माथिल्लो तामाकोशीको लागत २४ अर्ब बढ्ने अनुमान

माथिल्लो तामाकोशीको लागत २४ अर्ब बढ्ने अनुमान


जडित क्षमता ४५६ मेगावाटको माथिल्लो तामाकोशीको लागत बढ्ने भएको छ । ३५ अर्ब २९ करोड ४१ लाख लागत अनुमान गरिएको आयोजना निर्माण सम्पन्न भइसक्दा २४ अर्ब बढेर ६५ अर्ब पुग्ने अनुमान गरिएको हो ।

स्वदेशी लगानीमा निर्माणाधीन नेपालकै ठूलो यो आयोजना भूकम्प, नाकाबन्दी, विदेशी मुद्रामा भएको बढोत्तरी लगायतको कारणले हाल ४९ अर्ब २९ करोड ५५ लाख पुगेको आयोजनाको दावी छ । आयोजनाका अनुसार माथिल्लो तामाकोशी सम्पन्न हुँदा ब्याजसहित करिब ६५ अर्ब लागत पुग्ने अनुमान गरिएको हो । जहाँ आयोजना निर्माण सुरु हुँदाको समयमा ब्याजसहित ४१ अर्ब रुपैयाँ लागत अनुमान गरिएको थियो ।

कुल ९६ प्रतिशत काम पूरा भएको आयोजना आगामी हिउँदभित्रै निर्माण सम्पन्न गर्ने लक्ष्य लिइएको छ । माथिल्लो तामाकोशी हाइड्रो पावरका प्रमुख कार्यकारी अधिकृत विज्ञान श्रेष्ठका अनुसार सिभिल, हाइड्रोमेकानिकल, मेकानिकल तथा इलेक्ट्रिकल, प्रसारण तथा सवस्टेशनका साथै प्रवेश मार्ग, निर्माण सुपरीवेक्षण परामर्श सेवा, प्रशासनिक खर्च, जग्गाको मुआब्जा तथा वातावरण व्यवस्थापन लगायतमा पहिलाको तुलनामा १७ प्रतिशत बढेर ४१ अर्ब २५ करोड ८८ लाख रुपैयाँ पुगेको छ ।

यस्तै, सिभिल, हाइड्रोमेकानिकल, मेकानिकल तथा इलेक्ट्रिकल, प्रसारण तथा सवस्टेशनको लागत बढेर ३३ अर्ब ५६ करोड ९१ लाख तथा पहुँच मार्ग, पुर्वाधार, इन्जिनियरिङ, निर्माण अनुगमन लगायतको लागत ७ अर्ब ६८ करोड ९६ लाख रुपैयाँ पुगेको आयोजनाले जनाएको छ ।