घाँटी रेटेर एकको हत्या

घाँटी रेटेर एकको हत्या


हिमाली जिल्ला डोल्पाको एक यार्सापाटनमा रोल्पाका एकजनाको जघन्य हत्या गरिएको छ । डोल्पो बुद्ध गाउँपालिकामा पर्ने किम्जुङ पाटनमा रोल्पाका ४२ वर्षीय कर्ण पुनमगरको घाँटी रेटेर हत्या गरिएको अवस्थामा शव भेटिएको प्रहरीले जनाएको छ ।

गएराति हत्या गरिएको अवस्थामा शव भेटिएको हो । मृतक मगर रोल्पाको उवा घर भई हाल चनौटा बस्दै आएको प्रहरीले जनाएको छ । मृतक मगर यार्सागुम्बा सङ्कलनका लागि हरेक वर्ष यही यार्सा पाटनमा आउने गरेको बताइएको छ ।

मृतकले यार्सागुम्बा बेचेर कमाएको रु. ७०–७५ हजार नगदका लागि उनको हत्या गरिएको हुन सक्ने प्रहरीले अनुमान लगाएको छ । जिप्रका डोल्पाका प्रहरी नायव उपरीक्षक हरिप्रसाद शर्माका अनुसार मगरको हत्या कसरी भयो भन्नेबारे अनुसन्धान तीव्र रूपमा भइरहेको छ ।

सञ्चारको कुनै पनि सुविधा नभएका कारण राति १ बजे प्रहरी चौकी धोमा जानकारी आएपछि तत्काल प्रहरी नायव निरीक्षकको कमान्डमा प्रहरी घटनास्थलमा पुगेको प्रनाउ शर्माको भनाइ छ ।

उनका अनुसार आजै बिहान सदरमुकाम दुनैबाट पनि प्रहरी निरीक्षकको कमान्डमा थप प्रहरी पठाइएको, तर सदरमुकामबाट उक्त घटनास्थलसम्म पुग्न तीन दिन लाग्ने भएकाले घटनाबारे थप जानकारी आउन समय लाग्नेछ ।

प्रहरी चौकी धोबाट घटना घटेको पाटनसम्म जान चार घन्टाभन्दा धेरै समय लाग्ने गरेको स्थानीयवासी बताउँछन् । भौगोलिक विकटता र घटना घटेको स्थान निकै जोखिम भएका कारण शव ल्याउनसमेत कठिन हुने भएको छ ।

मृतकका आफन्तलाई जानकारी गराइसकेको र निम्न आर्थिक अवस्थाका परिवारका भएका कारण शव बुझ्न आउनसमेत कठिन भएको मृतककी श्रीमतीले बताएको प्रहरीले जानकारी दिएको छ ।

प्रहरीका अनुसार मृतक पुनमगरका छोरा मुस्ताङबाट आउँदै गरेको जनाएको छ । शव परीक्षणका लागि जिल्ला सदरमुकामसम्म ल्याउनका लागि कम्तीमा पनि एक साता लाग्नेछ ।

रासस