काठमाडौैं महानगरले ल्यायो १३ अर्बको बजेट

काठमाडौैं महानगरले ल्यायो १३ अर्बको बजेट


काठमाडौैं महानगरपालिकाले आर्थिक वर्ष ०७५–७६ का लागि १३ अर्ब २ करोड रुपैयाँको बजेट ल्याएको छ ।

आइतबार सम्पन्न नगरसभामा उपमेयर हरिप्रभा खड्गीले १३ अर्ब २ करोड १२ लाख ३७ हजारको बजेट पेस गरिन् । खड्गीले पेस गरेको बजेटमा बजेटका स्रोत र बजेट विनियोजनका क्षेत्र पनि उल्लेख गरिएको छ ।

खड्गीले पेस गरेको बजेटमा ४ अर्ब ९० करोड २१ लाख ५७ हजार आन्तरिक स्रोतबाट, ५ अर्ब १९ करोड र बाह्य स्रोतबाट र अन्य स्रोतबाट १ अर्ब ४ करोड ११ लाख उठ्ने अनुमान छ ।

महानगरले विनियोजन गरेको खर्चमा वडास्तरको पूर्वाधार निर्माणमा ३ अर्ब ६ करोड २५ लाख बजेट छ । त्यस्तै, कार्यालय सञ्चालन र प्रशासनिक खर्च १ अर्ब ९३ करोड हुने अनुमान छ ।

बजेटमा उल्लेख गरिएका अन्य शीर्षकअन्तर्गत शिक्षामा १ अर्ब १० करोड ४६ लाख, हनुमानढोका–स्वयम्भू जोड्ने पदमार्ग निर्माण, ढुंगेधारा संरक्षणलगायतका कार्यमा ५१ करोड ६७ लाख, काठमाडौं महानगरपालिकाले भवन निर्माण तथा गाडी तथा अन्य सम्पत्ति खरिदमा २ अर्ब ३६ करोड १ लाख बजेट विनियोजन गरेको छ ।

महानगरले पेस गरेको बजेटमा मोनोरेल, इलेक्ट्रिक बस, फ्लाई स्काई ब्रिजलगायतको पूर्वसम्भाव्यता अध्ययन तथा डीपीआरका लागि १५ करोड १० लाख रुपैयाँ छुट्याइएको छ ।