउनेको ए ग्रेडसम्ममा हेरफेर भएको ठानिएको छ ।

कतिपयले विद्यार्थीले परीक्षाफल आएलगत्तै आफूले सोचेजति ग्रेड नभएको चिन्ता आइतबार गरेका थिए भने सोमबार नयाँ विवरण आएपछि प्रशन्नता व्यक्त गरेका थिए ।