एसएसपी खत्रीसहित ७ जनाविरुद्ध रेडकर्नर नोटिस जारी गर्ने तयारी

एसएसपी खत्रीसहित ७ जनाविरुद्ध रेडकर्नर नोटिस जारी गर्ने तयारी


नेपाल प्रहरीले सुन तस्करमा तानिएका प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) श्याम खत्रीविरुद्ध अन्तर्राष्ट्रिय प्रहरी सङ्गठन (इन्टरपोल)मा रेडकर्नर नोटिस जारी गर्ने तयारी थालेको छ । प्रहरी स्रोतका अनुसार खत्रीसहित अन्य सातजनाविरुद्ध रेडकर्नर नोटिस जारी गर्ने गृहकार्य शुरु गरिएको हो ।

खत्री करिब ३८ क्विन्टल सुन तस्करी प्रकरणमा मुछिएका थिए । पछिल्लोपटक साढे ३३ केजी सुन हराएको सम्बन्धमा पनि खत्रीलाई प्रहरीले व्यापक सोधखोज गरेको छ । यो प्रकरणका मुख्य अभियुक्त देखिएका चूडामणि उप्रेती ‘गोरे’ पक्राउ परिसकेका छन् । गायब भएको साढे ३३ केजी सुन काण्डमा मोहनकुमार अग्रवाल, सुन तस्करी प्रकरणमा प्रतिवादी बनाइएका सुनील अग्रवाल, मुख्य अभियुक्त चूडामणि उप्रेती ‘गोरे’का भाइ रमेश उप्रेती, बाजेको सेकुवा कर्नरका सञ्चालक चेतन भण्डारी, हरिशरण खड्का र छिरिङ बाङ्गेल गुरुङविरुद्ध रेडकर्नर नोटिस जारी गर्ने तयारी गरिएको हो ।

एसएसपी खत्रीले तस्करीमा प्रहरीको व्यवस्थापनको जिम्मा लिएको स्रोतले बताएको छ । मुख्य अभियुक्त गोरेले उनलाई पक्राउ गरे सबै रहस्य सार्वजनिक हुने बयानका क्रममा व्यक्त गर्दै आएका छन् । सुन तस्करीमा सघाउने प्रहरीलाई बुझाएको रकमको लिस्टमा खत्रीको पनि नाम छ । उनले पटकपटक गरेर १ करोड १२ लाख रकम लिएको भेटिएको थियो भने तस्करीमा संलग्न अन्य अभियुक्तले पनि उनको नाम लिएका छन् । खत्री यसअघि दुबईबाट आएको ३४ किलो सुन काण्डमा पक्राउ परेका थिए । तर, उनलाई पछि अदालतले सफाइ दिएको थियो ।

‘उनीहरू भागेर नेपालबाहिर गएको सूचना हामीलाई प्राप्त भएको छ । कतिपय अभियुक्त भारतमा लुकेर बसेको सुराकी आएको छ,’ घटनाको अनुसन्धान गर्न गठित छानबिन समितिका एक सदस्यले बताए ।

सनम शाक्यको हत्या भएपछि तस्करीको साढे ३३ केजी सुन गायब भएको रहस्य सार्वजनिक भएको थियो । र, त्यस विषयमा छानबिन गर्न सरकारले उच्चस्तरीय अनुसन्धान समिति गठन गरेको थियो । समितिको अनुसन्धानका क्रममा उनीहरूको समूहले चार वर्षमा ३८ क्विन्टल सुन तस्करी गरेको खुलेको छ । त्यस आधारमा दुईजना बहालवाला एसएसपीसहित ९ प्रहरी अधिकारीसहित ६५ जनाविरुद्ध मुद्दा दायर भएको थियो । मुख्य अभियुक्त देखिएका गोरे गत मंगलबार पक्राउ परेका थिए । जिल्ला अदालत, मोरङमा उनको मुद्दा चलिरहेको छ ।