मन्त्री अधिकारी भन्छन्- असारदेखि राजविराजबाट नियमित उडान

मन्त्री अधिकारी भन्छन्- असारदेखि राजविराजबाट नियमित उडान


संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री रवीन्द्र अधिकारीले राजविराज विमानस्थलबाट असारको पहिलो साताभित्र नियमित उडान शुरु हुने बताएका छन् ।

राजविराज विमानस्थलको आज बिहीबार उद्घाटन गर्दै मन्त्री अधिकारीले रनवेसहितको निर्माण भएको राजविराज विमानस्थलमा असारको पहिलो सातासम्म नियमित उडान हुने बताए ।

‘यात्रु होस् नहोस्, सधैँ समयमा उडान भर्नुहोस्,’ मन्त्री अधिकारीले श्री एयरलाइन्सका प्रमुख सुधीर मित्तललाई निर्देशन दिए । उनले धेरैमा चार–पाँच महिना यस्तो समस्या आउने र त्यसपछि पर्याप्त यात्रु उपलब्ध हुने विश्वास व्यक्त गरे । नियमित समयमा उडान भरेमा श्री एयरलाइन्सको रेकर्ड राम्रो बन्ने र समयमा उडान नभरे रेकर्ड खराब बन्ने मन्त्री अधिकारीको भनाइ थियो ।

‘नेपाली एयरलाइन्समा यात्रु नभए उडान नै रद्द गर्ने बानी छ, अब राजविराज विमानस्थलमा यस्तो चल्दैन,’ मन्त्री अधिकारीले भने।

नेपाल वायु सेवा निगमले निकट भविष्यमै ६ वटा सानो जहाज किन्न लागेको र यात्रु भएमा एउटा जहाजले राजविराजबाट पनि नियमित उडान भर्ने उनले सो अवसरमा बताए। मन्त्री अधिकारीले ६ महिनाभित्र यस विमानस्थलमा तेल राख्ने गाडी पनि राखिने जानकारी दिँदै कार्गो विमानस्थलका रुपमा समेत विमानस्थलको विकास गरिने प्रतिबद्धता व्यक्त गरे।

सङ्घीय समाजवादी फोरम नेपालका अध्यक्ष उपेन्द्र यादवले शुरुमा कम यात्रु भए पनि नियमित उडान भर्न श्री एयरलाइन्ससँग आग्रह गरे । राजविराजलाई भारतीय शहरसँग जोड्नका लागि सडक निर्माण गरिए तथा नियमित जहाज उडान भइरहे सप्तरीको कायापलट हुने उनको विश्वास छ ।

राष्ट्रिय सभाका सांसद एवम् पूर्वसंस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री जितेन्द्रनारायण देवले उडान नियमित हुने विश्वास व्यक्त गर्दै जिल्लाको विकासका लागि जुनसुकै पार्टीका भए पनि सम्पूर्ण जनप्रतिनिधिलाई हातमा हात मिलाएर अघि बढ्न आग्रह गरे ।

कार्यक्रममा प्रदेश सांसद मनीष सुमन र सत्यनारायण मण्डलले नियमित उडान हुनुपर्नेमा जोड दिए । नेपाल नागरिक उड्डयन प्राधिकरणका महानिर्देशक सञ्जीव गौतमले ७२ सिटे जहाज चल्ने क्षमता भएको राजविराज विमानस्थलको निर्माण समयमै सम्पन्न भएकामा खुसी व्यक्त गरे। उनले सरकारको रु. ३० करोड ३० लाखको लागतमा विमानस्थल निर्माण भएको जानकारी दिए।

वि.संं. २०१६ मा निर्माण गरिएको राजविराज विमानस्थलबाट झन्डै डेढ दशकपछि बुधबार ५० सिटे श्री एयरलाइन्सको जहाजले सफल परीक्षण उडान भरेको थियो ।

रासस