आस्थाका व्यापारी नै सनातन संस्कृतिका विनाशक !

आस्थाका व्यापारी नै सनातन संस्कृतिका विनाशक !


– स्वयम्भूनाथ कार्की

नेपाल धर्मनिरपेक्ष देश घोषणापछि आस्थाका व्यापारीहरूको बिगबिगी बढेको छ । यहाँ आस्थाको व्यापारी भन्नाले धर्मको लोभ देखाई कसैको आस्थाको शोषण गर्ने महन्त, स्वामी आदिलाई भनिएको हो । धर्मनिरपेक्षको घोषणाले यस्तालाई अर्को हाताहात बिक्री हुने ‘माल’ दिएको छ हिन्दूराज्य ।

नेपाल सनातन परम्पराबाहुल्य मुलुक थियो र हो । तर, सनातनका अङ्गहरूलाई हिन्दुत्वको नाममा अलग गर्ने बनारसी पण्डा संस्कृतिले नेपाल विकृत हुँदै छ । यो हिन्दूधर्म भनिने सनातन परम्पराको विनाशतिरको यात्रा हो ।

मध्ययुगमा छुवाछुत तथा भेदभावको कोढ यिनै धर्मका व्याख्याता हौँ, भगवान्को सर्वाधिकारका स्वामी हौँ भन्नेहरूले टाँसेका थिए । यसको दुष्प्रभावले आज समाज नै आक्रान्त छ । त्यसमाथि मान्छेको आस्थाको दुरुपयोग गरेर कुनै व्यक्ति, संस्था, समुदाय आदिले अर्थलाभ गर्नु घोर पाप हो भने त्यस अर्थोपार्जन अनुष्ठानमा पुण्य हुन्छ भनेर दान दिनु पनि पाप नै हो ।

यो कुरा शास्त्रोक्त हो, सनातन मान्यता हो । दान धनको लालसा भएकोलाई दिनु अकर्म हो भन्ने अर्थ लाग्ने श्लोकहरूले शास्त्र भरिएका छन्, जुन श्लोकहरू धनलोलुप पुराणवाचक वा आचार्यहरू उल्लेख नै गर्दैनन् । गरिहाले भने पनि सकभर शब्दाजालमा अर्थ नै नबुझिने गरेर गर्ने गर्दछन् ।

कुनै लक्ष्य वा उद्देश्यको निमित्त दान दिइनु वा लिइनु सर्वथा उचित हो । तर, दान दिन कुनै किसिमको आकर्षण या प्रलोभन दिनु पाप हो । अझ यसको निमित्त धार्मिक आयोजनहरूलाई साधन बनाइनु अनुचित हो । आफ्नो क्षमताभन्दा ज्यादाको दान केवल कीर्तिको निमित्त दिनुलाई कुनै पनि शास्त्रले पुुण्य भनेको छैन, त्यसलाई पाप नै मानेको छ । यसै कुरालाई बुझाउन शास्त्रहरूमा आर्थिक–सामाजिक स्तरअनुसार दानको अधिकतम मात्रा तोकेको छ ।

परमात्मा, भगवान्, ईश्वर भनेको सबैलाई समान रूपले आततायीलाई दण्ड दिने, सज्जनको संरक्षण गर्ने शक्ति हो । कसैले मात्र धनको बलमा अरूभन्दा विशेष व्यवहार कुनै देवालय, उपाशनास्थलमा पाउँछ भने त्यस्तो विशेष व्यवहार दिने र पाउने दुवैले निर्धा, आशक्त, गरिब दरिद्रमाथि अन्याय गरिरहेका हुन्छन् । यस्तो अन्यायलाई नै पाप भनेर शास्त्रले भन्छन् ।

चाहे पशुपतिनाथको मन्दिर होस् वा तिरुपति बालाजी, धनको बलमा छोटो बाटोबाट दर्शन गराउने तथा गर्ने दुवैले पाप नै गरेका छन्, सर्वशक्तिमान भगवान्को अपमान गरेका छन् । हिन्दूधर्ममा नसक्ने दीनदुःखीहरूको आस्था घटाउँदै गएका छन् । धर्म परिवर्तनलाई मलजल गर्दै गएका छन् । अहिले त पुराण वा यस्तै अनुष्ठानहरूमा विभिन्न उपासनाको मूल्यसूची नै प्रकाशन गर्ने निर्लज्जता आम भएको छ । साधारण आरती रु. यति, डिलक्स आरती रु. यति लेखिएका निम्ता प्रचार सामग्रीले मन्दिर पसलमा भएको मेनु कार्ड सम्झाउँछ– ह्विस्की प्रतिपेग रु. यति, रम प्रतिपेग रु. यति । आफैं धनेश्वर हुने अनि ईश्वरप्रति अनास्था फैलाउने यस्ता धर्म व्यापारीहरूलाई तह लगाउन आवश्यक छ ।

