भारतले नेपाललाई थप हवाई मार्ग उपलब्ध गराउने

भारतले नेपाललाई थप हवाई मार्ग उपलब्ध गराउने


नेपाल र भारतका प्रधानमन्त्रीले आ–आफ्ना देशका प्राविधिक टोलीसँग छलफल गरी निष्कर्षमा पुग्न निर्देशन दिएअनुसार नेपाल र भारतबीच थप हवाई मार्ग उपलब्ध गराउने विषयमा द्विपक्षीय छलफल सम्पन्न भएको छ । नेपाल र भारतका हवाई अधिकारीबीच तीन दिवसीय छलफल हिजो शनिबार सम्पन्न भएको हो ।

गत जेठ ३१ देखि दुई दिनका लागि बसेको बैठक एक दिन थप गरी शनिबार सम्पन्न भएको र उडान सुरक्षाको अध्ययनपछि नेपाललाई थप चार हवाई मार्ग उपलब्ध गराउन भारत सहमत भएको नेपाल नागरिक उड्डयन प्राधिकरणले जनाएको छ । प्राधिकरणका प्रवक्ता वीरेन्द्र श्रेष्ठद्वारा जारी प्रेस विज्ञप्तिमा उडान सुरक्षालगायतका विषयमा थप अध्ययन गरी नयाँ हवाई मार्ग उपलब्ध गराउन भारतीय अधिकारी सहमत भएको उल्लेख छ ।

नेपाल र भारतबीच थप हवाई मार्ग उपलब्ध गराउने विषयमा भएको द्विपक्षीय छलफलमा सहमति भए पनि केही विषयमा भने अध्ययन जरुरी देखिएको सो विज्ञप्तिमा उल्लेख गरिएको छ । ज्ञातव्य छ, नेपालले पूर्वदेखि पश्चिम महेन्द्रनगरसम्मका सात प्रवेश विन्दु दिन भारतसँग माग गर्दै आएको थियो ।

द्विपक्षीय छलफलमा भारतीय अधिकारीले जनकपुर–पटनाबीचको एकतर्फी हवाई मार्गलाई दुई तर्फी बनाउन सहमत भएका छन्, तर उडान सुरक्षा मूल्याङ्कन गरी सोको आधारमा मात्रै नयाँ मार्ग लागू गरिने सहमति भएको छ । यस्तै, पश्चिमतर्फ महेन्द्रनगर हुँदै कम उचाईमा उडान गर्ने वायुयानका लागि हाल सञ्चालनमा रहेको काठमाडौँ–महेन्द्रनगर–दिल्ली हवाई रुटलाई दुईतर्फी बनाउन दुबै पक्षको सहमतिमा उडान सुरक्षा मूल्याङ्कन गरी लागू गरिने भएको छ ।

पूर्वमा विराटनगर र जनकपुरबाट प्रवेश विन्दुका लागि काठमाडौंदेखि विराटनगर र काठमाडौँ–जनकपुरबीचको हवाई मार्गसमेत दुईतर्फी बनाउने सहमति भए पनि त्यसमा उडान सुरक्षा मूल्याङ्कनको आधारमा सो मार्गमा वायुयान प्रवेश गर्नसक्ने व्यवस्था मिलाइने भएको छ ।

निर्माणाधीन गौतमबुद्ध, पोखरा र निजगढ विमानस्थलमा बढी उचाइमा उडान भर्ने अन्तर्राष्ट्रिय वायुयानका लागि नेपालगन्ज तथा महेन्द्रनगरबाट प्रवेशमार्ग उपलब्ध गराउनुपर्ने नेपालको प्रस्तावमा भारतीय अधिकारीले प्राविधिक मूल्याङ्कन गर्नुपर्ने विषय उठाएका थिए । तर, सो मार्गका बारेमा भने सन् २०१८ को सेप्टेम्बरभित्र विस्तृत प्राविधिक मूल्याङ्कन गर्ने सहमति भएको छ ।

नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान) र भारतको ‘एयरपोर्टस् अथोरिटी अफ इण्डिया (एएआई) प्रतिनिधिबीच भएको वार्तामा नेपाली पक्षका तर्फबाट प्राधिकरणका उपमहानिर्देशक एवम् एयर नेभिगेशन प्रमुख नरेन्द्रबहादुर थापा र भारतीय पक्षको नेतृत्व एयर नेभिगेशन प्रमुख एके दत्ताले गरेका थिए ।

नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान)का उप महानिर्देशक राजन पोखरेलका अनुसार महेन्द्रनगरको उचाइको मार्ग र नेपालगन्ज प्रवेश गर्ने थप मार्ग उपलब्ध गराउन आग्रह गरेको भए पनि सेप्टेम्बरसम्म पर्खनुपर्ने भएको छ । उडान सुरक्षाका विषयमा अध्ययन गरेर मात्रै सो मार्ग प्रयोगका बारेमा द्विपक्षीय सहमति हुनेछ ।

बताइएअनुसार थप मार्गका विषयमा सहमति भए पनि अन्तर्राष्ट्रिय नागरिक उड्डयन संगठन (आइकाओ)ले स्वीकृति दिनुपर्ने भएकाले अझै केही समय लाग्ने देखिएको छ । छलफल सकारात्मक भए पनि नेपालले माग्दै आएको थप हवाई मार्गका बारेमा भने अझै केही समय प्रतीक्षा गर्नुपर्ने देखिएको छ । हाल भारत हुँदैआएका विमान एउटा विन्दुबाट मात्र नेपाल प्रवेश गर्छन् । अर्थात्, सिमराको आकाशबाट मात्रै अन्तर्राष्ट्रिय वायुसेवाका जहाज काठमाडौँस्थित त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गर्ने गरेका छन् । भारत, हङकङ, थाइल्याण्ड, बंगलादेश, मलेसिया, सिंगापुरलगायतबाट आउने जहाज सिमरा नजिकै रहेको रोमियो केन्द्र भएर प्रवेश गर्ने गरेका छन् । यस्तै, नेपालबाट बाहिरिनका लागि भैरहवा, भीमदत्तनगर, सिमरा, जनकपुर र विराटनगरको आकाश प्रयोग गर्नुपर्छ । चीनबाट नेपाल भित्रिने जहाज भने सगरमाथा केन्द्र हुँदै नेपाल प्रवेश गर्ने गरेका छन् ।

गत चैत २३ देखि २५ गतेसम्म प्रधानमन्त्री केपी शर्मा ओलीद्वारा गरिएको भारत भ्रमण र गत वैशाख २८ र २९ गते भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीबाट भएको नेपाल भ्रमणका क्रममा थप हवाई मार्ग उपलब्ध गराउने विषयमा भएको सहमतिका आधारमा दुई देशका हवाई अधिकारीको बैठक भएको हो ।


(नेपाल र भारतबीच थप हवाई मार्ग उपलब्ध गराउने विषयमा सहमतिपत्रमा हस्ताक्षर गर्दै नेपाल नागरिक उड्डयन प्राधिकरणका एयर नेभिगेसन प्रमुख नरेन्द्रबहादुर थापा र एयरपोर्टस अथोरिटी अफ इण्डियाका एयर नेभिगेसन प्रमुख एके दत्ता । तस्बिर : रासस)