महँगी नियन्त्रण र आन्तरिक लोकतन्त्रको मागसहित नेवि संघ सडकमा

महँगी नियन्त्रण र आन्तरिक लोकतन्त्रको मागसहित नेवि संघ सडकमा


पेट्रोलियममा पटक पटक गरिएको मूल्यवृद्धिविरुद्ध गत बुधबार साँझ मसाल जुलुस निकालेर सांकेतिक विरोध गरेको नेपाल विद्यार्थी संघले देशका सबै निकायलाई सरकारले कम्युनिष्टकरण गर्दै लगेको आरोप समेत लगाएर तथा मुल्यवृद्धि गरेको विरोधमा नेविसंघले काठमाडौंमा प्रदर्शन गरेको छ । केन्द्रिय समितिको समन्वयमा नेविसंघ काठमाडौं जिल्लाको आयोजनामा शुक्रबार दिउँसो राजधानीमा प्रदर्शन गरिएको हो ।

प्रदर्शनीमार्गस्थित विश्वभाषा क्याम्पस अगाडिबाट सुरु भएको जुलुस रत्नपार्क पुगेर कोणसभामा परिणत भएको थियो । नेवि संघका महामन्त्री कुन्दन काफ्ले, मनोजमणि आचार्यलगायतले नेतृत्व गरेको विरोधसभामा नेविसंघ महामन्त्री कुन्दनराज काफ्ले, उपाध्यक्ष रामप्रसाद अधिकारी, नवीन राई, नेता दीपक भट्टराई, डुजाङ शेर्पा काठमाडौं सभापति मनोज बैध्यलगायतले सम्बोधन गरेका थिए ।

ठूलो संख्यामा उपस्थित नेवि संघको कार्यकर्ताहरुले पार्टीभित्र आन्तरिक लोकतन्त्र सुदृढ बनाउनुपर्ने, महँगी नियन्त्रण गर्नुपर्ने, द्वन्द्वकालीन मुद्दामा थुनामा रहेका तत्कालीन माओवादीका नेता बालकृष्ण ढुंगेललाई आममाफी दिन नहुने लगायतका सन्देश लेखिएका ब्यानर बोकेका थिए । मूलतः उनीहरुले आफ्नै पार्टी सभापतिलाई पनि आन्तरिक लोकतन्त्रको लागि ध्यानाकर्षण गराएका थिए ।

तस्बिर रासस