चाहे पशुपतिनाथको मन्दिर होस् वा तिरुपति बालाजी, धनको बलमा छोटो बाटोबाट दर्शन गराउने तथा गर्ने दुवैले पाप नै गरेका छन्, सर्वशक्तिमान भगवान्को अपमान गरेका छन् । हिन्दूधर्ममा नसक्ने दीनदुःखीहरूको आस्था घटाउँदै गएका छन् । धर्म परिवर्तनलाई मलजल गर्दै गएका छन् ।

छुवाछुत तथा भेदभावको कुरीतिले दीनदुःखी पीडितहरूलाई आत्मसम्मानको निमित्त पनि धर्म परिवर्तन गर्न उत्प्रेरित गरिरहेको छ । यस्तो अवस्थामा धर्मको व्यापारीकरणले अझ बल पुऱ्याएको छ । भएका कुरीतिहरू समाप्त पारेर स्वधर्मी बन्धुहरूमा वितृष्णा मेट्नुको साटो अझ भक्तिलाई धनले नाप्ने नयाँ कुरीति पैदा भएको छ ।

अहिले त पुराण वा यस्तै अनुष्ठानहरूमा विभिन्न उपासनाको मूल्यसूची नै प्रकाशन गर्ने निर्लज्जता आम भएको छ । साधारण आरती रु. यति, डिलक्स आरती रु. यति लेखिएका निम्ता प्रचार सामग्रीले मन्दिर पसलमा भएको मेनु कार्ड सम्झाउँछ– ह्विस्की प्रतिपेग रु. यति, रम प्रतिपेग रु. यति । आफैं धनेश्वर हुने अनि ईश्वरप्रति अनास्था फैलाउने यस्ता धर्म व्यापारीहरूलाई तह लगाउन आवश्यक छ ।

सामाजिक दायित्व पूरा गर्न गरिने दान असहाय, आशक्तहरूको जीवन सरल बनाउन, तिनीहरूको प्राण धान्न, तिनीहरूको औषधोपचार आदिमा प्रयोग गरिने गर्दछ । यस्ता दानधन वा कर्म कुनै एक वा दुवैले गरिने गर्दछ । यो दयाभाव मात्र होइन सामाजिक दायित्व हो । यस्तो दायित्व पूरा नगर्नेलाई हिन्दूधर्मले जडवत भन्दछ, अर्थात् त्यो प्राणी नै होइन जडवस्तु हो ।

आफैंले नसके पनि त्यस्ता परोपकारी काम गर्नेलाई सघाउँदा पनि केही मात्रामा दायित्व पूरा हुन्छ । कीर्ति राख्न गरिने दानमा आफ्नो वा आफूले चाहेको कसैको नाममा दान गरिन्छ वा कुनै संरचना, संस्था स्थापित गरिन्छ । कीर्ति राख्ने मनायले गरिने यस्तो दान वा कर्मको फल कीर्तिको रूपमा तुरुन्तै प्राप्त हुन्छ ।

यदि नाम नरहने गरी दान वा काम गरिएको छ भने यो पनि उत्तम श्रेणीमा पर्दछ । गुप्तदानको यहाँ महिमा छ । पुण्य प्राप्तिको निमित्त गरिने दान धर्महरू तेस्रो श्रेणीका दान हुन् । मन्दिरमा, पूजामा, पुराणमा वा यस्तै अन्य अनुष्ठानमा यस्तो दान गरिने गर्दछ ।

यस दानमा दान दिएर मात्र हुदैन, सुपात्रलाई दान दिएको फल हुन्छ भने कुपात्रलाई दान दिएमा फल उल्टो हुन्छ । अर्थात दान पाउनेको पात्रता जाँच्न आवश्यक छ । दान दिएपछि त्यो दानको के उपभोग भयो भनेर खोजेमा दान निष्फल हुन्छ भनिन्छ ।

अहिले धर्म व्यापारीहरूलाई दिइने दान यीमध्ये कुनै श्रेणीमा पर्दैन । यो शुद्ध रूपमा व्यापारको लगानीजस्तो मात्र हो । यसलाई धर्ममा जोड्दा लिने–दिने दुवैलाई पाप लाग्छ ।