आतङ्ककारी हमलापछि ब्युँतियो वल्र्ड ट्रेड सेन्टरको ८० तले गगनचुम्बी

आतङ्ककारी हमलापछि ब्युँतियो वल्र्ड ट्रेड सेन्टरको ८० तले गगनचुम्बी


मनोज रिजाल, न्युयोर्क

सेप्टेम्बर ११, सन् २००१ को आतङ्ककारी हमलाबाट ध्वस्त भएको न्युयोर्क शहरको वल्र्ड ट्रेड सेन्टरको पुनर्निर्माणको क्रममा १, ४ र ७ नम्बर गगनचुम्बी भवनहरू केही वर्षअघि अस्तित्वमा आएसँगै ३ नम्बर गगनचुम्बी भवन पनि जुन ११, सन् २०१८ मा अस्तित्वमा आएको छ ।

एक भव्य समारोहबीच उद्घाटन गरिएको उक्त भवन ८० तलाको छ, १०७९ फिट अग्लो छ र अत्याधुनिक प्रविधिको प्रयोग गरेर बनाइएको छ ।

कार्यक्रमलाई सम्बोधन गर्दै न्युयोर्क राज्यका गभर्नर एन्ड्रयु कुमोले उक्त भवनको निर्माण सम्पन्न हुनु आतङ्ककारी हमलापछि पनि न्युयोर्कवासीको अटल आत्मविश्वास र दृढनिश्चयको प्रमाण रहेको बताए ।

‘यो भवनको निर्माणले न्युयोर्क शहर विश्वको आर्थिक राजधानी बनिरहोस् भन्ने हाम्रो प्रयास र कामनालाई सघाउ पुऱ्याउनेछ,’ गभर्नर कुमोले भने ।

यसैगरी, न्युयोर्क सिटीका मेयर बिल डी ब्लासियोले ठूलो शोक र सन्तापपश्चात् यो स्थितिसम्म आइपुगिएको उल्लेख गरे ।

‘हामी अझ धेरै साहसी, बलिया र विश्वको निम्ति अझ धेरै खुला शहरको रूपमा अगाडि आएका छौँ,’ मेयर ब्लासियोले भने ।

वल्र्ड ट्रेड सेन्टरका भवनहरूमध्ये सबैभन्दा अग्लो १ नम्बर भवन हो, जुन फ्रिडम टावरका नामले प्रख्यात छ । जमिनमुनिको पाँच तलासमेत गरेर यो १०९ तलाको छ र १७७६ फिट अग्लो छ ।

सेप्टेम्बर ११ को आतङ्ककारी हमलामा ध्वस्त भएका वल्र्ड ट्रेड सेन्टरका दुई समरूप भवनहरू (ट्विन टावर्स) अहिले अस्तित्वमा छैनन् । उक्त स्थानलाई खाली नै राखेर मृतकहरूको सम्झनामा स्मारकको रूपमा विकास गरिएको छ । उक्त हमलामा ३००० व्यक्तिको मृत्यु भएको थियो भने ६००० भन्दा बढी घाइते भएका थिए ।

(फोटो सौजन्य : जुलियन स्वोर्त, साना किरन : एफपीसी)