युद्धमैदानमा आन्द्राभुँडी निस्किएपछि !

युद्धमैदानमा आन्द्राभुँडी निस्किएपछि !


थापाथली गोल बैठकमा श्री ३ जंगले गरेको निर्णयलाई सबै भाइभारदारहरूले समर्थन गरी वि.सं. १९१४ असार तदनुसार सन् १८५७ जुलाई २ ता.का दिन पुनः कर्णेल पहलमानसिंह बस्नेतको नेतृत्वमा कर्णेल मदनमानसिंह बस्नेतका साथ ६ हजार जवान सेना पुनः भारततर्फ पठाइयो । बरेवा (नेपाल–भारत सीमा) निर अङ्ग्रेजहरूले नेपाली सेनाको स्वागत गरे ।

नेपाली सेनाले सर्वप्रथम गोरखपुर फत्ते गरी त्यहाँ मुकाम कायम गरे । साथै गोरखपुरलाई हेडक्वार्टर बनाए । त्यसपछि कर्णेल पहलमान सिंहले ‘बज्रबहादुर र शेर’ नामक दुई पल्टन लिई सरयू–घाटतर्फ विद्रोह दमन गर्न गए । ‘सबुज र गणेश दल’ नामक दुई पल्टनको नेतृत्व गर्दै लेफ्टिनेन्ट कर्णेल शमशेर थापा आजमगढतर्फ विद्रोह दमन गर्न अगाडि बढे । सन् १८५७ अगस्ट १३ ता. का दिन आजमगढमा विद्रोह दमन गर्न नेपाली सेना सफल भए ।

सरयूघाटतर्फ विद्रोह दमन गरी पहलमानसिंह बस्नेत पुनः चार पल्टनका साथ जौनपुरतर्फ लागे । अगस्त १५ ता. का दिन जौनपुरमा पनि विद्रोह दमन गर्न नेपाली सेना सफल भयो । सरयू घाट, आजमगढ र जौनपुरमा विद्रोहीहरूसँग भयङ्कर युद्ध भयो । जौनपुरबाट ३६ माइल पर ‘चन्दा’ भन्ने ठाउँमा विद्रोहीसँग भयङ्कर युद्धको क्रममा नेपाली सेनाका कमान्डर लेफ्टिनेन्ट कर्णेल मदनमानसिंह बस्नेत तोपको गोला लागेर शहीद भए ।

त्यही देवीदत्त पल्टनका लेफ्टिनेन्ट गम्भीरसिंह रायमाझीले तोप हान्ने पाँच जवान विद्रोही सैनिक जवानहरूलाई छपाछप काटी मारे । बाँकी ३–४ जवानचाहिँ भागेछन् । रायमाझी आफू पनि विद्रोहीको तरबारको प्रहारबाट घाइते भए तापनि कत्ति पर्वाह नगरी उनले विद्रोहीको ‘तोप’ आफ्नो अधीनमा पारे । उनको पेटमा तरबारको चोट लागेकोले खप्न नसकी जमिनमा पछारिए । आन्द्रा–भुँंडीको केही भाग पेटबाहिर निस्केको देखी झोलाबाट खाना खाने कचौरा निकालेर त्यसमा बाहिर निस्केको आन्द्राभुँडी राखी कचौरासमेत पेटभित्र पसाए । त्यसपछि पटुकाले सो घाउमा पट्टी बाँधेर उनी बिस्तारै लड्दै–पड्दै–घिस्रँदै आफ्नो क्याम्पमा आइपुगे । यसरी नोभेम्बर ७ ता. का दिन नेपाली सेनाले ‘अट्टौली’को किल्लासमेत आफ्नो कब्जामा पाऱ्यो ।

भारतबाट गभर्नर जनरल लर्ड क्यानिङले पुनः थप सेनाको माग गरी श्री ३ जंगलाई टेलिग्राम पठाएको सूचना रेजिडेन्ट मेजर जर्ज ¥यामजेले सुनाए । सो टेलिग्राममा नेपाल सरकारको लागेको सम्पूर्ण खर्चसमेत कम्पनी सरकारले व्यहोर्ने र युद्ध सकिएपछि ‘पदक र पुरस्कार’ दिने कुरासमेत उल्लेख भएको रेजिडेन्ट ¥यामजेले मौखिक रूपमा सुनाए ।

(श्री ३ हरूको तथ्य वृत्तान्त, पुरुषोत्तमशमशेर जबरा)