पोखरा-लेखनाथ महानगरका वरिष्ठ अधिकृत पौडेल बेपत्ता

पोखरा-लेखनाथ महानगरका वरिष्ठ अधिकृत पौडेल बेपत्ता


शनिबारबाट बेपत्ता भएका पोखरा–लेखनाथ महानगरपालिकाका वरिष्ठ सामाजिक विकास अधिकृत ओमराज पौडेलको अवस्था अझै पत्ता लागेको छैन । हिजो शनिबार बिहान ५ बजे मर्निङवाकका लागि घरबाट निस्किएका उनी बेपत्ता भएका हुन् ।

हरियो रंगको टिसर्ट लगाएर मर्निङवाकमा निस्केका उनले आफूले प्रयोग गर्ने दुईवटै मोबाइल भने घरमै छोडेका थिए । महानगरपालिकामा वरिष्ठ सामाजिक विकास अधिकृतका साथै सूचना अधिकारीको जिम्मेवारीमा रहेका पौडेलले ‘घरमा परिवारको लागि केही गर्न सकिनँ’ भनेर चिट लेखेर छाडेको परिवारले जनाएको छ ।

परिवारजनले पौडेल हराएको भन्दै प्रहरी कार्यालयमा खोजीका लागि निवेदन दिएको छ । निवेदन प्राप्त हुनासाथ कास्की प्रहरीले शनिबार बिहानैदेखि पौडेल जान सक्ने सम्भावित ठाउँमा खोजी गरिरहेको छ ।

स्थानीयले महेन्द्रपुलबाट सेती नदीमा हामफालेको भन्दै प्रहरीलाई सूचना दिएका थिए । सोही सूचनाका आधारमा शनिबार प्रहरीले सेती नदी वरपरसमेत खोजी गरेको थियो ।

बिहान साढे ५ बजे हरियो टिसर्ट लगाएको व्यक्ति सेतीमा हामफालेको देखेको र आफूले तत्कालै प्रहरीमा जानकारी गराएको स्थानीय प्रत्यक्षदर्शी शान्ति श्रेष्ठले बताइन् । प्रहरीले सेती वरपर रेस्क्यु टोली नै प्रयोग गरेर खोजी गरे पनि उनको बारेमा अझै केही पत्ता लाग्न सकेको छैन ।

पौडेल बेपत्ता भएको प्रति महानगर स्तब्ध भएको महानगरले जनाएको छ । महानगरपालिकाका प्रमुख मानबहादुर जीसीले आइतबार विज्ञप्ति जारी गर्दै उनको खोजीकार्यमा सहयोग गरिदिन महानगरवासीमा अनुरोध गर्नुका साथै धैर्यधारण गरेर बसिदिन पनि आग्रह गरेका छन् ।

नगरप्रमुख जीसीले जारी गरेको विज्ञप्तिमा पौडेलको खोजीमा कुनै कसर बाँकी नराख्ने प्रतिबद्धता उल्लेख गरेका छन् ।