देउवाले विधान र सहमति नमानेको कोइरालाको आरोप

देउवाले विधान र सहमति नमानेको कोइरालाको आरोप


नेपाली काङ्ग्रेसका केन्द्रीय सदस्य डा. शेखर कोइरालाले पार्टीको १४औँ महाधिवेशन चाँडै गर्नुपर्ने बताएका छन् ।

विराटनगरस्थित कोइरालानिवासमा आज बुधबार पत्रकारसँगको भेटघाटमा केन्द्रीय सदस्य कोइरालाले पार्टीको महासमितिको बैठकमा विधान पारित गरेर महाधिवेशनको प्रक्रियामा जानुपर्ने औँल्याए । सो अवसरमा उनले पार्टी सभापति शेरबहादुर देउवाले सहमति र विधान नमान्ने गरेको आरोप लगाउँदै पार्टी एकढिक्का हुन नसकेकामा चिन्ता व्यक्त गरे ।

कोइरालाले सरकारविरुद्ध आन्दोलन गर्ने बेला नआएको स्पष्ट पार्दै तर मुलुकमा दण्डहीनता बढेको आरोप लगाए । प्रादेशिक संरचना भएका मुलुकका प्रधानमन्त्रीले कहीँ पनि प्रदेशको संसद्लाई सम्बोधन नगर्ने गरिएको बताउँदै नेता कोइरालाले प्रधानमन्त्रीले प्रदेशको संसद्लाई सम्बोधन गरेर अलोकतान्त्रिक चरित्र देखाएको आरोप लगाए ।

सातै प्रदेशका लागि सङ्घीय सरकारले कुल बजेटको नौ प्रतिशत मात्र छुट्याएकाले प्रदेशको विकास निर्माण प्रभावित हुने उनको धारणा छ । पत्रकारको जिज्ञासामा उनले कार्यकारी राष्ट्रपति राखेमा मुलुक अधिनायकवाद तथा निरङ्कुशता र सर्वसत्तावादतर्फ अग्रसर हुने सम्भावना व्यक्त गरे ।