उपराष्ट्रपति चिल्ड्रेन गेम्स

उपराष्ट्रपति चिल्ड्रेन गेम्स


राष्ट्रिय खेलकुद परिषद्को आयोजनामा प्रथम उपराष्ट्रपति चिल्ड्रेन गेम्स शुरु भएको छ । केन्द्रीयस्तरको यो प्रतियोगितामा एथलेटिक्स, कराते, तेक्वान्दो र उसुमा प्रतिस्पर्धा भइरहेको छ ।

छात्रछात्रातर्फ एथलेटिक्समा समान ५–५, कराते र तेक्वान्दोमा समान ४–४ तथा उसुमा समान ३–३ स्वर्णका लागि प्रतिस्पर्धा भइरहेको छ । शीर्ष तीन स्थान हात पार्ने खेलाडीले क्रमशः ३ हजार, २ हजार र १ हजार नगद पुरस्कार पाउनेछन् ।

प्रतियोगिताको उपराष्ट्रपति नन्दबहादुर पुनले उद्घाटन गर्दै आईपीएलमा सानदार प्रदर्शन गर्दै नेपालको शिर उचो बनाएकोमा क्रिकेटर सन्दीप लामिछानेलाई धन्यवादसहित बधाई दिएका थिए । उपराष्ट्रपति पुनले घर बलियो बनाउन जसरी जग बलियो हुनुपर्छ त्यसैगरी यो प्रतियोगिता पनि नेपाली खेलकुदको जगलाई बलियो बनाउने महत्वपूर्ण आधार बन्ने विश्वास व्यक्त गरेका थिए ।

युवा तथा खेलकुदमन्त्री जगतबहादुर सुनार (विश्वकर्मा) ले खेलकुदको मेरुदण्ड नै विद्यालय भएको हुँदा यस्ता प्रतियोगिताले निरन्तरता पाउने बताए । राखेपका सदस्यसचिव केशवकुमार विष्टले ग्रास रुटबाटै प्रतिभावान खेलाडीको पहिचान गर्न प्रतियोगिता आयोजना गरिएको धारणा व्यक्त गरे ।

एथलेटिक्सको १ सय मिटर दौडको ब्वाइजमा प्रदेश ४ का राहुल गुरुङ र गल्र्समा प्रदेश ४ कै रिया थापाले स्वर्ण जिते । राहुलले निर्धारित दूरी ११ः४४ सेकेन्डमा पूरा गरेका थिए । प्रदेश ३ का विमल बुढाथोकी दोस्रो तथा प्रदेश ५ का सुरेन्द्र विक तेस्रो भए । रियाले १३ः७० सेकेन्डमा दूरी तय गरिन् । प्रदेश ६ की सेरुणा शेर्पाली दोस्रो तथा प्रदेश ५ की प्रशान्ती थारू तेस्रो भएका थिए ।

ब्वाइज ट्रिपलजम्पमा प्रदेश ५ का कृष्ण घिमिरे पहिलो, प्रदेश ४ का नूतन श्रेष्ठ दोस्रो र प्रदेश ७ का सञ्जय चौधरी तेस्रो भए । सोही स्पर्धाको महिलामा प्रदेश २ की अनुषा राउतले स्वर्ण, प्रदेश ७ की दुर्गा धामीले रजत र प्रदेश ३ की मनिका महतोले कांस्य जितेकी थिइन् ।

तेक्वान्दोको ब्वाइज ३३ केजीमा प्रदेश २ का सुदीप नेपाली पहिलो भए । उनले फाइनलमा प्रदेश ४ का रविकान्त कुर्मीलाई पराजित गरेका थिए । ३७ केजी फाइनलमा प्रदेश ४ का महावीर पासीले प्रदेश ५ का रविन रोकायालाई पराजित गर्दै स्वर्ण जितेका थिए । त्यस्तै छात्रा २९ केजीमा प्रदेश ३ की करुणा श्रेष्ठले स्वर्ण जितिन् । फाइनलमा करुणाले प्रदेश ७ की गंगा खड्कालाई पाखा लगाएकी थिइन् ।