चीन प्रस्थान गर्नुअघि यस्ता छन् प्रधानमन्त्रीका भनाई

चीन प्रस्थान गर्नुअघि यस्ता छन् प्रधानमन्त्रीका भनाई


‘हामीले छिमेकीको संवेदनशीलतालाई बुझेका छौँ, हामी एक चीन नीतिप्रति प्रतिबद्ध र दृढ छौँ, चीनविरोधी कुनै पनि गतिविधि नेपालको भूमि प्रयोग गरेर हुन दिने छैनौँ, हामी हाम्रो राष्ट्रिय दृष्टिकोण र अडानमा कायम रही छिमेकीका अरू जायज चासो, चिन्ता र सरोकारलाई सुन्ने छौँ’

प्रधानमन्त्री केपी शर्मा ओलीले मुलुकको बृहद् हित र राष्ट्रिय स्वाभिमानलाई केन्द्रमा राखेर नेपालको आवश्यकता र प्राथमिकताका आधारमा छिमेकी मुलुक चीनसँग सहमति कायम गर्ने बताएका छन् । चीनका प्रधानमन्त्रीको औपचारिक निमन्त्रणामा आज मंगलबारदेखि हुने आफ्नो चीनको औपचारिक भ्रमणबारे सोमबार प्रतिनिधिसभामा जानकारी दिदैं उनले मुलुकको राष्ट्रिय हित र सरोकारलाई अझ व्यापक सृदृढ बनाउने उद्देश्यका साथ आफू चीन भ्रमणमा जान लागेको जानकारी दिएका हुन् ।

‘हामीले छिमेकीको संवेदनशीलतालाई बुझेका छौँ, हामी एक चीन नीतिप्रति प्रतिबद्ध र दृढ छौँ, चीनविरोधी कुनै पनि गतिविधि नेपालको भूमि प्रयोग गरेर हुन दिने छैनौँ, हामी हाम्रो राष्ट्रिय दृष्टिकोण र अडानमा कायम रही छिमेकीका अरू जायज चासो, चिन्ता र सरोकारलाई सुन्ने छौँ’– प्रधानमन्त्री ओलीको प्रष्टोक्ति थियो ।

आफ्नो भ्रमणबाट दुई देशबीचको सम्बन्ध झन् प्रबल, सुदृढ र गाढा हुँदै जाने विश्वास व्यक्त गर्दै प्रधानमन्त्री ओलीले अघिल्लोपटकको आफ्नो चीनको भ्रमणका अवसरमा भएका केही दूरगामी महत्वका सहमति र सम्झौताले यथार्थ र भविष्यको मार्ग संकेत गरेको बताए ।

यस पटकको भ्रमणका क्रममा विगतमा भएका सहमति र सम्झौताका विषयमा थप छलफल गरेर हाम्रा प्राथमिकताका बारेमा चिनियाँ नेतृत्वलाई जानकारी गराइने बताउँदै प्रधानमन्त्री ओलीले अहिले नेपालको राष्ट्रिय एजेण्डाका रूपमा विकास नै प्राथमिकता पर्ने उल्लेख गर्दै नेपालको विकास र समृद्धिका लागि चिनियाँ सहयोग, सहकार्य र लगानी आवश्यक रहेको दाबी गरे ।

उनले भने- ‘चीनले वान बेल्ट रोडको अवधारण अघि सारेको छ, तत्काल विभिन्न क्षेत्रमा कसरी मिलेर अघि जान सकिन्छ भन्नेबारे यसअघि नै सहमति भइसकेको छ ।’

‘उत्तर दक्षिण कोरिडोर र केही सडकका बारेमा सहमति हुनेछ, राष्ट्रपतिसँगको भेटमा नेपाल र चीन बीचको सम्बन्ध र सहकार्य अझ सुदृढ गर्ने दृष्टिकोणबाट कुरा राखिनेछ’, प्रधानमन्त्री ओलीले जानकारी दिए । चिनियाँ समकक्षीसँग प्रतिनिधिस्तरको भेटघाट हुने जानकारी दिँदै उनले सो भेटघाटमा नेपालको व्यापार घाटा, यातायात पूर्वाधार निर्माण, अन्तरदेशीय प्रसारण लाइन, निर्माणाधीन आयोजनाको लगानी र सहकार्यका विषयमा छलफल हुने बताए ।

रेलसेवा, ऊर्जा विकास, पुनः निर्माण लगायतका विषयमा दुई पक्षबीच सहमतिपत्रमा हस्ताक्षर हुने जानकारी दिँदै प्रधानमन्त्री ओलीले आफूले पर्यटन क्षेत्रको विकास, लगानी तथा व्यपार लगायतका कार्यक्रमलाई सम्बोधन गर्ने पनि उल्लेख गरे ।

प्रधानमन्त्री ओलीले आफ्नो भ्रमणका क्रममा चीनसँग हुने सहमति र सम्झौता बृहत्तर राष्ट्रिय हितलाई केन्द्रविन्दुमा राखेर गरिने दोहोर्याए । उनले भने– ‘चीन भ्रमणका क्रममा हुने सहमति र सम्झौतामा राष्ट्रिय स्वाभिमानमा आँच आउने एउटा काम पनि हुनेछैन, यो भ्रमणले दुई देशबीचको हित र सम्बधलाई थप सुदृढ बनाउने छ ।’

तस्बिर रासस