शशाङ्कमाथि पनि शङ्का

शशाङ्कमाथि पनि शङ्का


दिवङ्गत नेता खुमबहादुर खड्कालाई सर्वाधिक गहिरो चोट पुऱ्याउन विमलेन्द्र निधिलगायतबाट प्रयोग भएका पात्र दिलबहादुर घर्ती र स्वर्गीय नेतापत्नी शीला खड्का दुवैलाई काङ्ग्रेस सभापति शेरबहादुर देउवाले एकसाथ पार्टीको केन्द्रीय कार्यसमितिमा मनोनयन गरेका छन् ।

देउवाले तेह्रौँ महाधिवेशनका क्रममा धेरैलाई केन्द्रीय सदस्य बनाइदिने विश्वास दिलाएका थिए । आश्वासन पाएकामध्ये युवानेता डा. अमरेशकुमार सिंह अलिक बढी नै विश्वस्त रहेको बताइन्छ । तेह्रौँ महाधिवेशनमा देउवालाई सभापतिमा विजयी बनाउन विशेष भूमिका निर्वाह गरेका अमरेशलाई पहिलो चरणमा नै केन्द्रीय सदस्य बनाउने वचनबद्धता देउवाले प्रकट गरेका थिए । तर, अमरेश परेनन्, उनलाई केन्द्रीय समितिको आकार केही बढाएपछि मात्र मनोनयन गरिने आश्वासन दिइएको छ ।

आरजु राणा र विमलेन्द्र निधिको संयुक्त प्रयासमा अमरेश सिंहलाई केन्द्रीय सदस्य बन्नबाट रोकिएको चर्चा काङ्ग्रेस वृत्तमा चलेको छ । ‘आफूलाई कहिल्यै नभेट्ने, सम्पर्क नगर्ने र देखादेख हुँदा नमस्कारसम्म नगर्ने’ भन्दै आरजु डा. अमरेशप्रति सकारात्मक नरहेको बताइएको छ ।

त्यस्तै दुई नम्बर प्रदेशको एकछत्र काङ्ग्रेस नेता बन्ने प्रयासमा रहेका विमलेन्द्र निधिले उक्त प्रदेशबाट नेताका रूपमा स्थापित हुन अन्य कसैलाई नदिने सोच बनाएकोले निधिको सोचको सिकार अमरेश बन्न पुगेका छन् । गत आमनिर्वाचनमा तात्कालिक जनकपुर अञ्चलभरिबाट विजयी बन्ने काङ्ग्रेसका एक मात्र अमरेश हुन् । सोही अञ्चलको धनुषाबाट चुनाव लडेर निधि नराम्रोसँग पराजित भएका ‘नेता’ हुन् ।

शशाङ्क, सिटौला, आरजु र विमलेन्द्रलाई खुसी बनाउन केन्द्रीय समिति सदस्यमा गरिएको मनोनयनले सम्बन्धित व्यक्तिहरूलाई प्रसन्न बनाएको भए पनि सन्तुलन र आवश्यकताको दृष्टिले यस नियुक्तिलाई अनुपयुक्त ठानिएको छ ।

आफ्नी पत्नी र विमलेन्द्र निधिलाई खुसी तुल्याउन अमरेशलाई केन्द्रीय सदस्य नबनाउने देउवाले कृष्ण सिटौलालाई प्रसन्न राख्न काभ्रेका शिव हुमागाईंलाई केन्द्रीय सदस्य मनोनयन गरेका छन् । तर, एक सूत्रले जनाएअनुसार भीमसेनदास प्रधान र गगन थापालगायतको एउटा उपगुटको आग्रहमा हुमागार्इंलाई केन्द्रीय सदस्य बनाइएको हो । दिलबहादुर घर्तीलाई डा. शशाङ्क कोइरालाको सिफारिसमा नियुक्त गरिएको छ ।

खुमबहादुर खड्कालाई जीवनभर चुनावमा उम्मेदवार बन्नबाट वञ्चित गर्ने कानुन बनाउन मुख्य भूमिका निर्वाह गरेका घर्तीलाई केन्द्रीय सदस्य बनाउन शशाङ्कको सिफारिस हुनुले केही रहस्योद्घाटन गरेको छ । स्मरणीय छ, शशाङ्क कोइराला र खुमबहादुर खड्काबीच बारम्बार भेटघाट तथा संवाद भइरहन्थ्यो ।

घर्तीले खुमबहादुरलाई चुनावमा उम्मेदवार बन्न निषेध गर्नेगरी कानुन निर्माण गर्न लाग्दा शशाङ्कले खुमबहादुर खड्कालाई ‘कुनै हालतमा त्यस्तो कानुन बन्न नदिने र दिलबहादुरलाई ‘त्यसो’ गर्नबाट रोक्ने वचन दिएका थिए । खड्का शशाङ्कप्रति अलिक बढी नै सकारात्मक र विश्वस्त थिए । अहिले शशाङ्कले अन्य कोही योग्य व्यक्ति नभएझैँ गरी दिलबहादुरलाई केन्द्रीय सदस्य सिफारिस गर्नुले शशाङ्क पनि खुमबहादुरविरुद्धको षड्यन्त्रमा सामेल रहेछन् भन्ने ठानिएको छ ।

शशाङ्क, सिटौला, आरजु र विमलेन्द्रलाई खुसी बनाउन केन्द्रीय समिति सदस्यमा गरिएको मनोनयनले सम्बन्धित व्यक्तिहरूलाई प्रसन्न बनाएको भए पनि सन्तुलन र आवश्यकताको दृष्टिले यस नियुक्तिलाई अनुपयुक्त ठानिएको छ । खुमबहादुर खड्काकी धर्मपत्नी शीला खड्कालाई नियुक्त गरिनुलाई स्वाभाविक र उपयुक्त मानिए पनि घर्ती र हुमागाईंको नियुक्तिलाई काङ्ग्रेसभित्र सकारात्मक रूपमा लिइएको छैन । यसले देउवाविरुद्धको वातावरण बनाउन थप सहयोग पु¥याएको छ ।