सडक सुविधासँगै हवाई यात्रु घटे

32 Shares

नारायणगढ–मुग्लिन सडकखण्ड सञ्चालनमा आएसँगै हवाई यात्रा गर्ने यात्रुको चाप घटेकोे छ । जेठ २३ गतेदेखि नारायणगढ–मुग्लिन सडकखण्ड चौबीसै घन्टा सञ्चालनमा आएसँगै भरतपुरबाट काठमाडौं आवतजावत गर्ने हवाई यात्रुको चाप घट्दै गएको हो ।

भरतपुर विमानस्थलका प्रमुख पवनकुमार गौतमका अनुसार अहिले हवाई यात्रुको चाप ४० प्रतिशतले कमी आएको छ । एक महिनाअघि दैनिक १४ देखि १६ वटासम्म उडान भएको भरतपुर विमानस्थलमा अहिले दैनिक आठवटामा सीमित भएको छ ।

बिहानको समयमा उडान नहुनु र सडक सहज हुनुले हवाई यात्रुको संख्यामा कमी आएको उनले बताए । यस क्षेत्रका व्यवसायीसँग आफ्नै सवारीसाधन भएका कारण जहाजको यात्रा गर्नुभन्दा बिहानको समयमा गाडीमा नै यात्रा गर्ने गरेको प्रमुख गौतम बताउँछन्

सडक निर्माणका क्रममा दिउँसो सवारी आवागमन रोकिएको र त्यसको चाप बिहानबेलुका परेपछि धेरैको रोजाइ हवाई यात्रा भएको थियो । अहिले पर्यटक आउने समय पनि नभएकाले हवाई यात्रा गर्नेको संख्यामा कमी आएको बुद्ध एयरलाइन्सका शाखा प्रबन्धक भक्तबहादुर बस्नेतले बताए ।

मौसममा आएको परिवर्तन र लामो समय कुर्नुपर्ने बाध्यताका कारण यात्रुले विकल्प खोजेको हुन सक्ने उनको भनाइ थियो । दिनभर विमानस्थलमा बसेर मौसम र काठमाडौं विमानस्थलमा ट्राफिक जाम भन्दै उडान स्थगित भएपछि जानै नपाउने बाध्यता एकातर्फ छ भने भाडादर उच्च भएको र मितव्ययी टिकट नदिँदा पनि यात्रु रुष्ट थिए ।

कुनै समय दैनिक १२ वटासम्म उडान भरेको बुद्ध एयर अहिले दैनिक पाँचवटामा झरेको छ । जसमध्ये चारवटा काठमाडौं–भरतपुर र एउटा भरतपुर–पोखरा उडान गर्दै आएको छ । यती एयरलाइन्सले भरतपुर–काठमाडौं दैनिक पाँचवटासम्म उडान भर्दै आएकामा अहिले दुईवटा मात्रै उडान भर्दै आएको छ । सिम्रिक एयरले भरतपुर–काठमाडौं पहिलेदेखि नै एउटा मात्रै उडान भर्दै आएको छ ।

यती एयरलाइन्स भरतपुरका शाखा प्रमुख राजेश सिंहले सडक निर्माणसँगै यात्रुको चाप पहिलाको तुलनामा घटेको स्वीकार गरे । पहिलेको तुलनामा यात्रुको चाप ४० देखि ५० प्रतिशतसम्म कमी आएको उल्लेख गर्दै उनले भने, ‘नारायणगढ–मुग्लिन सडक सञ्चालनमा आएसँगै यात्रुको चापमा कमी आएको छ ।’

भरतपुर विमानस्थलबाट पहिला दैनिक एक हजारको हाराहारीमा यात्रुले हवाई यात्रा गर्ने गरेको भए पनि अहिले घटेर ५७५ मा झरेको छ ।

32 Shares

प्रतिक्रिया