सबै प्रदेशले आज बजेट ल्याउँदै

सबै प्रदेशले आज बजेट ल्याउँदै


देश संघीय संरचनामा गएपछि पहिलोपटक सातवटै प्रदेश सरकारले आज बजेट प्रस्तुत गर्दैछन् । असार १ भित्र प्रदेश सरकारले आगामी वर्षको आय–व्यय विवरणसहितको बजेट प्रस्तुत गर्नुपर्ने संविधानमा प्रावधान छ । सोही अनुरुप प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०७५-७६ को लागि बजेट ल्याउन लागेका हुन् ।

गत जेठ १५ गते केन्द्र सरकारले १३ खर्ब, १५ अर्ब १६ करोड १७ लाखको अनुमानित बजेट सार्वजनिक गरेको थियो । प्रदेश तहलाई केन्द्र सरकारले १ खर्ब ८३ अर्ब ८५ करोड रुपैयाँ विनियोजन गरिसकेको छ । प्रदेश सरकारले उक्त विनियोजित बजेट र आफ्नो आन्तरिक स्रोतको विश्लेषण गरेर बजेट प्रस्तुत गर्नुपर्ने अर्थमन्त्रालयले जनाएको छ ।

प्रदेश सरकारले यसअघि नै आफ्ना नीति तथा कार्यक्रम सार्वजनिक गरिसकेको र सोही नीति तथा कार्यक्रमको दायरामा रहेर सात वटै प्रदेश सरकारले बजेट ल्याउने अर्थमन्त्रालयले जनाएको छ ।

प्रदेश सरकारका आर्थिक मामिला तथा योजना मन्त्रीले आज संसदमा बजेट प्रस्तुत गर्नेछन् ।