विद्रोहको वातावरण बनाउँदै सरकार

विद्रोहको वातावरण बनाउँदै सरकार


राष्ट्रिय आत्मसम्मान र जनताको सुख–समृद्धिको नारा दिँदै भारी बहुमतका साथ सत्तामा पुगेको केपी ओली नेतृत्वको कम्युनिस्ट सरकारले काम शुरु गरेको ६ महिना नपुग्दै सरकारप्रति आलोचना र घृणा बढ्न सक्ने सम्भावना देखिएको छ । एकपछि अर्को पेसागत समुदाय चिढिँदै जाने निर्णय सरकारले लिएकोले निश्चित बिन्दुमा पुगेपछि सरकारविरुद्ध जनताले स्वस्फुर्त विद्रोह गर्न सक्ने सङ्केतहरू देखिन थालेका छन् ।

कम्युनिस्ट सरकार गठनपछि मुलुकको आर्थिक क्रियाकलापमा निराशाजनक किसिमबाट ह्रास आएको छ । अर्थमन्त्री युवराज खतिवडाको नीति र व्यवहारका कारण शेयर कारोबारमा संलग्न व्यक्ति तथा शेयर लगानीकर्ताहरू सरकारप्रति क्रूद्ध भएका छन् । खतिवडाकै कारण घरजग्गा व्यवसायीहरूमा पनि आक्रोश पैदा भएको पाइएको छ ।

सिन्डिकेट खारेजीलगायत अन्य केही विषयलाई लिएर आमयातायात व्यवसायीहरू सरकारप्रति असन्तुष्ट बनेका छन् । गैरकानुनी दबाब तथा धरपकडका कारण निर्माण व्यवसायी अर्थात् ठेकेदारहरूको समुदाय पनि सरकारप्रति क्रूद्ध भएका छन् । म्यानपावर व्यवसायको क्षेत्रमा सरकारी व्यवहारलाई लिएर म्यानपावर तथा सम्बद्ध व्यवसायमा संलग्न समुदाय सरकारविरोधी बन्न पुगेको छ ।

त्यसैगरी गैरसरकारी संस्थासँग सम्बन्धित कर्मचारी तथा सञ्चालकहरू पनि सरकारले लिएको अनुदार एवम् कठोर नीतिका कारण सरकारविरोधी बन्ने स्थितिमा पुगेका छन् । यीबाहेक अपेक्षाअनुरूप पारिश्रमिक नबढाइएकोले कर्मचारीहरू क्रूद्ध बनेका छन् भने विभिन्न क्षेत्रमा कर बढाइएको र अनियन्त्रित मूल्य वृद्धि नियन्त्रण गर्न नसकेकोले जनतामा पनि केपी ओली र उहाँको सरकारप्रतिको मोह भङ्ग हँुदै जाने परिस्थिति निर्माण भएको छ ।

यसैगरी देशका विभिन्न पेसागत समुदाय तथा आमजनतालाई आहत तुल्याउँदै जाने हो भने अर्को चुनावभन्दा धेरै पहिले नै जनताले सरकारविरुद्ध विद्रोह गर्न सक्ने सङ्केत देखिन थालेको छ ।