महाथिरद्वारा सरकारी खर्च र मन्त्रीको तलब कटौती

महाथिरद्वारा सरकारी खर्च र मन्त्रीको तलब कटौती


क्वालालम्पुर/  मलेसियाका नवनिर्वाचित प्रधानमन्त्री महाथिर मोहम्मदले आफ्नो सरकारका मन्त्रीहरूको सुविधामा १० प्रतिशतले कटौती गर्ने बुधबार बताएका छन् ।

सरकारको उच्च खर्चलाई कटौती गर्ने लक्ष्यअनुरूप ९२ वर्षीय नेताले सरकारी खर्चलाई २५१ अर्ब पाँच करोड अमेरिकी डलरमा झार्ने बताए।

मलेसियाको विकासका सूत्रधार मानिने प्रधानमन्त्री महाथिरले आफ्नो मन्त्रिपरिषद्को पहिलो बैठकमा मलेसियाको सरकारी खर्चमा कटौती गर्ने बताएका हुन् । आजको बैठकमा नयाँ सरकारका लागि शपथ खाएका एक दर्जनभन्दा बढी मन्त्रीको उपस्थिति थियो ।

बैठकपछि सञ्चारकर्मीसँग बोल्दै प्रधानमन्त्री महाथिरले भने, ‘हामी राष्ट्रको आर्थिक समस्याप्रति सजक छौँ ।’ उनले अगाडि थपे, ‘हामीले अन्य उच्च सरकारी कर्मचारीको हकमा सुविधा कटौतीलाई बाध्यकारी बनाउने छैनौँ । तर, यदि कसैले देशका लागि योगदान गर्न चाहन्छ भने उनीहरू स्वतन्त्र छन् ।’

निर्वाचन अभियानका समय गरेका प्रतिबद्धतालाई प्रधानमन्त्रीले आफूले सत्ता सम्हालेकै दिनदेखि कार्यान्वयनमा लाने प्रयास गरिरहेका छन् । यसैअनुरूप उनले विभिन्न करको दायरालाई समेत परिवर्तन गर्न अग्रसरता लिइरहेका छन् ।

पत्रकार सम्मेलनमा प्रधानमन्त्री महाथिरले भने– हाल मलेसियाको ऋण यहाँको कुल गार्हस्थ उत्पादनको झन्डै ६५ प्रतिशत रहेको छ। महाथिरले पारिश्रमिकमा कटौतीबाहेक देशको अर्थतन्त्रलाई उकास्ने अन्य उपाय पनि प्रस्तुत गरेका छन् । उनले सानो आकारको मन्त्रिमण्डलका अलावा राज्यको विदेशमा उठ्न बाँकी कोषलाई पनि उठाउन पहल गरिने बताए।

उनले सार्वजनिक यातायात आयोगलाई निलम्नब गर्ने र यसको काम यातायात मन्त्रालयबाट गर्ने तथा अनावश्यक देखिने अन्य कैयौँ सङ्घसंस्थालाई पनि निलम्बन गरिने बताए।

यसबाहेक उनले केही ठूला योजनाबारेमा पनि समीक्षा गर्ने बताउँदै सरकारले कुन योजना राख्नुपर्छ र कुनलाई हटाउनुपर्छ अध्ययन गरिरहेको उल्लेख गरे।

सरकारले चार वर्ष पहिले ९मार्च २०१४० मा क्वालालम्पुरबाट बेइजिङ जाने क्रममा हराएको विमानको खोजीका लागि दिइएको अनुमतिलाई यही महिनादेखि रद्द गर्ने गरी समीक्षा गरिरहेकोसमेत सङ्केत गरे।

केही दिन पहिले उडानसम्द्धब विज्ञहरूको टोलीले विमानलाई पाइलटले जानाजानी दुर्घटनाग्रस्त गराएको हुनसक्ने सूचना आएका थिए ।