सिङ्गापुर वार्ता सम्पन्न, राष्ट्रपति ट्रम्पद्वारा किमको प्रशंसा

सिङ्गापुर वार्ता सम्पन्न, राष्ट्रपति ट्रम्पद्वारा किमको प्रशंसा


विश्वले नै तीब्र रुपमा प्रतिक्षा गरेको अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र उत्तर कोरियाली नेता किम जोङ उनबीचको शिखर वार्ता मङ्गलबार बिहान सिङ्गापुरमा सम्पन्न भएको छ । दुवै जनाबीच अनुवादक मात्र राखेर सिङ्गापुरको एक होटलमा एक्लाएक्लै गरिएको सो वार्ता ३८ मिनेट चलेको र निकै सकारात्मक रुपमा सम्पन्न भएको अमेरिकी राष्ट्रपति ट्रम्पलाई उद्धृत गर्दै एजेन्सीहरुले जनाएका छन् ।

वार्तापछि राष्ट्रपति ट्रम्पले भने– ‘किम र मबीच बेग्लै नाता जोडिएको महसुस गरेको छु । वास्तवमा उनी निकै प्रतिभाशाली छन् र आफ्नो देशलाई निकै माया गर्छन् । मलाई सोध्नुहुन्छ भने वार्तामा एकदम राम्रो प्रगति भएको छ, यस वार्ताले हामीलाई एकदम सफलता दिनेछ ।’ मंगलबारको वार्ताले भोलिका लागि पनि सकारात्मक वातावरण निर्माण गरेको ट्रम्पको भनाई छ ।

वार्तामा प्रवेश गर्नुअघि पनि राष्ट्रपति ट्रम्प पत्रकारहरूसँग आशावादी देखिएका थिए । त्यस समयमा संक्षिप्त कुरा गर्दै उनले उत्तर कोरियाली नेता किमसँग अहिलेसम्म नभएको सम्बन्धको विकास हुने बताएका थिथए ।

वार्ताका लागि एक स्थानीय होटलमा प्रवेश गर्नुअघि दुवै नेताले होटल बाहिरै हात मिलाएका थिए ।

यसरी हात मिलाएपछि विश्वका सञ्चारमाध्यमहरुले अमेरिकाको बहालवाला राष्ट्रपति र उत्तर कोरियाली नेताबीच पहिलो पटक ऐतिहासिक भेट भएको भनेर प्रचार सुरु गरेका थिए ।

वार्तामा बस्नुअघि उत्तर कोरियाली नेता किमले भनेका थिए– यस वार्ताका लागि सिङ्गापुरसम्म आइपुग्न सजिलो थिएन, कैयौँ अप्ठ्याराहरू थिए तर हामी आयौँ ।

सिङ्गापुरको पर्यटकीय टापु सेन्टोसास्थित कापेला होटलमा अमेरिकी राष्ट्रपति ट्रम्प र उत्तर कोरियाली नेता किमले एक अर्कासँग हात मिलाएर हाँसेको सन्दर्भ सुखद र चर्चित रह्यो ।

दुवै राष्ट्र्रप्रमुखले हात मिलाउने स्थानमा अमेरिका र उत्तर कोरियाको झण्डा राखिएको थियो । राष्ट्रपति ट्रम्प अमेरिकाको झण्डा भएतिर गए र नेता किम उत्तर कोरियाको झण्डा भएको स्थानमा पुगेका थिए ।

उनीहरुले आ–आफ्नो देशका राष्ट्रिय झण्डासामु उभिएर पहिला हात मिलाए, एक अर्काको पिठ्यूँमा धाप मारे र सञ्चारका लागि फोटो खिच्न केही सेकेन्ड उभिएका थिए ।

त्यसपछि सोही स्थानमा उभिएका आ–आफ्ना अनुवादकहरूको सहयोगमा केही शब्द आदानप्रदान गरेर एक्लाएक्लै वार्ताका लागि होटलको अर्कै कक्षमा प्रवेश गरेका थिए ।

ऐतिहासिक भेतवार्ता पछि अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र उत्तर कोरियाली नेता किम जोङ उनले सहमतिको लामो दस्ताबेजमा हस्ताक्षर गरेका छन् । दुवै नेताहरु सम्भवतः मंगलबार नै स्वदेश फर्कने एजेन्सीहरुले जनाएका छन् ।

तस्बिर एपी