सहसचिवको सरुवा तथा पदस्थापन

सहसचिवको सरुवा तथा पदस्थापन


सरकारले २८ सहसचिवको विभिन्न मन्त्रालय, विभाग र सङ्घीय प्रशासनिक कार्यालयहरूमा सरुवा तथा पदस्थापन गरेको छ । बढुवा भएका १२ नयाँ सहसचिवको पदस्थापन र १६ सहसचिव सरुवामा परेका हुन् ।

यातायात व्यवस्था विभागका सहसचिव रूपनाराण भट्टराई श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयमा सरुवा भएका छन् । उनले यातायातको सिन्डिकेट हटाउन महत्वपूर्ण भूमिका खेलेका थिए । भट्टराईलाई भौतिक, पूर्वाधार तथा यातायात व्यवस्थामन्त्री रघुवीर महासेठले मन्त्रालय तानेर जगेडामा राखेका थिए । आजै भट्टराईलाई श्रम मन्त्रालयमा पठाइएको हो । श्रममन्त्री गोकर्ण विष्टले नै भट्टराईलाई मन्त्रालय ल्याउन पहल गरेका थिए ।

म्यानपावर व्यवसायलाई व्यवस्थित बनाउन भट्टराईलाई वैदेशिक रोजगार विभागमा पठाउने तयारी श्रम मन्त्रालयको छ । अहिले विभागले गर्ने कामकारबाहीमाथि जताततै प्रश्न उठ्ने गरेको छ । यातायात विभागबाट तानेर आफूलाई जगेडामा राखिएपछि भट्टराई बिदामा बसेका थिए ।

अधिकांश सहसचिवलाई स्थानीय सरकारमा पठाइएको छ । सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयका सहसचिव शिवलाल तिवारीलाई प्रदेश नम्बर ३ को प्रदेश प्रमुखको कार्यालय पठाइएको छ । सोही मन्त्रालयका शेषनारायण पौडेललाई पोखरा–लेखनाथ महानगरपालिकाको कार्यालयमा पठाइएको छ । सहसचिव चक्रपाणि पाण्डे दाङ घोराही उपनपा कार्यालय पुगेका छन् । मन्त्रालयकै सुमन घिमिरे धरान उपनपा कार्यालय सुनसरी, तोयनारायण सुवेदी नेपालगञ्ज उपनपा कार्यालय, शिवकुमार कार्की सिमरा उपनपा कार्यालय बारा तथा छविलाल रिजाल इटहरी उपनपा कार्यालय सरुवा भएका छन् ।

ज्ञानराज सुवेदीलाई प्रदेश १ को सामान्य विकास मन्त्रालय पठाइएको छ । पुष्पराज शाहीलाई हेटौँडा उपनपा, उमेश ढुङ्गानालाई जनकपुर उपनपा, हुमकला पाण्डेलाई अख्तियार दुरुपयोग अनुसन्धान आयोग, भीष्मकुमार भुसाललाई वीरगन्ज महानगरपालिका पर्सा पठाइएको हो ।

यस्तै, उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयका सहसचिव गोपीकृष्ण खनाललाई प्राकृतिक स्रोत तथा वृत्त आयोग, राष्ट्रिय योजना आयोगका तुलसीप्रसाद गौतमलाई सामान्य प्रशासन मन्त्रालय सरुवा गरिएको छ । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयकी जानकी वल्लभलाई लोकसेवा आयोग, सङ्घीय मामिला अतिरिक्त समूहका भूपाल बराललाई सामान्य प्रशासन मन्त्रालय नै राखिएको छ ।

संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका दिनेश भट्टराईलाई उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयमा पठाइएको छ । सङ्घीयका सनत केसीलाई राष्ट्रिय पुनर्निर्माण प्राधिकरण पठाइएको छ । सङ्घीयकै आनन्दराम केसीलाई सञ्चार तथा सूचना प्रविधि मन्त्रालयमा खटाइएको छ । सङ्घीय मामिला अतिरिक्त समूहकी नीता पोखरेल अर्याललाई संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयमा पठाइएको छ भने सङ्घीयका शिवराम न्यौपानेलाई उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयमा पठाइएको छ । भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयका रूपनारायण भट्टराईलाई श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयमा खटाइएको हो ।

उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयका शंकर अर्याललाई सङ्घीय मामिलाको अतिरिक्त समूहमा खटाइएको हो । उद्योग पर्यटन वन तथा वातावरण मन्त्रालय कर्णालीका विद्यानाथ झालाई मुख्यमन्त्री कार्यालय कर्णाली प्रदेशमा खटाइएको हो । वन तथा वातावरण मन्त्रालयका धीरेन्द्रकुमार प्रधानलाई उद्योग, पर्यटन वन तथा वातावरण मन्त्रालय सुर्खेत खटाइएको छ । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयकी आभा श्रेष्ठलाई सङ्घीय मामिलाको अतिरिक्त समूहमा खटाइएको हो । सामाजिक विकास मन्त्रालय प्रदेश १ विराटनगरका वासुदेव शर्मालाई सोही प्रदेशको मुख्यमन्त्रीको कार्यालय खटाइएको हो । सङ्घीय मामिलाका रामकृष्ण सापकोटालाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा पठाइएको सरकारले सार्वजनिक गरेको छ ।